अनुमान गर्न नसक्दा प्रचण्डले गुमाए सत्ता, ओलीले गरे दाबी पेस

अनुमान गर्न नसक्दा प्रचण्डले गुमाए सत्ता, ओलीले गरे दाबी पेस

काठमाडौं : यो पटकको मनसुन निक्कै आक्रामक रूपमा प्रस्तुत भएको छ। अर्को हप्तासम्म पनि वर्षा भइरहने मौसम पूर्वानुमान गरिएको छ। सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

शुक्रवार कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भयो भने एकाबिहानै पहिरोले दुई वटा यात्रु बस नारायणी नदीमा खसेर बेपत्ता भएको छ। कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत लिने प्रस्ताव पेस गर्दै बाढी, पहिरो, चट्याङको एक ढिक्का भएर प्रतिवाद गर्नुपर्ने बेलामा सरकार परिवर्तनको खेल भएको बताए।

बाढी, पहिरो र चट्याङको प्रतिवाद गर्न एक्लै परेको गुनासो समेत प्रचण्डले गरे। यसमा प्रचण्डले कसैलाई दोष दिएनन्। तर, ‘विडम्बना’ भने उनले। ‘विश्वासको मत माग्न उचित हुन्छ कि हुँदैन,’उनले भने,’केही दिन सार्दा अर्को अर्थ लाग्दा।’

प्रचण्डले मनसुन जस्तो राजनीतिक अनुमान भने गर्न सकेनन्। प्रचण्डले विश्वासको मत मागेकै दिन नै विपद्ले उत्पात मच्चाएको छ। खोज, उद्धार र राहतका लागि निर्देशन दिएको जानकारी गराउँदै संसद्को रोष्ट्रमबाट प्रचण्डले भने,’विश्वास, आदर्श र निश्चित उद्देश्यले जोडेको भए कुनै चिन्ता हुने थिएन। सुशासनको डरले जोडेको हुनाले। जनताले मूल्याङ्कन गरिरहनु भएको होला?’

प्रचण्ड प्रधानमन्त्री पद छोड्नु पर्दा प्रतिगमन र निरङ्कुशताको डर छ। प्रचण्डले ‘बाढी, पहिरो आउन लाग्यो’ भनेर मिल्नु भएको त होइन होला? भनेर सोधे पनि। काँग्रेस र एमालेको नयाँ सत्ता समीकरणको सहमतिले लोकतन्त्रलाई कमजोर बनाएको प्रचण्डलाई लागेको छ। ‘अधिनायकवादलाई प्रश्रय दिएको छ। रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास,’उनले भने,’अधिकार खोस्ने जमर्को गर्नु भएको छ।’

सहमतिलाई जनताले हिसाब राखिरहेका प्रचण्डले बताए। उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई सहमति तोड्न उत्साहित बनाउने प्रयास गरे भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तर्साउन देउवासँगको फोन संवाद समेत सुनाए।

प्रतिपक्षमा जानुलाई अनौठो नमानेको प्रचण्डले बताए। ‘काँग्रेस र एमाले आफैँ मिलेको होइन, किन मिलाएको हो? घाम जतिकै छर्लङ्ग भएको छ,’राष्ट्रिय सहमति लुकेर नहुने भन्दै प्रचण्डले ओलीलाई झुट बोल्ने नेताको उपमा पनि दिए।

काँग्रेस र एमालेबीच नयाँ सरकार बनाउन भएको सहमतिलाई ओलीले होइन भनेर ढाँटेको सुनाए प्रचण्डले। १७ असार मध्यरातको सार्वजनिक तस्बिरलाई ओलीले खोइ कहिलेको हो भनेर समेत झुट बोलेको उनले बताए। ‘भएकै छैन। कहिलेको फोटो रैछ भन्नु भयो,’प्रचण्डले भने,शेरबहादुरले म ढाँट्न जान्दिन सहमति भइसक्यो भइसक्यो भइसक्यो भन्नुभयो।’

चुनावी परिणामपछि सहकार्यको भूमिका निर्वाह गरेको दाबी समेत गरे प्रचण्डले। ‘निषेध, अपमान र प्रतिशोध होइन,’उनले भने,’शक्तिको न्यायपूर्ण वितरण गरेको छु।’ उनले एमालेलाई सभामुख र काँग्रेसलाई राष्ट्रपति दिएर जनमतको सम्मान गरेको समेत सुनाए। ओलीको कलाको उनले तारिफ गरे।

