पहिरोमा पुरिएर चार जनाको मृत्यु, ७ बेपत्ता

पहिरोमा पुरिएर चार जनाको मृत्यु, ७ बेपत्ता

काठमाडौं : निरन्तरको वर्षे झरीले देशका विभिन्न ठाउँ जलमग्न भएका छन्। ४ जनाको मृत्यु भएको छ। बाख्रा भैँसीलाई पहिरोबाट जोगाउन गएका दुई जनासहित ७ जना बेपत्ता छन्।

काठमाडौँमा एक जना र स्याङ्जामा तीन जनाको मृत्यु हुँदा पर्वतमा दुई जना बेपत्ता भएका छन्। काठमाडौँको नागार्जुन नगरपालिका ३ मा ट्रिपिकल रेस्टुरेन्टको किचेन कोठामा माथिबाट पहिरो आई पुरिँदा २२ वर्षका मनोज वि.क.को मृत्यु भएको छ।

स्याङ्जाको बिरुवा ६ स्थित लामाखेतमा पहिरोले घर बगाउँदा ६५ वर्षीया गुह्येश्वरी शर्मा मरासिनी, ५८ वर्षीय हरिदेवी शर्मा र ७१ वर्षीय माधव शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१३ काउरेमा पहिरोमा पुरिएर ४० वर्षीय हिरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका छन्।

पर्वतमा पहिरोले २ जना पुरिएका छन्। फलेवास नगरपालिका १ कार्कीनेटामा स्थानीय कुलप्रसाद पाध्याको गोठमा पहिरो झर्दा भैँसी बाख्रा उद्धार गर्न जाँदा ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका ३ का ३३ वर्षीय तुलसी प्रसाद शर्मा बेपत्ता भएका छन्।

दाङको राजपुर गाउँपालिका २ का राजकुमार यादवलाई राप्ती नदी पार गर्ने क्रममा बेपत्ता भएका गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। बाढी र पहिरोले मुख्य राजमार्गहरूमा शनिवार दिनभर ४७ भन्दा बढी स्थानमा अवरुद्ध भएका छन्।

तीन ठाउँमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक रातभर एकतर्फी सञ्चालन हुने इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ। चितवनको इच्छाकामना–४ घोप्टेभीर, वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो।

लगातारको वर्षा : उद्धारमा खटियो सशस्त्र प्रहरी, गृहमा आपतकालिन बैठक

वर्षे झरीसँगै देशभर भएका विपद्का घटना र व्यवस्थापनबारे गृह मन्त्रालयमा आपत्कालीन बैठक डाकेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विपद्को जोखिममा रहेका परिवारलाई स्थानान्तरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका लागि राज्यको जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए।

मन्त्री लामिछानेले ‘कमान्ड पोस्ट’ र स्थानीय प्रशासनलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन भनेका छन्। विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिलाई व्यवहारमा उतार्ने समय आएको उनको भनाई छ।

काठमाडौं उपत्यकासहित देशभर मनसुनी वितण्डा मच्चिएको छ। कतै डुबान, कतै बाढी त कतै पहिरोले देशका सबैजसो जिल्ला प्रभावित बनेका हुन्। ठाउँठाउँका सडकसमेत अवरुद्ध भएका छन्। काठमाडौं उपत्यकाकामा समेत नदीको बहाव बढेर बजारमा बाढी पसेपछि सुरक्षाकर्मी नै परिचालन गर्नुपरेको छ।

उपत्यकाका दुई प्रमुख नदी बागमती र विष्णुमती नदी बस्ती भित्र पस्दा बालकुमारी, च्यासल हुँदै थापाथलीसम्म बाढीले ताण्डव मच्चाएको छ। नेकपा एमालेको केन्द्रीय कार्यालय पनि डुबानमा परेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका विभिन्न स्थानमा १४१ घरधुरी डुबानमा परेका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिइन।

भक्तपुरमा हनुमन्ते र मनोहरा खोला पनि बस्तीमा पसेको छ। दाङ, पाल्पा र भक्तपुरमा बाढी र पहिरोको कहरमा फसेका ७९ जनालाई प्रहरीले उद्धार गरेको छ।

सशस्त्र प्रहरी बलको टोलीले ४० जनाको उद्धार गरेको जनाएको छ। सशस्त्र प्रहरी बलले दाङको लमही नगरपालिका–८ सतवरिया गाउँका ५० घर डुबानमा पर्दा फसेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको जनाएको छ।

हनुमन्ते खोलामा आएको बाढीबाट मध्यपुर ठिमी दिव्यश्वरी प्लानिङमा १८ वटा टहरामा बस्ने ५६ जना र पोखराको सेती नदीको किनारमा बसोबास गर्ने ५ घर धुरीका २३ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। काठमाडौं थापाथलीस्थित सुकुम्वासी बस्तीकी लक्ष्मी यादवको घरमा बागमतीको बाढी पस्दा फसेका ६ जनाको उद्धार गरेको छ।

सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाका अनुसार तत्काल उद्धार गरिएकाले मानवीय क्षति हुनबाट जोगिएको छ। यस्तै, कीर्तिपुर नगरपालिका १० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनालाई सशस्त्र प्रहरी बलको गोताखोर टोलीले र तनहुँको म्याग्दे गाउँपालिका ६ स्थित अकला मन्दिरमा गएका ६ जना दर्शनार्थी बाढीमा फसेपछि सशस्त्र प्रहरीले नै उद्धार गरेको हो।

निरन्तरको वर्षे झरीले देशभरकै नदीहरूको जलसतह सतर्कता र खतराको तह पार गरी उर्लिएको छ। चितवनको नारायणी र पश्चिम राप्ती नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। बागमती, बबई, कालीगण्डकीमा जल सतह सतर्कता आसपासमा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

सुदूरपश्चिममा राति भारी वर्षा हुने भएकाले कैलाली र कञ्चनपुरमा जोखिम बढी रहेकोले सतर्क रहन पूर्वानुमान शाखाले आग्रह गरेको छ। गण्डकी र लुम्बिनी प्रदेशका सबै खोलाको बहाव पनि बढ्ने पूर्वानुमान शाखाले जनाएको छ।

हाइड्रोलोजिष्ट इन्जिनियर सुमित अधिकारीले जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस मार्फत चेतावनी दिइरहेको भन्दै सूचना पाउने बित्तिकै सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

सप्तकोसी नदीमा पनि जलसतह उच्च भएको छ। अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३९ वटा ढोका खोलिएका छन्। निरन्तर वर्षा भइरहेको भए पनि अहिले नै खतराको अवस्था भने आइनसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। उनले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी अवस्थामा रहेको बताए।

आगामी २४ घण्टामा सबै प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।

अन्य स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.