मनसुनी वर्षाको वितण्डा, १७ दिनमा ३४ जनाको मृत्यु

मनसुनी वर्षाको वितण्डा, १७ दिनमा ३४ जनाको मृत्यु

काठमाडौं : मनसुनी वर्षाले वितण्डा मच्चाउन थालेको छ। निरन्तर वर्षा हुँदा विभिन्न जिल्लामा बाढी पहिरो र डुबानले विनाश निम्तिन थालेका छन्।

यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरिसकेको छ। नेपालमा मनसुन भित्रिएको १७ दिनमा ३४ जनाको मृत्यु भएको छ।

एक दिनमा मात्रै बाढी, पहिरो र चट्याङमा परेर १६ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परी ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

लमजुङका ५, कास्कीका दुई तथा सङ्खुवासभाका १ जनाको पहिरोमा परेर मृत्यु भएको छ। बाढीमा परी मोरङमा १ जनाको मृत्यु भएको छ। २ जना बेपत्ता छन् भने एक जना घाइते भएका छन्। निरन्तरको वर्षाले विशेषगरी तराईका जिल्ला जलमग्न बन्न थालेका छन्।

चितवनका माडी र विराटनगरका कयौँ घरपरिवार डुबानले विस्थापित नै भएका छन्। बाढी पूर्वानुमान शाखाले देशका सबै नदीहरूमा बहाव सामान्य बढ्दो क्रममा रहे पनि झापा, मोरङ, सुनसरी, सप्तरी आसपास चुरेबाट बहने साना नदीहरूमा एक्कासि बाढी आउन सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन भनेको छ।

विशेषगरी सुनसरी खोला, बुढी खोला, मोहना लगायतका खोलामा बहाव बढ्न सक्ने देखिएको बाढी पूर्वानुमान शाखाका हाइड्रोलोजिष्ट इन्जिनियर सुमित अधिकारीले जानकारी दिए।

पहाडी भेगमा भएको वर्षाले तराईका क्षेत्र डुबानमा पर्ने भएकाले यस्तो अवस्थामा बाढी तथा डुबानको सूचना लिनु निकै महत्त्वपूर्ण हुने प्राधिकरणका उपसचिव डिजन भट्टराईको बुझाई छ। उनले बाढीको सूचना लिएर सतर्क रहेर बस्न र अत्यावश्यक कागजातहरू आफूसँगै सुरक्षित राख्न सुझाए।

चट्याङबाट एकै दिन ७ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। कैलाली, झापा र रोल्पामा दुई/दुई तथा सुनसरीमा १ जनाको चट्याङले मृत्यु भएको हो।

चट्याङबाट सबैभन्दा बढी जोखिम घर बाहिर हुँदा रहने चट्याङविद् श्रीराम शर्मा बताउँछन्। चट्याङबाट जोगिन पक्की घरलगायतका सुरक्षित स्थानमा बस्नु नै उत्तम उपाय रहेको उनले बताए।

खुला स्थानका साथै अग्लो संरचना पनि चट्याङको दृष्टिकोणले असुरक्षित मानिन्छ। यात्राका क्रममा रहेकाहरू गाडीभित्र झ्याल ढोका बन्द गरेर पनि सुरक्षित हुन सकिने चट्याङविद् शर्मा बताउँछन्।

मनसुनजन्य घटना बाढी, पहिरो र अविरल वर्षाले यस वर्ष ३३ जिल्ला प्रभावित भइसकेका छन्। गृह मन्त्रालयका अनुसार २६ जिल्लामा चट्याङ पर्दा १३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

बाढी, पहिरो र डुबान : उद्धार गर्न हेलिकप्टरको व्यवस्था

बिहीबार बिहान देशका अधिकांश भूभागमा आंशिकदेखि साधारण बदली रही केही भूभागमा सामान्य वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्णतया बदलीको सम्भावना छ।

लुम्बिनी प्रदेशबाहेक सबैजसो प्रदेशका केही भूभागमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भने भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मनसुनी वायु सक्रिय रहेकाले बिहीबार राति पनि देशका अधिकांश भूभागमा मेघ गर्जन तथा चट्याङसहित वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.