सहकारी छानबिन संसदीय समितिको जटिलता के?

सहकारी छानबिन संसदीय समितिको जटिलता के?

144
SHARES

काठमाडौं : गृहमन्त्री रवि लामिछाने समेत मुछिएको सहकारी संस्थाको बचत रकम अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको तेस्रो बैठक आइतबार बस्ने भएको छ। यसअघि लगातार बसेको बैठकले कार्यविधि र कार्ययोजना बनाइसकेको दाबी समितिले गरेको छ।

आइतबार बस्ने बैठकले अनुसन्धानका क्रममा जाने टोली, भेट गर्ने व्यक्ति र आवश्यक कागजात कहिले सम्म सङ्कलन गर्ने लगायतका विषयमा ठोस निर्णय गर्ने तयारी गरेको छ। सिंहदरबार स्थित समितिको कार्यालयमा दिउँसो २ बजे बैठक बस्न लागेको समिति सदस्य ईश्वरी देवी न्यौपानेले जानकारी दिइन।

बैठकले ठोस निर्णय गरेपछि समिति विस्तृत रूपमा अगाडी बढ्ने छ। केही प्राविधिक समस्याहरू पनि आएकाले सल्टाएर अनुसन्धान गर्ने तयारी भएको समितिले जनाएको छ।

समितिले गरिरहेका कामका बारेमा सञ्चारमाध्यमहरूमा कुनै जानकारी नआएको अवस्थामा समिति सेलाएको हो कि भन्ने आशङ्का समेत उब्जिन थालेको छ। यद्यपि न्यौपानेले हाल गृहमन्त्री लामिछाने पदमै बहाल रहेकाले केही जटिलता आए पनि समिति नसेलाएको दाबी गरिन्।

१५ जेठमा सहकारीको रकम अपचलनबारे छानबिन गर्न प्रतिनिधि सभाले समिति गठन गरेको थियो। समितिले तीन महिनाको समय पाएको छ। तर, गठन भएको १७ दिनसम्म पनि समितिले काम सुरु गरेको छैन। बैठक बस्ने छलफल गर्नेमै समितिले यो अवधि गुजारेको छ।

सहकारीको समस्या समाधान गर्न बनेको यो नवौँ छानबिन समिति हो। समितिले यसअघि बनेका बाँकी ८ वटा छानबिन समिति, जाँचबुझ आयोग सबैका प्रतिवेदनहरू सचिवालयमार्फत पत्राचार गरेर प्राप्त गरिसक्ने भनेको थियो।

सहकारीसँग सम्बन्धित सबै आवश्यक त्यस्ता दस्ताबेज, डकुमेन्ट, प्रतिवेदनहरू उपलब्ध गराउन समितिले अनुरोध पनि गरिसकेको छ।

समाचार शेयर गर्नुहोस्
144
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.