गृहमन्त्री लामिछानेबारे राष्ट्रिय सभा बेखबर

गृहमन्त्री लामिछानेबारे राष्ट्रिय सभा बेखबर

काठमाडौं : राष्ट्रिय सभामा विनियोजन विधेयक माथि सदस्यहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गरेका प्रश्नको जवाफ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले दिएका छन्।

शुक्रवार विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको जवाफ गृह मन्त्री लामिछानेको तर्फबाट मन्त्री अर्यालले दिएका हुन्।

गृह मन्त्री लामिछाने राष्ट्रिय सभामा उपस्थित भएनन्। उनी अनुपस्थित हुनुको कारण अध्यक्ष नारायण दाहालले गराएनन्। गृहमन्त्री लामिछानेको तर्फबाट जवाफ दिएका मन्त्री अर्यालले पनि लामिछाने अनुपस्थित हुनुको कारण खुलाएनन्।

सदस्य आनन्द ढुङ्गानाले गृह मन्त्रीको खोजी गरे। ‘गृह मन्त्री कहाँ जानु भयो? हामीले सदनमा यथेष्ट जानकारी सरकारबाट पाउनुपर्ने,’उनले भने,’मनसुन आएको २६ दिन भइसक्यो,४५ जनाको मृत्यु भइसक्यो,८ करोडको धनजनको क्षति भएको भन्या छ,तर सरकारले जवाफ दिएको छैन।’

जवाफमा मन्त्री अर्यालले गृह मन्त्री लामिछानेलाई दिएको सुझाव आफूले पुर्‍याउने प्रतिबद्धता जनाए। ‘गृह मन्त्रीको उपस्थितिमा, उहाँ आफैले आएर पछिल्लो अवस्थाको बारेमा जानकारी दिनु पर्ने सुझाव उहाँले दिनु भएको छ र त्यो सुझाव पुर्‍याउने जिम्मा मैले लिन्छु,’मन्त्री अर्यालले भने,’उहाँलाई र गृह मन्त्रालयलाई मेरो तर्फबाट पनि गराउने प्रतिबद्धता गराउन चाहन्छु।’

गृहमन्त्रीको तर्फबाट जवाफ दिएका श्रम मन्त्री अर्यालले हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बेपत्ता र २ जना घाइते भएका जानकारी गराए। ‘पहिरोबाट २४ जनाको मृत्यु, र १९ जना घाइते भएका छन्,’उनले भने,’७७वटा भारी वर्षाका घटनाबाट ४ जना घाइते भएका छन्।’

बाढी र पहिरोबाट २८ जनाको मृत्यु, १ जना बेपत्ता र २५ जना घाइते भई ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएका मन्त्री अर्यालले लामिछानेको लिखित जवाफ वाचन गरेर सुनाए।
चट्याङबाट ३२ जिल्ला प्रभावित भएका छन्। ९३ चट्याङ्गका घटनाबाट १९ जनाको मृत्यु भएको छ। ३५ जना घाइते भएका छन्। सबै विपद्का घटनाबाट १७१ वटा पशु चौपायाको क्षति भएको मन्त्री अर्यालले जानकारी दिए।

मन्त्री अर्यालले लामिछानेको तर्फबाट दिएको लिखित जवाफ

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार भई कार्यान्वयनमा ल्याइएको। मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमको आङ्कलन गरी जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुने गरी विभिन्न क्षेत्रगत रूपमा निकायगत जिम्मेवारी तोकिएको। जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आवश्यक पूर्वतयारी गरिएको ब्यहोरा अनुरोध गर्दछु।

सबै सरोकारवाला निकायसँगको समन्वय तथा सहकार्यमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा रहेको, कमान्ड पोस्ट गठन भई निरन्तर कार्यान्वयनमा रहेको।
जिल्ला विपद् व्यवस्थापन कोषबाट विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड (सातौँ संशोधन), २०७७ बमोजिम मृतकका परिवारलाई ५ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त ३ लाख रुपैयाँ, चामल ३० केजी दाल, खानेतेल, चिया, चिनी, साबुन लगायतका खाद्य सामग्री उपलब्ध गराइएको। त्यस्तै मृतकका परिवारलाई तत्कालका लागि १५ हजार रुपैयाँ, त्रिपाल, कम्बल, म्याट्रेस र भाँडाकुँडा उपलब्ध गराउने व्यवस्था गरिएको।