संसद्मा तारिफ गर्न लायक नेता ओली मात्रै रहेको सुनाए प्रचण्डले। तर, ओलीले षडयन्त्र गरेको थाहा पाउन भने उनले ढिलो गरे। ‘हिसाबै गर्न सकिन। विश्वास गरे। पार्टी एउटै बनाउने भनेपछि फुर्किँदै क्याबिनेट गए,’उनले भने,’ढुक्कसँग काम गर्नुहोस् भने, कति लाटो म।’

चुनावमा काँग्रेससँग गठबन्धन गरेका प्रचण्डले १० पुस २०७९ मा एमालेको समर्थन लिएर प्रधानमन्त्री बने। राष्ट्रपति चुनावमा काँग्रेससँग गठबन्धन गरेका प्रचण्डले एकाएक २१ फागुन २०८० मा सुटुक्क एमालेलाई सरकारमा भित्र्याएका थिए। त्यसपछि चिढिएको काँग्रेसले तेस्रो पटक विश्वासको मत माग्ने प्रचण्डको प्रस्तावमा ‘धोका खाएकाहरू मिलेको दिन तपाईँको हालत के होला?’ भनेर सोधेको थियो।

नभन्दै धोका खाएका पहिलो र दोस्रो दल मिलेका छन्। दुई दल मिले पछि संसद्को तेस्रो ठुलो प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्र प्रतिपक्षमा पुग्नु परेको छ। संसद्को पहिलो दल काँग्रेस प्रतिपक्षमा बस्नु पर्दा सभापति शेरबहादुर देउवाको स्थिति जस्तो थियो अहिले प्रचण्डलाई त्यस्तै भएको छ।

लामो सास फेरे प्रचण्डले। काँग्रेसलाई दिएको धोकाको प्रचण्डले नैतिक जिम्मेवारी लिए। उनले आफूले जस्तो धोका नखान काँग्रेसलाई सुझाव पनि दिए। ‘मेरो जस्तो नहोस्। अगाडीबाट मुसारेर पछाडिबाट….,’उनले भने,’मिल्नुहोस् टेन्सन छैन।’

उनले काँग्रेससँग संसद् बचाउन पनि आग्रह गरे। दुई-दुई पटक संसद् विघटन गर्दा मिलेर बचाएको स्मरण पनि गरे प्रचण्डले। ‘संसद् बचाउनुहोला। संसद् नै निल्ने प्रयास हुन सक्छ,’उनले काँग्रेसलाई भने,’मिलेर जोगाऔँ।’

प्रचण्डले आफैलाई जिस्क्याउने कोसिस गरे संसद् र सडकबाट प्रतिवाद हुने चेतावनी पनि दिए। उनले क्रान्तिको शक्ति लिएर शान्तिको ढोका खोल्ने प्रचण्ड नजन्मन सक्ने उल्लेख पनि गरे। दुई दलीय बनाउने कसरस ओपन सेक्रेट रहेको उनले बताए।

२०४७ देखि ०६३ सम्म १५ वटा सरकार बनेको हिसाब सुनाउँदै प्रचण्डले संविधान संशोधन गर्न खुला छलफलको आग्रह गरे। संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान उनले प्रस्ताव गरे। ‘संविधानको आत्मालाई खोसेर राज्यका निकायमा प्रतिनिधित्व विहीन बनाउने काम किमार्थ सम्भव छैन,’उनले चेतावनी दिए।

सत्ताभोगमा रमाएको आरोप खेपेर १८ महिनामा प्रधानमन्त्री पद गुमाउन पुगेका प्रचण्डले सुशासनका लागि गरेका कामले नै दुई दललाई मिलाएको सुनाए। सुन काण्ड, ललिता निवास, नक्कली भुटानी शरणार्थी, बाँसबारी छालाजुत्ता कारखाना प्रकरणले दुई दललाई मिलाएको दाबी समेत प्रचण्डले गरे। ‘त्यही वर्गले दुई दल मिलायो, जनता जाग्नुहोस्, जनताले आफ्नो शक्ति देखाउनुहोस्,उनले भने।

सुशासन कायम गर्ने काममा आफूले हस्तक्षेप नगरेको उनले सुनाए। ‘उपप्रधानमन्त्री भैसकेका व्यक्ति अहिले पनि हिरासतमा छन्। कुनै हस्तक्षेप गरिन्,यसअघि कति देखाएका थियौँ?,उनले भने,’निगरानी गरिरहनेछौँ।’

संविधान संशोधन गर्ने भए जनसङ्ख्याको आधारमा १३ प्रतिशत दलितको प्रतिनिधित्व मात्रै होइन महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्ने प्रस्ताव प्रचण्डले गरे। पुरुष नेताले केही नलछारेको बताए। ‘हामीले के लछारेका छौँ?,’उनले प्रश्न गरे,’उत्पीडित वर्गलाई राष्ट्रिय सभामा लगेर प्रधानमन्त्री बन्नबाट रोक्न खोज्ने हो?’

