प्रधानमन्त्रीको राजीनामालाई लिएर सांसदहरू गीत गाउने प्रतिस्पर्धामा

प्रधानमन्त्रीको राजीनामालाई लिएर सांसदहरू गीत गाउने प्रतिस्पर्धामा

काठमाडौं : नेकपा एमालेले सुटुक्क काँग्रेससँग सत्ता साझेदारीको सहमति गरेपछि संसद् दोहोरीको थलो बनेको छ। चुनावी प्रचारमा गीतसङ्गीतकै प्रयोग गरेर सांसद मन्त्री बनेकाहरू अहिले गीतबाटै राजनीतिक वाद-प्रतिवादमा उत्रिएका छन्।

प्रतिनिधिसभामा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएपछि गीतको दोहोरी चलेको हो। एमाले र माओवादी केन्द्रका सांसदहरूले एक अर्को पार्टीको नेतृत्वबारे टिप्पणी गर्दा गीतका अन्तरा सुनाएका छन्।

राजनीतिक व्यङ्ग्यवाणका निम्ति पछिल्लो राजनीतिक घटनाक्रममा गीतको अन्तरा सुनाउने सुरुवातकर्ता स्वयम् प्रधानमन्त्री प्रचण्ड हुन्। एमालेका मन्त्रीहरूको राजीनामा बुझेपछि प्रधानमन्त्री प्रचण्डले सुनाएको गीत एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सोमबार बसेको संसद् बैठकमा सुनाए।

जवाफमा बर्तौलाले प्रधानमन्त्री प्रचण्डलाई गायिका अन्जु पन्तको ‘तिमीले पराई ठानेपछि’ बोलको गीत गाए।

१० पुस २०७९ मा एमालेसहित दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपतिको चुनाव भएसँगै सत्ता समीकरण फेरेर काँग्रेससँग मिले। २१ फागुन २०८० मा फेरी काँग्रेससँगको सत्तासमीकरण तोडेर प्रचण्ड एमालेसँग मिले।

यही असार १७ गते मध्यरातमा काँग्रेस र एमालेबीचमा सत्तासमीकरणको समझदारी बनेको छ। अहिले एमालेका सांसदहरू प्रधानमन्त्री प्रचण्डलाई र माओवादीका सांसदहरू एमाले अध्यक्ष केपी ओलीलाई गलत देखाउने प्रतिस्पर्धा गरिरहेका छन्।

यही प्रयासमा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले एमालेलाई भेटाएको साथी कस्तो हो ख्याल गर्न सुझाउँदै गोही र पण्डितको कथा नै सुनाए। त्यसपछि उनले पनि गीतको अन्तराबाटै जवाफ दिन छुटाएनन्।

काँग्रेससँगको सहकार्यमा सरकारको नेतृत्वमा जान लागेका एमाले अध्यक्ष ओलीलाई साङ्केतिक रूपमा सम्बोधन गर्दै उनले फेरि अर्को गीतको अन्तरा गाए।

यसअघि आइतबार काँग्रेस सांसद सुनिल शर्माले काँग्रेस र एमाले मिलेपछि प्रधानमन्त्री प्रचण्ड कमजोर भएको जनाउन ‘ओराली लागेको हरिणकै चाल भयो’ बोलको गीत सुनाएका थिए।

आइतबार र सोमबार संसद्मा गीतको दोहोरी चल्न थालेपछि मन्त्रीहरूले खल्तीमै राजीनामा पत्र बोकेर हिँडेको बताउँदै आएको रास्वपालाई राप्रपाकी सांसद रोशन कार्कीले संसद्मा नाच नै हेर्न पाइने हो कि भनेर व्यङ्ग गरेकी छन्।

अर्का सांसद अम्मरबहादुर थापाले संसद्मा दोहोरी नै चलेको टिप्पणी गरे। एकीकृत समाजवादीका सांसद थापाले गीत गाउँदैमा संसद्को पाँच वर्षे कार्यकाल सकिनेप्रति चिन्ता व्यक्त गरे।

सरकारबाट बाहिरिएपछि एमालेका सांसदहरूले एकै स्वरमा प्रधानमन्त्रीको राजीनामा मागिरहँदा सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरू भने बेचन झालाई पक्राउ गरेपछि ठुलो राजनीतिक दाउपेच भएको बताउन थालेका छन्।

प्रतिनिधिसभा बैठकको शून्य सममयमा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अघिल्लो सरकारले प्रतिवादी बनाउन नचाहेको झालाई अहिलेको सरकारले समातेपछि सरकार ढलेको बताए।

रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले पनि नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी झा शुक्रवार राति पक्राउ पर्ने र शनिवार सरकार ढाल्ने प्रपञ्च रचिनुलाई नेपाली जनताले चासोको रूपमा हेरेको टिप्पणी गरे।

काँग्रेस र एमालेले अल्पमतमा परेको सरकारलाई नैतिकताको आधारमा राजीनामा दिन दबाब बढाइरहँदा रास्वपा कै सांसद मनिष झाले एमालेलाई पल्टुरामको संज्ञा दिए।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले फाइल खोल्छु भनेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले धम्कीको भाषा बोलिरहेको आरोप लगाए। बर्तौलाले एक हप्ताभित्र फाइल खोल्न गृहमन्त्रीलाई चुनौतीसमेत दिए।

राप्रपाकी सांसद रोशन कार्कीले गृहमन्त्री रवि लामिछानेलाई फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन भनिन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.