ओलीले लिए प्रचण्डसँग बदला, २१ जनालाई बनाए मन्त्री

ओलीले लिए प्रचण्डसँग बदला, २१ जनालाई बनाए मन्त्री

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षपछि सत्ताको बागडोर सम्हाल्ने अवसर पाएका छन्। प्रतिनिधि सभाको पहिलो दल नेपाली काँग्रेसको समर्थनमा ओलीले चौथो पटक सत्ताको नेतृत्व पाएका हुन्।

काँग्रेस र माओवादीले संसद् विघटन गर्ने असंवैधानिक निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ असार २०७८ मा परमादेश जारी गरेपछि ओली बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेका थिए।

अहिले ओलीले त्यसबेला विपक्षमा रहेका मध्ये काँग्रेसको साथ पाएका छन् भने काँग्रेससँग मिलेर पदमुक्त गराउने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बदला लिएका छन्।

प्रचण्ड र एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीलाई हटाएर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका थिए। अहिले ओली प्रचण्ड र नेपाललाई बाहिर पारेर देउवाको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओलीले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री बनेका छन्।

देउवाले पार्टी सभापतिमा निर्वाचित गराउन सहयोग गर्ने प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री बनाएर गुण तिरेका छन्। सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रीको जिम्मेवारी पाएका छन्।

एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री बनाएको छ। सिंह र पौडेल पटकपटक मन्त्री बनिसकेका पात्र हुन्। प्रधानमन्त्री ओलीसँगै सिंह र पौडेलले उपप्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्।

१७ असारको मध्यरातमा काँग्रेस र एमालेबीच बालकोटमा भएको सहमति अनुसार सरकारको नेतृत्व ओलीले सुरु गरेका छन्।

ओलीले प्रधानमन्त्री पद सम्हाले पनि दुई दलबीच भएको भनिएको सहमति भने सार्वजनिक भएको छैन।

ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन्। गृहमन्त्रीमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक नियुक्त भएका छन् भने काँग्रेस सभापति देउवा पत्नी आरजु राणाले परराष्ट्र मन्त्रालयको जिम्मा पाएकी छन्।

स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, कानुन मन्त्रीमा अजय चौरसिया, पर्यटन मन्त्री बद्री पाण्डे, ऊर्जा मन्त्रीमा दीपक खड्का, बनमन्त्रीमा ऐनबहादुर शाही, कृषि मन्त्रीमा रामनाथ अधिकारी र युवा तथा खेलकुद मन्त्रीमा तेजुलाल चौधरी नियुक्त भएका छन्।

रक्षामन्त्रीको जिम्मेवारी मानवीर राईले पाएका छन् भने संचारमन्त्रीको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङले पाएका छन्।

शिक्षा मन्त्रीमा विद्या भट्टराई, भौतिक पूर्वाधार मन्त्रीमा देवेन्द्र दाहाल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राजकुमार गुप्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी नियुक्त भएका छन्।

काँग्रेस र एमालेसँगै लोसपा र जसपाका मन्त्रीहरूले पनि सोमबार नै शपथ ग्रहण गरेका छन्। यसअघि श्रम मन्त्रालयमा विवादित छवि बनाएर बाहिरिएका शरदसिंह भण्डारीले ओली नेतृत्वको सरकारमा श्रममन्त्रीको जिम्मा पाएका छन्।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा जसपाबाट नवकिशोर साह सुडी र खानेपानी मन्त्रीमा प्रदीप यादव नियुक्त भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत र नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री नियुक्त भएका छैनन्। संविधान अनुसार मन्त्रिपरिषद् २५ सदस्यीय मात्रै हुनेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.