उनले काँग्रेस र एमालेलाई बिचौलिया र अभिजातको आरोप समेत लगाए। सत्ता छोड्नु पर्दाको पीडा मिश्रित आक्रोशमा प्रचण्डले भने,’भूमिगत र सशस्त्र आन्दोलन होइन, नडराउनुहोला।’

प्रचण्डले आफूतिर तान्ने प्रयास गरे पनि काँग्रेस र एमाले विश्वास गर्ने अवस्थामा थिएनन् र भएनन्। माओवादीसँग रहेको सांसदको सङ्ख्यालाई उनले जादुयी भनेका थिए। काँग्रेस र एमाले मिलेर सरकार बनाउँछन् भन्ने प्रचण्डलाई एक मनमा पनि थिएन। तर, भइदियो। चौथो पटकसम्मको विश्वासको मत लिने प्रस्ताव पेस गर्दाको जस्तो ऊर्जा पाँचौँ पटकमा पीडा र आक्रोशमा परिणत भएको थियो।

बालुवाटारबाट डेरा सर्न काँग्रेसले यसअघि दिएको सुझावलाई ख्यालख्याल सम्झेको पाँचौँ पटक विश्वासको मत लिने प्रस्ताव पेस गर्दै गर्दा प्रचण्डले सम्झिए। विश्वासको मत नपाउने निश्चित भए पनि प्रचण्डले राजीनामा भने दिएनन्।

देशलाई प्रयोगशाला बनाए पछि जनता थाकेका काँग्रेस र एमालेलाई लागेको छ। ठिक मानिसलाई ठिक ठाउँमा राख्न नसकिएको भनेर प्रचण्डलाई प्रतिपक्षमा बस्न सुहाउने नेताको रूपमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अर्थ्याए।

लेखकले अब सदनमा प्रतिपक्ष कमजोर हुन्न भन्ने प्रचण्डको अभिव्यक्तिले दिएको बताए। प्रचण्ड अनुहारमा धुलो बोकेर ऐना पुछेर बसेको उनले सुनाए। ‘लोकतन्त्र कमजोर हुँदैन,’उनले भने,’तर्सिनु पर्दैन।’

अन्त माया खोज्न हिँडेपछि अविश्वास पैदा भएको एमाले सचिव योगेश भट्टराईले स्मरण गराए। पार्टी अध्यक्ष ओलीले संविधानको समीक्षा गर्नका लागि स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने भनेको उनले प्रचण्डलाई बुझाए।

प्रचण्डको अब विद्रोह गर्ने बाटो बन्द भएको उनले बताए। ‘विद्रोह गर्ने बाटो छैन अब। तपाईँलाई पदका लागि भनेको होइन, स्वर्ग जाँदा पनि सँगै लैजाने,’भट्टराईले भने,’छुटेर अन्त जाने ठाउँ छैन। ख्याल गर्नुहोला। नबुझ्ने तपाईँको दोष हो?’

२५८ सांसद उपस्थित प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्ने प्रचण्डको प्रस्तावको पक्षमा ६३ र विपक्षमा १९४ मत पर्‍यो। मत दिन्न भन्नेमा एक मत पर्‍यो। विश्वासको मत नपाएसँगै प्रधानमन्त्री पदबाट पदमुक्त भएका प्रचण्ड शुक्रवार नै बालुवाटारबाट निजी निवास फर्केका छन्। उनी काँग्रेस र एमालेको पालैपालो समर्थन लिएर १८ महिनासम्म प्रधानमन्त्री पदमा बसे।

पाँचौँ पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न नसकेपछि उनी सत्ता छोड्न बाध्य भए। प्रधानमन्त्री बनेपछि पहिलो पटक २७ पुस ०७९ मा २६८ सांसदको मत पाएका प्रचण्डले पटक पटक सत्ता समीकरण फेर्दै पाँचौँ पटकसम्म आइपुग्दा ६३ सांसदको मतमा सीमित भए।

प्रचण्ड सरकार ढलेसँगै प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी पेस भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरे लगत्तै ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्।

ओलीले काँग्रेस, जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएका छन्। नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० गते अपराह्न ५ बजेभित्र दाबी पेस गर्न राष्ट्रपति पौडेलले आह्वान गरेका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.