विदेशबाट फर्केका भुवनको इन्द्रेणी रङ्गसँग लोतपोत

विदेशबाट फर्केका भुवनको इन्द्रेणी रङ्गसँग लोतपोत

घरका भित्ताहरू, क्यानभासमा रङ्गहरू यत्रतत्र पोखिएका र कोठामा छरपस्ट छरिएका चित्रमा एकोहोरो घोत्ली रहेका भेटिन्छन् आजकल भुवन डङ्गोल। १२ वर्ष विदेश बसाइँलाई बिट मार्दै स्वदेश फर्केका डङ्गोलको दिनचर्या अहिले क्यानभास पर्खाल, भित्ता कलामा रङ्ग पोत्नमा बित्ने गरेको छ।

स्कुले जीवनमा पढ्दा पढ्दै चित्रकलामा रुचि र विशेष दक्खल राख्दै आएका डङ्गोल हाल यसलाई नै जीवन्त दिन लागि परेका छन्। आफ्नो रुचिलाई अहिले पेसा बनाएकोमा खुसी छन् उनी।

चित्रकारिताको यात्रामा हिँड्दा कहिल्यै ललितकला नपढेका भुवन आफ्नै दाइ शशी कुमार डङ्गोल र गुरु एवं साथी डिल्ली राज घिमिरेलाई पच्छ्याउँदै यो सिप सिकेको बताउँछन्। सानै देखि चित्र कोर्न माहिर भुवनले कलाको विषयमा केही जानेका बुझेका थिएनन्। तर चित्र कोरिरहन्थे, आफ्नै घरमा दिनहुँ रङ्ग सँग खेल्दै हुर्केका उनले आखिर रङ्गलाई नै जीवन बनाए।

कहिल्यै व्यावसायिक रूपमा चित्र बनाउने नगरेका उनले अहिले विदेशबाट फर्के पछि भने कहिले कहाँ त कहिले कहाँ गएर भित्ता, पर्खाल देखि साइन बोर्डमा समेत रङ्ग भर्दै आएका छन् र आफूलाई व्यावसायिक चित्रकार बनाएका छन्। आजकल उनलाई फुर्सद कम छ।

सिपले उनलाई अत्यन्त व्यस्त बनाएको छ। कलालाई थप माझ्न लागि परेका छन् उनी। हरेक दिन जसो रङ्गहरूसँग रमाउने र आफूसँग भेट्न आउनेसँग साक्षात्कार गर्ने उनको दैनिकी बनेको छ।

नुवाकोटमा २०३५ सालमा जन्मेका भुवनले घरको भित्ता, स्कुलका भित्तामा तँ कहिले कागज हुँदै कपडामा पनि विभिन्न बुट्टा भर्न सिक्दै कपडामा थरीथरी बुट्टा भरेर कोठाका टेबल, पुसन र पलङ सजाएका छन्। साथै आफ्ना साथी भाइ, इस्ट मित्र, गुरु एवं भगवान्का कपडामा ओइल पेन्ट, फिगरेटिभ, ल्यान्डस्केप, पोट्र्रेट, एक्रेलिक पेन्टले क्यानभासमा उतारेका स्केचहरू कोठाका भित्ताहरू सजिएका हुन्छन्।

एउटा सामान्य तस्बिरलाई ओइल पेन्टबाट स्केच बनाउन धेरै मिहिनेत गर्नु पर्छु। जसले गर्दा एउटा चित्र कोर्न र सुकेर तयार हुन १० दिन सम्म लाग्ने उनले सुनाए। वाटर कलर माध्यमबाट तयार पारिएको चित्र छिट्टै सुक्ने तर लामो समय टिकाऊ नहुने उनी बताउँछन्।

२०५३ मा नुवाकोटको आदर्श क्याम्पसबाट आई कम हुँदै काठमाडौँको सरस्वती क्याम्पसबाट बि.कम. सकेका डङ्गोल पत्नी सहित एक छोरा र एक छोरीका साथ हाल काठमाडौँमा बस्दै आएका छन्।

मानौँ उनीसँग सिपको भण्डार नै छ भनेर भन्दा पनि फरक हुँदैन, साउदीमा दुई वर्ष सेक्युरिटी गरेका भुवन फर्केर पुनः अर्को देश युएई (दुबई)मा ड्राइभिङमा आफ्नो हात हाले र त्यहाँ पनि सफलता हासिल गरे। लामो समय विदेश बसे पनि आफ्नो चित्रकलालाई उनले सजिलै बिर्सन सकेनन्।

दुबई बस्दा पनि फुर्सदमा पेपरमा विभिन्न चित्र कोर्ने गर्थे तर आफ्नो जागिर भने ड्राइभिङै थियो। त्यही पेसालाई निरन्तरता दिए। २०८० मा भने सदाका लागि दुबई छाडेर स्वदेश फर्केका डङ्गोल अहिले पछाडि फर्कन चाहन्नन्। हातमा सबै सिप छ जे काम गरेर पनि आफ्नै ठाउँमा खान सक्छु, परिवार पाल्न सक्छु भनेर उनले सधैँको लागि विदेश छाडेको बताए।

