पत्रकार महासङ्घमा भाँडभैलो, मुलढोकामा लाग्यो ताला

पत्रकार महासङ्घमा भाँडभैलो, मुलढोकामा लाग्यो ताला

काठमाडौं : लोकतन्त्रवादी पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनबाट नेपाल पत्रकार महासङ्घको नेतृत्वमा विपुल पोखरेल छन्। पत्रकार महासङ्घमा युनियन आबद्ध पत्रकारहरूको सङ्ख्या बढी छ। ४१ सय पत्रकारलाई युनियनले आफ्नो सङ्गठनको दाबी गरेको थियो।

प्रेस चौतारी निकट पत्रकारको सङ्ख्या ३ हजार भन्दा कम थियो। प्रेस सेन्टरसँग १५ सय हाराहारीमा पत्रकार महासङ्घको सदस्यता थियो। अहिले युनियन निकट २९ सय, चौतारी २६ सय, सेन्टर २४ सय पत्रकार छन्। तरुण दल, युवा सङ्घ, वाइसियलमा आबद्ध पत्रकार महासङ्घको सदस्य छन्।

गठबन्धन गरेरै भए पनि चुनावमा प्रतिस्पर्धा गर्न २० २५ जना सदस्य थप गर्दै आएका युनियन, चौतारी, सेन्टर, समाजवादी, क्रान्तिकारी सबै एकसेएक राजनीति खेलाडी बनेका छन्। पत्रकार महासङ्घमा एउटा न एउटा सङ्गठनमा आबद्ध नभएकाको सङ्ख्या एक दमै न्यून छ।

महासङ्घको नेतृत्व सबै पत्रकारले चुन्न पाउनु पर्ने माग गोविन्द आचार्यको कार्यकाल लगत्तै लागू भएको हो। १० जना पत्रकारले एक जना चुन्ने अर्थात् सभासद् छनौट गर्ने विधि भत्काएर साधारण सदस्य समेत उम्मेदवार बन्न पाउने विधान संशोधन भएको उनै आचार्यको कार्यकालमा हो।

प्रत्यक्ष निर्वाचन प्रणालीले कृष्णप्रसाद भट्टराई संस्थापक रहेको महासङ्घमा सदस्यताको भद्रगोल अवस्था देखिएको छ। सेन्टरको जन्म माओवादी विद्रोह पछि भएको हो। महासङ्घमा त्यस अघिसम्म युनियनको एकल बहुमतमा चौतारीले पहिलो नेतृत्व पाएकै शिव गाउँले हुन्। हरिहर विरही, किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निस्ठुरी, धर्मेन्द्र झा पछि पत्रकार महासङ्घमा युनियनले तीन कार्यकाल नेतृत्व गुमायो। शिव गाउँलेपछि महेन्द्र विष्ट र सेन्टरबाट आचार्यले नेतृत्व सम्हाले महासङ्घको।

२०७० मा अरू सबै एकातिर हुँदा पनि युनियन चुनावबाट भागेन। मैदानमा उत्रियो। टिमका सबै विजय हुन नसके पनि महासङ्घमा युनियनको प्रतिनिधित्व शून्य भएको छैन। पोषण केसी दुई पटक पराजय भोगेर नेपालगन्ज नै फर्किए। केसी पछि पत्रकार महासङ्घमा युनियनको कोटामा विपुल पोखरेल निर्वाचित बने।

सरकारमा हुने दल निकट पत्रकारको गठबन्धनसँग र लोकतन्त्रवादी पत्रकार चुनावमा प्यानल सहित होमिदैछन्। अघिल्लो चुनावमा युनियनसँग गठबन्धन गरेको सेन्टर यो पटक चौतारीसँग पुगेको छ। सत्ता गठबन्धन निकट सङ्गठनहरूले टिकट नै दिइसके। हाम्रो सङ्गठनको तर्फबाट पत्रकार महासङ्घको आधिकारिक उम्मेदवार भनेर प्रचार थालिसके।

सदस्यता शुद्धीकरणका नाममा रेडियोमा बोल्ने, टेलिभिजन, पत्रिका र अनलाइनमा काम गर्ने पत्रकारको सदस्यता हटाउनुलाई शुद्धीकरण नाम दिइएको छ। को पत्रकार हो? को होइन? सदस्यता थप्ने मापदण्ड बनाइएको छ। एउटा जिल्लाले हटाएका व्यक्तिलाई अर्को जिल्लाको सदस्यता दिइएको छ।

ललितपुरलाई सेन्टरले डम्पिङ साइट जस्तै बनाएको देखिएको छ। युनियनका २२ जना सदस्य हुँदा सेन्टरका ३ सय भन्दा बढी सदस्य पत्रकार महासङ्घ ललितपुरमा छन्। पत्रकार महासङ्घमा पुग्न गठबन्धन गर्ने संस्कृति राजनीतिक दलहरूको जस्तो बनेको छ।

नाम भने शुद्धीकरण भनिएको छ। यही विवादले महासङ्घको नयाँ नेतृत्व चयन प्रक्रिया नै सुरु हुन सकेको छैन। मतदाता नामावलीमा युनियन आबद्ध हटाउने र गठबन्धन आबद्धहरूको सङ्गठनमा थप गरेर पुन नयाँ मतदाता नामावली सार्वजनिक गरिएको छ।

मतदाता नामावली सार्वजनिक भएकै दिन महासङ्घमा युनियनले तालाबन्दी गरेको छ। शनिवार देशभरका महासङ्घका कार्यालयमा ताला लगाउने घोषणा युनियनले गरेको छ। २२ गतेका लागि तोकिएको मतदानका लागि शनिवार नै उम्मेदवारी दर्ता भनिएको थियो। महासङ्घले उम्मेदवार मनोनयनको समय परिवर्तन भए नभएको केही भनेको छैन।

महासङ्घका अध्यक्ष पोखरेलले निकालेको प्रेस विज्ञप्ति यस्तो छ :

नेपाल पत्रकार महासङ्घ निर्वाचनको प्रक्रियामा छ। यो निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्नुपर्ने दायित्व हामी सबैको हो। यो प्रक्रियाप्रति कसैको विमति हुँदा संवादको माध्यमबाट त्यसलाई साझा धारणामा रूपान्तरण गर्नका लागि महासङ्घ सदा तयार छ। निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाएका सबै पक्षलाई वार्तामा आउन र संवादमार्फत निष्कर्षमा पुग्न महासङ्घ अपिल गर्दछ।

यसैबीच नेपाल पत्रकार महासङ्घको २०८१ असार २२ गते हुने निर्वाचनका लागि काम गरिरहेको अवस्थामा केन्द्रीय निर्वाचन समितिका संयोजक र महासङ्घका कर्मचारीमाथि केही व्यक्तिहरूले आज (शुक्रवार) साँझ गरेको दुर्व्यवहार र हातपातको घटनाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ।

आफ्ना मागहरूप्रति चित्त नबुझे त्यसलाई शान्तिपूर्ण ढङ्गबाट वार्ता र संवादका माध्यमले टुङ्ग्याउनु पर्नेमा यस्ता अलोकतान्त्रिक क्रियाकलापले विधिको शासन र लोकतन्त्रको समेत उपहास भएको महासङ्घको ठहर छ।

महासङ्घ यस किसिमका घटनामा संलग्नमाथि कारबाही गरी शान्तिपूर्ण ढङ्गबाट समस्याको समाधान खोजी निर्वाचनको वातावरण सहज गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ।

विपुल पोख्रेल
अध्यक्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.