काँग्रेसको प्रशिक्षणमा ‘नक्कली भुटानी काण्ड’का बालकृष्णको इन्ट्री, शेखरको बहिष्कार

काँग्रेसको प्रशिक्षणमा ‘नक्कली भुटानी काण्ड’का बालकृष्णको इन्ट्री, शेखरको बहिष्कार

1.4k
SHARES

रुपन्देही : नेपाली काँग्रेसका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रममा नक्कली भुटानी शरणार्थी प्रकरणका नेता बालकृष्ण खाँण सहभागी हुँदा शेखर कोइरालाले बहिष्कार गरेका छन्।

रुपन्देहीको भैरहवामा सुरु प्रशिक्षण कार्यक्रममा पूर्वगृहमन्त्री खाँण वर्तमान गृहमन्त्री रमेश लेखकभन्दा पछाडिको कुर्सीमा बसेका थिए।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा ठुलो रकम लिएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा परेका थिए। तत्कालका लागि धरौटी बुझाएर रिहा भए पनि उनको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।

भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा खाँण पार्टीको कार्यक्रममा सहभागी भएर सिङ्गो काँग्रेसको नैतिकतामै प्रश्न उठाएको काँग्रेसी नेता कार्यकर्ताले प्रतिक्रिया दिएका छन्।

रुपन्देही खाँणको गृह जिल्ला हो। बालकृष्णका भाइ रामकृष्ण खाँण अहिले पार्टीको जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिका प्रमुख छन्। तर, आफूले बालकृष्णलाई निम्तो नदिएको रामकृष्णले बताए।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकै तजबिजीमा बालकृष्ण सभापतिहरूको क्षेत्रीय सम्मेलनमा सहभागी भएको उनले बताए। ‘केन्द्रले नै उहाँलाई बोलाएको हो,आयोजक क्षेत्रीय समितिले निम्तो दिएको हो,बालकृष्णका भाइ रामकृष्णले पहिचानसँग भने,‘मैले निम्तो दिएर आउनु भएको होइन।’ बालकृष्ण पार्टी सभापति शेरबहादुर देउवालाई भैरहवा विमानस्थलमै स्वागत गर्न पुगेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी प्रकरणको मुद्दाका कारण गुपचुप रहेका बेला खाँणको सक्रियता सत्ताको आडमा सलबलाएको अर्थमा हेर्नेहरू पनि छन्।

उद्घाटन सत्रमा पार्टीका प्रायः सबैजसो पदाधिकारी सहभागी हुँदा काँग्रेस नेता शेखर कोइराला भने अनुपस्थित भए। आइतबारसम्म रुपन्देहीमै रहेका कोइराला यसअघि पोखराको कार्यक्रममा नबोलाएको रिसमा विराटनगर हानिए। आइतबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा कोइरालाले राजनीतिमा कहिले काहीँ इगनोर पनि गर्नुपर्ने बताएका थिए।


मङ्गलवारसम्म चल्ने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले आगामी चुनावमा काँग्रेसले बहुमत ल्याउने सम्भावना नभए पनि अहिलेकोभन्दा राम्रो नतिजा ल्याउनुपर्नेमा जोड दिए।

प्रतिष्ठानका कार्यकारी निर्देशक डा.जगदीशचन्द्र पोखरेल, निर्देशक डा.कृष्ण पौडेलसहित पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रशिक्षण दिने कार्यक्रम छ।

देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति, उपसभापति र प्रशिक्षण शाखा प्रमुखसहित करिब ५ सय प्रतिनिधि सहभागी कार्यक्रममा पार्टीको वैचारिक तथा सैद्धान्तिक विषयवस्तु, समसामयिक राजनीतिलगायतका विषयमा प्रशिक्षण दिइने काँग्रेसले जनाएको छ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुरु भएको कार्यक्रममा जनप्रतिनिधिसँग पार्टीको सम्बन्ध बिग्रिएका ठाउँमा सुधार गर्ने र राम्रो भएका ठाउँमा परिणाम ल्याउने गरी काम गर्न प्रशिक्षण महत्त्वपूर्ण हुने काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
1.4k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.