१८ वर्ष मुनिकालाई हर्मोन लिन परिवारको स्वीकृति अनिवार्य

१८ वर्ष मुनिकालाई हर्मोन लिन परिवारको स्वीकृति अनिवार्य

काठमाडौं : परिवार नियोजन सङ्घले हर्मोनल तथा लेजर थेरापी क्लिनिक सञ्चालन गरेको दुई वर्ष पुरा भएको छ। सन् २०२२ जुलाई देखि सुरु भएको क्लिनिकमा हालसम्म १५१ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिले सेवा लिएका छन्।

सन् २०२३ जुलाईसम्म ११७ जना तेस्रो लिङ्गी महिला (ट्रान्स वुमन) र १६ जना तेस्रो लिङ्गी पुरुष (ट्रान्स मेन) ले हर्मोनल तथा लेजर थेरापी क्लिनिकबाट सेवा लिएका क्लिनिककी परामर्शदाता स्वस्तिका लामाले जानकारी दिइन।

क्लिनिकबाट ६३ जना महिला र १२ जना पुरुषले पनि सेवा लिएका छन्। १०५ जनाले इन्डोक्राइनोलोजी सेवा लिएका छन् भने १२३ जनाले ड्रमाट्रोनोलोजी र १०५ जनाले साइक्रेटिक सेवा लिएका छन्।

सन् २०२३ देखि ०२४ जुलाई १७ सम्म १६ जना ट्रान्स वुमन, २ जना ट्रान्स मेन, २१ जना फिमेल र ४ जना पुरुषले सेवा लिएका छन्। तेस्रो लिङ्गी महिला र तेस्रो लिङ्गी पुरुषका लागि चिकित्सकको निगरानीमा हर्मोनल थेरापी क्लिनिक सञ्चालन भएको सङ्घले जनाएको छ।

क्लिनिकमा हर्मोनल थेरापीका लागि मात्रै नभएर अन्य स्वास्थ्य समस्या भएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समेत परामर्शका लागि आउने गरेको लामाले बताइन। ‘मधुमेह, प्रेसर, कम्मर दुखेको, ढाड दुखेको समस्या भएका समुदायका व्यक्तिहरू पनि आउने गर्नुहुन्छ,’लामाले पहिचानसँग भनिन्,’चिकित्सकले आवश्यक परामर्श दिनुहुन्छ।’

उनले हर्मोन लिन कसैलाई जबरजस्ती नगरिएको बताइन। ‘फोर्स गर्दैनौ, डाक्टरले चेकजाँच गरेर सिफारिस गरेपछि मात्र खान हुने/नहुने भन्नुहुन्छ,’लामाले भनिन्।

१८ वर्ष भन्दा कम उमेरका समुदायका व्यक्तिहरूलाई हर्मोनल क्लिनिकको सेवा लिन परिवारको स्वीकृति अनिवार्य गरिएको लामाले बताइन। ‘१८ वर्ष माथिकालाई भने परिवारको स्वीकृति चाहिँदैन,’उनले भनिन्।

परिवार नियोजन सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि अन्य आवश्यक परामर्श पनि दिने गरेको जनाएको छ। सेवा लिन आउने समुदायका व्यक्तिलाई विभेद नहुने सङ्घले बताएको छ।

सम्बन्धित समाचार

तेस्रो लिङ्गीहरूको प्रश्न : हर्मोन थेरापी र सेक्सचेन्ज नगर्ने तेस्रो लिङ्गी होइनन्?

हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.