रङहरूको कलात्मक बान्कीमा उतार्न र ब्रस सँग खेल्न पाउनुमा आफूलाई राम्रो लाग्ने उनले बताए। चित्रकलाको हुटहुटी कहिल्यै नमर्ने बताउँछन् उनी। भुवन भन्छन्,’कहिले एक्लै घरमा चित्र कोर्ने त कहिले साथीसँग बाहिर गएर काम गर्ने भएकाले बाँचुन्जेल चित्रकला भन्दा टाढा बस्न कदापि सक्दिन।’

घरमा रङ्गसँगै ‘इजल’मा पैंटिंङ्ग गर्नुको मज्जा बेग्लै रहने हुँदा एक्रेलिक रङ्ग होस् या ओइल रङ्ग जुन कुनैको सहाराले क्यानभासमा कैद गर्नु र त्यसलाई प्रस्फुटन गराउन सक्नु चित्रकारको खुबी रहेको भुवन बताउँछन्।

आफू चित्रकलामा रुचि भएकाले बेला बेलामा ललितकलासँग आबद्ध सङ्घ संस्थाले आयोजना गर्ने प्रदर्शनी, साक्षात्कार ,सभामा जान कहिल्यै छुटाऊदैनन। फुर्सदमा कला सम्बन्धी प्रशिक्षण लिई रहन्छन् र सिक्न आउनेलाई आफ्नो सीप बाँड्छन्।

मानिसको मन हो कहिले उतार चढाव आउने जाने गर्छ नै। समाजमा बसे पछि केही राम्रो नराम्रो हुन्छ नै। त्यस्तै समसामयिक सामाजिक विषयवस्तुको चित्र समेत क्यानभासमा उतार्न आफूलाई मन पर्ने उनले बताए। जसका कारण चित्र मार्फत अरूलाई समाजको बिम्ब प्रस्तुत गर्न सकियोस्।

आफूले सिर्जना गर्ने चित्रको अहिले सम्म सबै भन्दा बढी चालीस हजारसम्म पाएको उनले बताए। कुनै फिक्स रेट नभएको बताउने भुवन आफूलाई सिपको मूल्य अनुसारको रकम दिए खुसी हुने बताउँछन्। कतिलाई डङ्गोलले सित्तैमा समेत बनाएको बताउँछन्। स्कुल, सामाजिक सङ्घ संस्था, मन्दिर, आश्रमको निःशुल्क पेंटस् गरी दिने उनले बताए।

अघिल्लो महिना आफ्नै जन्म थलो नजिकको रसुवामा गई पाँच स्कुलमा त्यहाँका भित्तामा चित्र कोरे। साइन बोर्ड बनाए। धेरै वर्ष पछि आफू हुर्केको पढेको स्कुल गएर विगतलाई स्मरण गरे। अझ अनौठो पक्ष त यो रह्यो की आफूले २०५० सालमा नीलकण्ठ माध्यमिक विद्यालय रसुवाबाट एसएलसी दिएका साथीहरू, गुरुहरूको जमघट यही काठमाडौँमा गर्दा सबै साथीहरूले सामाजिक सञ्जालमा आफूले बनाएको चित्रको तारिफ गरे पश्चात् अझ थप हौसला मिलेको उनले बताए।

फेसबुक होस् या टिकटक आफ्नो कला प्रदर्शन गर्ने थलो एवं चौतारी भएको र सकारात्मक या नकारात्मक कुरा सुन्ने बुझ्ने काम भएको उनी बताउँछन्। उनले भने,’धेरैले कामको सराहना गरे। कतिले त सामाजिक सञ्जालमा आफ्ना लागि पनि बनाइदिन भने।’

आफूले क्यानभासमा कोरिएका ती इन्द्रेणी रङ्गहरूमा आफ्नो जीवन पनि उही इन्द्रेणी रङ्ग जस्तो लोतपोत झल्किनुले श्वास रहुन्जेल रङ्गसँगै सिंङ्गौरी खेल्दै मर्न पाउँदा धन्य हुने भुवन बताउँछन्।
कलामै जीवन, योगदान दिए बापत डङ्गोलले कहिल्यै पुरस्कार लगायत दर्जनौँ मान सम्मान प्राप्त नगरेका भए पनि आफू पुरस्कार, मान सम्मानका लागी नभई आत्मसन्तुष्टिका निम्ति यो पेसा रोजेको बताए।

चालीस दशक देखि क्यानभासमा चित्र उतारेका उनले कहिले विदेश त कहिले स्वदेश आवत जावत गर्दै समय बिताए पनि अहिले सम्म एकल चित्रकला प्रदर्शनी पनि नगरेका डङ्गोल भविष्यमा एकल चित्रकला प्रदर्शनी गर्ने, नयाँ आउने चित्रकार भाइ बहिनीलाई स्वदेशमै रोजगारी दिने र देश समाजलाई आफ्नो कला सिपको उजागर गर्ने बताउँछन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.