"/>

इनक्लुसिभ ग्यालेक्सीमा जमेका मिस्टर गे हेन्डसम

इनक्लुसिभ ग्यालेक्सीमा जमेका मिस्टर गे हेन्डसम

धेरै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रो लिङ्गी, दुईलिंगी, अन्तरलिंगी) व्यक्तिहरू आफूलाई अभिव्यक्त गर्ने सुरक्षित ठाउँ खोज्न सङ्घर्ष गर्छन्। क्याफे र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानमा जाँदा उनीहरू आफ्नो वास्तविक रूप लुकाउन र धेरै प्रकारका दयनीय व्यवहारको सामना गर्न बाध्य हुन्छन्।

यस्ता अनगिन्ती समस्याहरू यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको लागि वास्तविकता बनेको छ। यस समुदायको लागि सुरक्षित ठाउँको आवश्यकता चाहना मात्र होइन आवश्यकता पनि हो, जहाँ कोही व्यक्ति स्वयं रहन सकोस्। सुरक्षा र स्वीकार्यताको लागि यस्ता महत्त्वपूर्ण ऐतिहासिक क्षणहरू छन् जस्तै : न्यूयोर्क शहरमा १९६९ को स्टोनवाल दङ्गा।

स्टोनवाल इन एउटा बार मात्र नभएर धेरै महत्त्वपूर्ण थियो। यो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूका लागि शरणस्थान थियो। जब प्रहरीले उक्त बारमा छापा मार्‍यो, तब यो समुदायले जवाफ फर्काए। १९६९ जुन २८ मा केही घण्टा भएको प्रहरी र समलिङ्गी अधिकारकर्मीहरुवीचको हिंसक टकराबको शृङ्खला आधुनिक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार आन्दोलनको सुरुवात बन्यो।

स्टोनवालको भावना, मर्यादा तथा सम्मानको लडाई र खुला रूपमा अस्तित्वको अधिकार काठमाडौँको इनक्लुसिभ ग्यालेक्सी रेस्टुरेन्ट जस्ता ठाउँहरूमा बाँचिरहेको छ।

विश्वराज अधिकारी, मिस्टर गे ह्यान्डसम नेपाल २०१३, एक जना मानवअधिकार रक्षकद्वारा स्थापित, रेस्टुरेन्टले सुरक्षित ठाउँको शक्ति कस्तो हुन्छ भनेर प्रमाणित गरिदिएको छ। यो यस्तो ठाउँ हो जहाँ समुदायका व्यक्तिहरू एकजुट हुन सक्छन्, उनीहरूको दैनिक जीवनमा व्याप्त पूर्वाग्रह र शत्रुताबाट मुक्त हुन सक्छन्।

मानवअधिकारको क्षेत्रमा वर्षौँ काम गरेपछि अधिकारी र उनका साझेदारले समावेशी ग्यालेक्सीको लागि विचार बनाए। एउटा सानो क्याफेको रूपमा सुरु भएको यो समुदायको बढ्दो माग र समर्थनका कारण बिस्तारै पूर्ण रेस्टुरेन्टमा विकसित भयो।

‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक आन्दोलन भएका विकसित देशहरूमा तपाईँले समलिङ्गी गाउँ जस्ता सामुदायिक क्षेत्रहरू फेला पार्न सक्नुहुन्छ। परिवार र समुदायबाट बहिस्कार गरिएका मानिसहरूको लागि ती सुरक्षित स्थानको रूपमा बनाइएको छ,’अधिकारी भन्छन्, ‘उनीहरू नयाँ व्यापारिक विचारहरूसँगै इन्द्रेणी पर्यटनलाई पनि समर्थन गर्छन्। कुनै दिन नेपालमा पनि इन्द्रेणी पर्यटनको विकास हुने आशा गरेको छु।’

समावेशी ग्यालेक्सीको लागि उनको दृष्टिकोण एउटा रेस्टुरेन्ट मात्र नभएर धेरै छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र आर्थिक स्वतन्त्रता र सशक्तीकरण प्रवर्द्धन गर्ने अधिकारीको लक्ष्य छ। २०१९ फेब्रुअरीमा स्थापना भएदेखि, इनक्लुसिभ ग्यालेक्सी काठमाडौँको अपेक्षाकृत समलिङ्गी–मैत्री क्षेत्र लाजिम्पाटमा कयौँ व्यक्तिका लागि एउटा मुख्य स्थान बनेको छ।

