प्रधानमन्त्री ओलीलाई बधाई थाप्न भ्याई नभई, मोर्चाको बैठकमा उपेन्द्रको कुर्सी खाली

प्रधानमन्त्री ओलीलाई बधाई थाप्न भ्याई नभई, मोर्चाको बैठकमा उपेन्द्रको कुर्सी खाली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई थाप्न भ्याइनभ्याइ भएको छ। आइतबार प्रधानमन्त्री पदमा नियुक्त ओलीले सोमबार शपथ लिए। प्रधानमन्त्री नियुक्त भएको तेस्रो दिन मङ्गलवारसम्म प्रधानमन्त्री ओलीलाई शुभकामना दिनेहरूको लर्को लागेको छ।

भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएका छन्।

नेपालमा नयाँ सरकार बनेसँगै विदेशी राजदूतहरूको देउसी भैलो पनि सुरु भएको छ। भारत, अमेरिका र चिनियाँ राजदूतहरूले नवनियुक्त प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मलाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन्।

मङ्गलवार प्रधानमन्त्री ओलीलाई नेपालका लागि अमेरिकी राजदूत डिन रिचर्ड थम्सनले भेटेर बधाई तथा शुभकामना दिएका छन्। बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेका राजदूत थम्सनले बधाई तथा शुभकामना दिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

सोमबार प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूत छन् सङले भेटेर बधाई दिएका थिए। मङ्गलवार भारतीय राजदूत नवीन श्रीवास्तव मन्त्रिपरिषद्मा दोस्रो वरियतामा रहेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र परराष्ट्रमन्त्रीलाई भेटेर बधाई दिएका छन्।

मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोगका बारेमा छलफल भएको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए। राजदूत श्रीवास्तवले मङ्गलवार नै नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि परराष्ट्र मन्त्रालयमै पुगेर सफल कार्यकालको शुभकामना दिए।

रहरले प्रधानमन्त्री नबनेको जिकिर

ओलीले आफू रहरले प्रधानमन्त्री नबनेको जिकिर गरेका छन्। आफैले समर्थन गरेका पुष्पकमल दाहाल प्रचण्डलाई हटाएर काँग्रेसको समर्थनमा दुई तिहाइको प्रधानमन्त्री बनेका ओली देश बाढी, पहिरो र डुबानको चपेटामा परिरहेका बेला बधाई लिनै व्यस्त देखिएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको टोलीसँग भने सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भीरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि प्रधानमन्त्री नभएको जिकिर गर्दै भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी काम गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

विगतमा पनि आफूले सरकारको नेतृत्व लिँदा अपाङ्गता भएका, वृद्धवृद्धा, कर्मचारीलगायत सबै क्षेत्रको पक्षमा तीव्रताका साथ काम गरेको स्मरण गर्दै यसपटक तीनै अनुभवलाई लिएर अघि बढ्ने उनले बताए।

तत्कालीन नेकपाकालमा आफूलाई प्रधानमन्त्रीबाट पदमुक्त गराएको जस्तो अवस्था अहिले नभएको भन्दै उनले नयाँ सरकार आएपछि सिङ्गै देशमा आशा र भरोसा जगाएको दाबी गरे। तर, सरकार परिवर्तन ठुलो कुरा भने नभएको तर्क ओलीको छ।

मन्त्रिपरिषद्को पहिलो बैठकबाटै सरकारले कामको सुरुवात गरिसकेकाले छिट्टै सकारात्मक परिणाम आउने अपेक्षा प्रधानमन्त्री ओलीको छ। मन्त्रीपरिषद् बैठकमा ओलीले मन्त्रीहरूलाई ६ महिनाभित्र परिणाम देखाउन निर्देशन दिएका थिए।

जनमत गुम्दै गएपछि मिल्न बाध्य

नेपाली काँग्रेस र नेकपा एमाले जनाधार गुमाउँदै गएपछि मिलीजुली सरकार चलाउन बाध्य भएका छन्। गत चुनावमा नयाँ दलको उदयसँगै छटपटाएका काँग्रेस र एमाले मिलेका हुन्।

काँग्रेस नेता डा. मीनेन्द्र रिजालले यो सरकारले देशमा विकासका काम नगर्ने हो भने आगामी निर्वाचन दुवै पार्टीका लागि निकै कठिन हुने चेतावनी दिए। निर्वाचनमा मधेस, सहरी क्षेत्रमा काँग्रेस र एमाले दुवैले आफ्नो बलियो आधार गुमाएको र आगामी दिनमा दुवै दलको राजनीति सहज नहुने देखेको उनले सुनाए।

राजनीतिप्रति जनतामा बढ्दो निराशा चिर्न काँग्रेस र एमालेले यस्तो जोखिम उठाउनुपरेको काँग्रेस नेता रिजालको भनाई छ। यो अवधिमा दुवै दलका नेताले आफ्नो कार्यकाललाई जनताले सम्झने गरी योगदान दिन सक्नुपर्ने उनले सुझाव दिए। आगामी दिनमा पनि काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओली जोखिममा रहेको रिजालले बताए।

काँग्रेस नेता रिजालले अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन र संशोधन गर्न आवश्यक रहेको बताए। उनले समुदाय, पहिचान, महिला, आदिवासी, जनजातिमध्ये पनि अल्पसङ्ख्यकको, मधेसीमध्ये अल्पसङ्ख्यकको प्रतिनिधित्वको बाटो यथावत् राखी एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको सङ्ख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्ने सुनाए।

मोर्चाको बैठक उपेन्द्रको कुर्सी खाली

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारबाट हटेपछि बसेको समाजवादी मोर्चाले काँग्रेस र एमालेको गठबन्धनलाई पश्चगमन भनेको छ। दुई महिना अघि जनता समाजवादी पार्टी नेपाल विभाजन भए यता बस्न नसकेको बैठक राखेर प्रचण्डले समाजवादी मोर्चालाई फेरि सक्रिय बनाएका छन्।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा मङ्गलवार बसेको बैठकले प्रगतिशील विचार राख्ने दलहरूलाई मोर्चामा आबद्ध गराउन पहल गराउने निर्णय गरेको छ। बैठकले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण गर्न भन्दै समीक्षा कार्यदल गठन गरेको छ।

कार्यदलमा प्रकाण्ड, प्रमेश हमाल, देव गुरुङ र गङ्गा नारायण श्रेष्ठ छन्। कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाउने छ। मोर्चाको नेतृत्व हाल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले गरेका छन्।

बैठकमा जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने उपस्थित भएनन्। पार्टी विभाजन हुनुमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको हात रहेको भन्दै यादव असन्तुष्ट छन्। यादव नभए पनि उनको कुर्सी भने बैठकमा राखेर खाली छोडिएको छ।

मोर्चामा जसपाबाट विभाजित अशोक राई नेतृत्वको जसपा भने आबद्ध छैन। बैठकमा प्रचण्डसहित माओवादी उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलगायतका नेताहरूको उपस्थिति थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.