सङ्घीय तहमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपत्कालीन कार्यसंचालन केन्द्र, केन्द्रीय कमान्ड पोस्ट लगायतका संरचनाहरू, वहुविपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकार, विकास साझेदारहरू लगायतसँग नियमित सम्पर्क र समन्वयमा रही विपद् जोखिमयुक्त क्षेत्रको जोखिम नक्साङ्कन, आवश्यकताअनुसार भौगर्भिक अध्ययन, पूर्व सूचना प्रणालीहरूको जडान र सूचना प्रवाह, मनसुन बुलेटिन, विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको।

मानवीय सहायता स्थलहरूमा राहत तथा उद्धारका सामाग्रीहरूको यथेष्ट भण्डारण गरिएको।

आपत्कालीन अवस्थामा हवाई उद्धारका लागि समेत मिति द्दण्डज्ञरण्द्दरज्ञठगते सरकारी तथा निजी हवाई सेवा प्रदायहरूसँग हवाई सेवा दिने सम्बन्धी विस्तृत योजनासहित तत्काल परिचालन हुने गरी तयारी अवस्थामा राखिएको। जसबाट हेलिकप्टर मार्फत ३ जनाको उद्धार गरिएको।

विषय : सल्यान जिल्ला त्रिवेणी गाउँपालिका वडा ६ लोहान स्थित पब्लिक बोर्डिङ स्कुल कक्षा ६ मा अध्ययनरत छात्र अरुण वि.क.लाई शिक्षक चक्र बहादुर डाँगीले कुटपिट गरी घाइते बनाएको सम्बन्धमा

जवाफ : जिल्ला सल्यान त्रिवेणि गाउँपालिका वडा नं। ६ लुहाममा रहेको सल्यान पब्लिक बोर्डिङ स्कुलका कक्षा ६ मा अध्ययन गर्ने वर्ष १२ को अरुण बि क लाई मिति २०८१/०३/१६ गते लास्ट पिरियड क्लास चलिरहेकोमा सोही विद्यालयका शिक्षक चन्द्र कुमार डाँगीले पढाउने क्रममा कक्षाकोठाको पछाडि पुग्दा अगाडीको विद्यार्थीहरू आपसमा हल्ला गरेकोमा हल्ला नगर भनेर विद्यार्थीकै स्टिलको स्केलले पछाडि ढाडमा हान्न खोज्दा अरुण बि क पछाडि फर्कने क्रममा टाउकोमा घोची घाउ भएको तत्काल मेडिकलमा लग्दा सामान्य भनेकोमा इप्रकामा निवेदन सहित आएपछि तत्काल घाउजाचको लागि जिल्ला अस्पताल पठाइएको सामान्य उपचारपछि फिर्ता भएको।भोलीपल्ट १७ गते विद्यालय तथा विद्यार्थी तर्फका व्यक्तिहरू समेत छलफल गर्दा उपचार गर्न नेपालगन्ज लग्ने र पछि आएर मिलापत्र गर्ने भनी मौखिक सहमति भई गएकोमा उपचारको लागि जाँदा खास उपचार आवश्यक नभएको भनी फिर्ता आएको भन्ने बुझिएको।घाउ सामान्य रहेको ब्यहोरा अनुरोध गर्दछु।

विषय : गाँजा खेती सम्बन्धी अध्ययन भए नभएको सम्बन्धमा

जवाफ : गृह मन्त्रालयको सह-सचिवको संयोजकत्वमा गाँजा खेतीको सम्भावना, गाँजा खेती एवम् यसको उपयोग सम्बन्धमा गरिनुपर्ने कानुनी र कार्यविधिगत व्यवस्थाका बारेमा अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन भई प्रतिवेदन प्राप्त भएको। सोही बमोजिम आवश्यक कानुनी व्यवस्थापन गर्न लागु औषध सम्बन्धी नियमावलीको मस्यौदा समिति गठन भएको।

विषय : प्रहरी समायोजन सम्बन्धी उठान गर्नुभएको विषयको सम्बन्धमा

जवाफ :प्रहरी समायोजनको लागि कानुन तयार भैसकेको, प्रदेश सरकारसँगको समन्वयमा प्रक्रिया अगाडी बढाइएको छ।

विषय : जाजरकोट भूकम्प पश्चात्को पुनर्निर्माण सम्बन्धमा

जवाफ : जाजरकोट र बझाङ केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८० हजार १५० लाभग्राहीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा ४ अर्ब ७५ लाख रुपैयाँ निकासा भएको। स्थानीय विपद् व्यवस्थापन समितिबाट प्रक्रिया पुरा गरेका ७६ हजार ८ सय ७५ लाभग्राहीका लागि पहिलो किस्ता बापत १ अर्ब ९२ करोड १८ लाख ७५ हजार रुपैयाँ लाभग्राहीको खातामा निकासा भइसकेको ब्यहोरा जानकारी गराउन चाहन्छु।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.