इनक्लुसिभ ग्यालेक्सी, काठमाडौँको एउटा आरामदायी भोजनालय, जसले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सहित सबैलाई स्वागत गर्दछ। सबै लिङ्ग र यौनिक पहिचानका मानिसहरू बहिष्कारको डर बिना एकसाथ आउन सक्ने स्थान बनाउने स्पष्ट दृष्टिकोण लिएर अधिकारीले ग्यालेक्सी खोले। ‘म यसलाई विशेष रूपमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मानिसहरूका लागि मात्र बनाउन चाहन्न किनभने यसले हामीलाई समाजबाट बहिष्कृत गर्नेछ,’अधिकारीले भने,‘विभिन्न समूहले एकअर्कालाई बुझेर बस्न जरुरी छ।’

सुरुका दिनहरूमा, क्याफेले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र विपरितलिंगी ग्राहकहरूलाई आकर्षित गर्‍यो। तर, केही स्थानीयले अधिकारीको पहिचान र ग्राहकहरूको प्रकृतिबारे थाहा पाएपछि केही समय अप्ठेरो पनि भयो। ‘सुरुमा, मैले के भइरहेको थियो बुझिन, तर पछि महसुस गरेँ कि मेरो पहिचान केही व्यक्तिहरूका लागि समस्या थियो। मान्छेको मूल्याङ्कन लिङ्ग वा यौनिकतालाई हेरेर नभई, तिनीहरूको चरित्रको आधारमा गरिनुपर्छ भन्ने मेरो मान्यता छ,’उनले भने,‘समय बित्दै जाँदा हामीले अन्य क्याफेहरू जस्तै सञ्चालन गरेको देखेपछि स्थानीयले पनि सहजता प्रदान गरे।’

अधिकारी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई आफू स्वयंमाथि गर्व गर्ने ठाउँ दिने, आत्म–शङ्का र असुरक्षाको प्रतिकार गर्नका लागि इनक्लुसिभ ग्यालेक्सीको सुरुवात गरे र छिट्टै नै क्याफेलाई सामुदायिक हबमा परिणत गर्न सफल भए। यद्यपि यो यात्रा चुनौतीविहीन थिएन। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट कर्मचारी र कुकहरू राख्न कठिन थियो र रेस्टुरेन्ट खोल्ने बित्तिकै, कोभिड महामारीले थप समस्या बढाइदियो। तर यी कठिनाइहरूका बाबजुद, समावेशी ग्यालेक्सीको ढोका खुला रहिरह्यो। महामारीको समयमा, धेरै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरू, जो आफ्नो परिवारबाट निकालिएका थिए वा घर फर्कन डराइरहेका थिए, उनीहरूले ग्यालेक्सीमा आराम पाए।

धेरैले खानाको लागि पैसा तिर्न सक्दैनथे र रेस्टुरेन्टले आफ्नो स्रोतबाट निःशुल्क खाना उपलब्ध गराउँथ्यो। खाना खाने मान्छेहरूको सङ्ख्या दैनिक २०–३० पुगेपछि अधिकारीले समुदायभित्र पैसा जुटाउन सुरु गरे। ‘धेरै मानिसहरू खानाको लागि मात्र नभई समलिङ्गी समुदायले एकअर्कालाई समर्थन गरिरहेको एउटा सङ्गठनको रूपमा हेर्न पनि आउने गर्थे,’ अधिकारी भन्छन्,‘कोभिडको समय निकै कठिन थियो तर त्यसले मलाई समुदायको नजिक पुर्‍याइदियो।’

आफ्नो स्थापनाको चार वर्षपछि, रेस्टुरेन्टले इमानदार अनुयायीहरू पाएको छ। मिस पिंक नेपाल २०२४ की फस्ट रनरअप सरोजी न्यौपाने इनक्लुसिभ ग्यालेक्सीलाई आफ्नो दोस्रो घर भन्छिन्। उनी सन् २०२२ मा अध्ययन गर्न काठमाडौँ आएकी थिइन्। आफ्नो परिवारबाट टाढा भएका कारण उनले ग्यालेक्सीमा गएर खाना खान थालिन् जसले उनलाई घरको खानाको याद दिलाउँथ्यो।

समय बित्दै जाँदा क्याफेको स्वागतयोग्य माहौलका कारण उनी यससँग जोडिन पुगिन्। ‘यहाँ हाम्रो समुदाय र विभिन्न क्षेत्रका मानिसहरूलाई देखेर खुसी लाग्छ। संस्थापकले हामीलाई दही चिउरा खाने दिन जस्तै अन्य पर्वमा पनि निम्तो दिन्छन्’ उनले भनिन्।

