प्रचण्डको विश्वास मत लगत्तै नयाँ सरकार गठन सुरु हुने

प्रचण्डको विश्वास मत लगत्तै नयाँ सरकार गठन सुरु हुने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाए लगत्तै नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने भएको छ। काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दुई तिहाइको बहुमत समर्थन जुट्ने देखिएको छ।

नयाँ सरकार गठनलगायतका विषयमा एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटिसकेका छन्। पहिला एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गरेपछि काँग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने प्रारम्भिक सहमति भएको नेताहरूले बताएका छन्।

मन्त्रालयको भागबन्डा मिलाउन काँग्रेसबाट रमेश लेखक र एमालेबाट शङ्कर पोखरेल आन्तरिक गृहकार्यमा छन्। एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल र परराष्ट्र लिएर काँग्रेसबाट आरजु राणा देउवा जाने चर्चा छ।

एमाले र काँग्रेसमा मन्त्री हुनेहरू बालकोट र बुढानीलकण्ठमा तीव्र दौडधुपमा लागेका छन्। पत्नी सिर्जना सिंहसहित देउवा निवासमा पुगेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारमा जाने इच्छा व्यक्त गरेका छन्।

गत महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिंहले दोस्रो चरणको मतदानमा देउवालाई सघाएका थिए। त्यसको गुण तिर्न देउवाले सिंह पत्नी सिर्जनालाई काठमाडौँ महानगरको मेयरमा टिकट दिए पनि पराजित भएकी थिइन।

नेता डा. शेखर कोइराला, कृष्ण सिटौला, महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्मा ओली सरकारमा जान इच्छुक देखिएका छैनन्। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग गगनले महामन्त्रीको रूपमा काम गर्दा समयको दबाब रहेकाले आफू सरकारमा नजाने बताए।

संसद्का दुई ठुला दल मिलेर बलियो सरकार बनेमा गल्ती गर्ने सम्भावना पनि हुने भन्दै थापाले आफूले प्रतिपक्षीको भूमिका सत्तापक्षमै बसेर निर्वाह गर्ने बताए।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको शपथपछि मात्रै पार्टीबाट मन्त्री बन्नेको नाम थाहा हुने बताए। एक जना निलम्बन भएकाले ७८ जना सांसद नै मन्त्रीको लागि योग्य भए पनि ओलीको दिमागमा मात्र मन्त्रीको नाम सेभ भएको उनले सुनाए।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने पहिला प्रधानमन्त्रीले विश्वासको मत लिने काम सकिएपछि मात्रै मन्त्रीको नामबारे छलफल सुरु हुने बताए।

संविधान संशोधनको सहमति कार्यान्वयनका लागि पनि साना दलहरूलाई सरकारमा समेट्न काँग्रेस एमाले तयार भएका छन्। काँग्रेस महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन हुने हो कि भन्ने चिन्ता रहेको बताए।

थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने भन्दै माओवादी लगायत सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक रहने उल्लेख गरे। यद्यपि अहिले प्रदेश र केन्द्र सरकार बन्न नसक्ने अवस्थालाई सुधार गर्न त्रुटि सच्याउन आवश्यक रहेको बताए।

शुक्रवार नयाँ सरकार गठनको प्रक्रियामा गएपछि एमालेसँग भएको सहमति सार्वजनिक हुने उनले बताए। यसअघि नेताहरुबीच सहमति हुने र धोका हुने क्रमलाई रोक्न यसपटक पार्टीले अपनत्व लिने गरी पार्टी बैठकमा पनि जानकारी गराइएको भन्दै सहमतिको इमानदारीताका साथ पालना हुने उनले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.