देउवा-ओली एक हुँदा प्रचण्ड मोर्चा पुनर्गठनको तयारीमा

देउवा-ओली एक हुँदा प्रचण्ड मोर्चा पुनर्गठनको तयारीमा

काठमाडौं : नेपाली काँग्रेस र नेकपा एमालेले आगामी रणनीति तय गर्न छलफल गरेका छन्। १७ असारको मध्यरातमा बालकोटमा नयाँ सत्ता समीकरणको सहमति गरेका काँग्रेस र एमालेले बुधवार बुढानीलकण्ठमा छलफल गरेका हुन्।

काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच देउवा निवास बुढानीलकण्ठमा नयाँ सत्ता समीकरण गरेर जाने सहमति भएसँगै भावी रणनीतिबारे छलफल भएको एक नेताले जानकारी दिए।

अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन सांसदहरूको हस्ताक्षर, मन्त्रिपरिषद् गठन, सरकारमा सहभागी गराउने दलहरू लगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्। एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिनुका साथै एमालेबाट सहभागी मन्त्रीहरूले राजीनामा दिइसकेका छन्।

सरकारबाट बाहिरिन दुई दिन बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने समाजवादी मोर्चा पुनर्गठनको तयारीमा लागेका छन्। अहिलेसम्मको अङ्कगणितमा विश्वासको मत नपाउने निश्चित देखिएपछि प्रधानमन्त्री प्रचण्ड मोर्चा पुनर्गठनको तयारीमा लागेका हुन्।

नयाँ सत्ता गठबन्धनका लागि काँग्रेस र एमालेबीच एकता भएपछि प्रचण्डले समाजवादी मोर्चाका नेताहरूलाई बालुवाटारमा बोलाएर छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको छलफलमा समाजवादी मोर्चा पुनर्गठन सम्बन्धी छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

सत्ताभोग गुमाउने निश्चित भएपछि माओवादी नेताहरूले संविधान खतरामा पार्न लागेको आरोप लगाउँदै आएका छन्। अब सबै माओवादीहरू एक हुनुपर्ने नेताहरूले बताएका छन्। सत्तामा हुँदासम्म छिन्नभिन्न बनेका माओवादीहरू सत्ताबाट बाहिरिने बित्तिकै बाम एकताको रटान लगाउने गरेका छन्।

संविधान धरापमा पार्ने माओवादीको आरोपलाई काँग्रेस र एमालेले भ्रम मात्रै भनेका छन्। दुई दिनपछि सत्तारोहणको तीव्र प्रतीक्षामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको प्रस्टीकरण दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधवार बसेको पार्टीको सचिवालय बैठकमा तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा आसीन हुन लागेका ओलीले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको उल्लेख गरे।

यसअघि पनि संविधान संशोधन भएको सुनाउँदै उनले राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने बताए। ओलीले एमाले र काँग्रेस मिल्दा संविधान खतरामा परेको भन्ने भ्रम फैल्याउनका लागि बोलिएको दाबी गरे।

सुदूरपश्चिम प्रदेशमा चार सिटको एकीकृत समाजवादीले मुख्यमन्त्री लिएकोतर्फ लक्षित गर्दै ओलीले प्रदेश सरकारमा समेत साना—साना दलहरूले मुख्यमन्त्री लिएर सङ्घीयतालाई बदनाम बनाउने खेल अब बन्द हुने बताए। एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन ह्विप पनि जारी गरेको छ।

खेल र राजनीतिमा कतिबेला के हुन्छ भन्न सकिन्न। यदि कुनै नाटकीय खेल नभएमा शुक्रवार प्रधानमन्त्री प्रचण्डले पाँचौँ पटक लिन लागेको विश्वासको मत नपाउने संसदीय गणितले देखाएको छ। डेढ वर्षअघि पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक काँग्रेससहितका लगभग सबै दलको गरी २७५ मध्ये २६८ सांसदको विश्वासको मत पाएका थिए।

माओवादीले राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो। त्यसपछि प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक १७२ सांसदको समर्थन पाएका थिए। गत फागुन २१ गते काँग्रेस छाडेर एमालेसँग मिलेका प्रचण्डले फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिँदा मात्र १५७ मत पाए।

जसपा नेपाल विभाजन भएपछि प्रचण्डले फेरि जेठ ७ गते चौथो पटक पनि १५७ सांसदकै मत पाए। अहिले भने प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने करिब निश्चित जस्तै छ। पहिलोपटक शतप्रतिशतजस्तो विश्वासको मत पाएका प्रचण्डमाथि संसद्को विश्वास लगातार गुम्दै गएको देखिएको छ।

प्रमुख सत्ता सहयोगी एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डलाई अहिले २१ सिटको राष्ट्रिय स्वतन्त्र पार्टी र १० सिटे नेकपा एकीकृत समाजवादीले मात्र साथ दिने देखिएको छ।

२८ असारमा प्रचण्डले सरकारमा रहेका दल माओवादीसँग ३२, रास्वपाको २१ र नेकपा एकीकृत समाजवादीको १० गरी ६३ मत पाउने देखिएको छ। यद्यपि रास्वपाले निर्णय गरिसकेको छैन।

बुधवार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै दल र स्वतन्त्र सांसहरुलाई आव्हान गर्ने निर्णय गरेको छ। बैठकले विश्वासको मत लिने दिन आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

काँग्रेसले यसअघि नै अब प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। अन्य दल राप्रपा, उपेन्द्र यादवको जसपा नेपाल, अशोक राईको जसपा, महन्त ठाकुरको लोसपा, सिके राउतको जनमत, नागरिक उन्मुक्तिले काँग्रेस र एमालेको समीकरणलाई सहयोग गर्ने सङ्केत गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले ओलीले धोका दिएको भन्दै बरु देउवालाई प्रधानमन्त्री दिएर एमालेसँगको सहमति भङ्ग गर्न उद्धत रहेको चर्चा चलेपछि पाण्डेले बाहिर आएका समाचार गलत भएको दाबी गरे।

संविधान बनेदेखि नै तेस्रो दल बनेको माओवादीका अध्यक्ष प्रचण्डले पहिलो र दोस्रो पार्टी काँग्रेस एमालेलाई पालैपालो धोका दिएर सत्तामा बसेपछि यसपटक देउवा ओली मिलेका हुन्।

उनीहरूबीच सुरुको २ वर्ष ओली र त्यसपछि देउवाले नेतृत्व गर्ने सहमति भएको छ। प्रतिनिधिसभामा काँग्रेस ८९ सिटसहित पहिलो र ७७ सिट रहेको एमाले गरी १६६ सांसद सङ्ख्या रहेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.