न्यौपाने नियमित रूपमा क्याफेमा आउँछिन् र कहिलेकाहीँ बिहान ३ बजेसम्म बसेर गफमा तल्लीन हुन्छिन्। ‘भविष्यमा यस्ता प्रकारका अरू ठाउँहरू खुल्ने मलाई विश्वास छ। तर यो ठाउँ दुर्भाग्यवश कुनै दिन बन्द भयो भने हाम्रो लागि पायक अर्को कुनै ठाउँ हुनेछैन’ उनले भनिन्।

‘यो मेरो लागि निकै सुरक्षित ठाउँ हो जहाँ वास्तवमा स्वयं बस्न सक्छु। अन्य रेस्टुरेन्टमा जाँदा मलाई अरूले नियालिरहेको महसुस हुन्छ, तर त्यो डर यहाँ छैन,’तीन वर्ष देखि इमानदार ग्राहक बनेकी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मुना क्षेत्री भन्छिन्,‘यो त्यो ठाउँ हो जहाँ घरमा स्वीकार नगरिएका व्यक्तिहरूले पनि आफ्नो स्वीकार्यता महसुस गर्न सक्छन्।’

काठमाडौँको पहिलो खुला यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मैत्री रेस्टुरेन्ट र बार पिंक टिफानीका सञ्चालक सहारा खड्का क्षेत्री, बारको भ्रमण गरिरहन्छिन्। समुदायको आवश्यकता पुरा गर्ने यस प्रकारका निकै कम ठाउँहरू भएको भन्दै उनले कोभिडको समयमा बन्द गर्नुपरेको बताउँछिन्। ‘एक उद्यमीको रूपमा मलाई थाहा छ की यी स्थानहरूलाई जीवित राख्नु चुनौतीपूर्ण छ। तर बिस्तारै यस प्रकारका ठाउँहरू खुल्दै जानेछन् जसले थप समावेशी र उदार समाजको बाटो तयार गर्नेछन्’ उनले भनिन्।

इनक्लुसिभ ग्यालेक्सीको स्वागतयोग्य वातावरणले विपरितलिंगीहरूमा पनि आश्चर्यजनक प्रभाव पारेको छ। बिस वर्षीय छिमेकी समृद्ध जङ्ग राणा प्रायः क्याफेमा जान्छन् र यस्ता स्थानहरूको महत्वको सराहना गर्छन्। ‘पहिले, मलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको बारेमा धेरै थाहा थिएन र वास्ता पनि थिएन। तर यो क्याफेमा आउन थालेपछि मलाई उनीहरूको अधिकार र मुद्दाहरूका बारेमा चासो लागिरहेको छ। मैले बुझेँ की हामी धेरै भिन्न छैनौँ र हामी सबै मानव हौँ’ उनले भने।

इनक्लुसिभ ग्यालेक्सी र पिंक टिफानी जस्ता उद्यमहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र बहुसङ्ख्यक समूहहरू बीचको सहयोगात्मक व्यवसायका लागि प्रेरित गरेको छ। अप्रिल २०२४ मा पिंक टुरिजम अर्थात् इन्द्रेणी पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले मायाको पहिचान नेपालसँगको सहकार्यमा गरेको पहल सकारात्मक कदम हो। अझै पनि सरकार र निजी क्षेत्रबाट थप सहयोग आवश्यक रहेको अधिकारी ठान्दछन्।

प्रगतिका बाबजुद चुनौतीहरू यथावत् छन्। तर, अधिकारी भविष्यप्रति भने आशावादी छन्। उनले भविष्यमा रेस्टुरेन्टलाई होमस्टे कार्यक्रमका रूपमा विकास गर्ने योजनामाथि काम गरिरहेका छन्। ‘जसरी विभिन्न ग्रह, क्षुद्रग्रह र ताराहरूले सुन्दर आकाशगङ्गा बनाउँछन्, त्यसैप्रकार जीवनका सबै क्षेत्र र पहिचान बोकेका मानिसहरू मिलेर सुन्दर समाज बनाउँछन्। हामी यसक्षेत्रमा एकसाथ घुलमिल गरिरहेका छौँ, म खुसी छु। हामी त्यस्तो भिन्न छैनौँ, हामी सबै एकै समयमा फरक र समान छौँ’ अधिकारीले भने।

(यो सामग्री काठमाडौं पोस्टबाट अनुवाद गरिएको हो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.