शान्ति सेना र निकुञ्ज सुरक्षामा कति सैनिकले गुमाए ज्यान?

शान्ति सेना र निकुञ्ज सुरक्षामा कति सैनिकले गुमाए ज्यान?

फास्ट ट्र्याक निर्माणमा अझै ३९४ जग्गा अधिग्रहण हुन बाँकी

काठमाडौं : शान्ति स्थापनाको क्रममा हालसम्म विभिन्न देशमा खटिएका ७३ जना नेपाली शान्ति सैनिकको मृत्यु भएको छ। ६८ जना नेपाली शान्ति सैनिक घाइते भएका छन्।

विश्वका ११ वटा शान्ति मिसनमा हाल ५ हजार ९१६ जना शान्ति सैनिक तैनाथ रहेको शान्ति कार्य निर्देशक सहायक रथी प्रेमबहादुर पुनले जानकारी दिए।

सैनिक मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म २ हजार ७०७ जना नेपाली महिला सैनिकहरूले शान्ति सैनिकको रूपमा कार्य सम्पन्न गरिसकेको उनले जानकारी दिए।

हाल ६७४ नेपाली महिला शान्ति सैनिकहरू संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनहरूमा सहभागी भएका छन्। शान्ति सेनामा महिला सैनिकहरूको योगदानमा सङ्ख्यात्मक हिसाबले नेपाल पहिलो स्थानमा रहेको सहायक रथी पुनले बताए।

हालसम्म १ लाख ५२ हजार ८१८ जना नेपाली शान्ति सैनिकहरूले संसारभरका विभिन्न ४४ वटा शान्ति मिसनहरूमा सहभागिता जनाएका छन्। नेपाली सेनाले विगत एक वर्ष १५८ वटा शङ्कास्पद विस्फोटक पदार्थ नष्ट गरेको पनि जनाएको छ।

विपद् व्यवस्थापनका लागि सेनाले पोखरा, सुर्खेत, इटहरीमा १/१ वटा र काठमाडौँमा ३ वटा हेलिकप्टर तयारी हालतमा तैनाथ गरिएको युद्ध कार्य निर्देशक रवीन्द्र खत्रीले जानकारी दिए।

आकस्मिक परिचालनका लागि १४ हजार १२६ जना फौज देशका विभिन्न भागमा उद्धार कार्यमा सक्रिय रहेको उनले बताए। राष्ट्रिय निकुञ्ज सुरक्षाको लागि खटिँदा हालसम्म ११६ जना सैनिकको मृत्यु भएको छ।

फास्ट ट्र्याकमा ३९४ जग्गा अधिग्रहण हुन बाँकी

नेपाली सेनाले काठमाडौं—तराई/मधेस द्रुतमार्ग २०८३ चैत भित्र सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ। द्रुतमार्गको हालसम्म भौतिक प्रगति ३५.३८ प्रतिशत तथा वित्तीय प्रगति ३६.६६ प्रतिशत रहेको सेनाले जनाएको छ।

द्रुतमार्गका ६ वटा सुरुङ्गहरु मध्ये ३ वटा निर्माणाधीन रहेका छन्। अन्य ३ वटा सुरुङ्गहरुको डिजाइन तथा पूर्व तयारीका कार्य भइरहेको नेपाली सेनाले जनाएको छ। निजगढ काठमाडौं तर्फको महादेवटार सुरुङ्गको ३.३२२ किलोमिटर मध्ये हालसम्म २.०२९ किलोमिटर खन्ने कार्य सकिएको आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिए।

काठमाडौं निजगढ तर्फको जम्मा लम्बाई ३.३८६ किलोमिटर सुरुङ्गको २.२८८ किलोमिटर खन्ने कार्य सकिएको छ। अब करिब १ किलोमिटर खन्न बाँकी रहेको जनाउँदै सेनाले सुरुङ्ग खन्ने कार्य यो वर्ष भित्रै सम्पन्न गर्ने गरी रात्रिकालीन समयमा समेत काम भइरहेको जनाएको छ।

द्रुतमार्ग अन्तर्गत रहेका ८९ स्थानका पुलहरू मध्ये हालसम्म ८५ स्थानका पुलहरूको ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका छन्। ४ स्थानका पुलहरू जग्गा अधिग्रहण सम्बन्धी समस्या रहेको खोकना खण्डमा रहेको सेनाले जनाएको छ।

सेनाले द्रुतमार्गमा पर्ने व्यक्तिगत ३९४ रोपनी जग्गा अधिग्रहण बाँकी रहेको जनाएको छ। खोकना बुङ्गमती खण्डको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी २०६ रोपनी र मूल्य निर्धारण हुन बाँकी जग्गा १६५ रोपनी रहेको आयोजना प्रमुख पोखरेलले बताए।

मकवानपुर जिल्लामा १६ रोपनी र काठमाडौं जिल्लामा ४ रोपनी जग्गा अधिग्रहण बाँकी रहेको सेनाले जनाएको छ। द्रुतमार्गमा सेनाले ३१ हजार ७४३ वटा रुख कटान गरेको छ। बदलामा ७ लाख ५ हजार ५५२ वटा रुखहरू रोप्ने कार्य सम्पन्न गरिएको सेनाले जनाएको छ।

विभिन्न स्थानमा १ हजार ४११.५४ किलोमिटर ट्र्याक खोल्ने कार्य सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको सेनाले जनाएको छ।

कर्णाली करिडोरको १६ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको विकास निर्माण निर्देशनालयका निमित्त निर्देशक धर्मेन्द्र कुमार झाले जानकारी दिए।

राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला जिल्लाको लालीबगर दुल्लीकुन्ना खण्डको ११ किलोमिटर निर्माण सकेर सदरमुकाममा सिमिकोट सडक सञ्जालमा जोडिएको सेनाले जनाएको छ। दार्चुला टिंकर सडकको ७९ किलोमिटर मध्ये हालसम्म १३.४ किलोमिटर ट्र्याक खोल्ने कार्य सकिएको छ।

कल्याणकारी कोषको जोखिम रकम ५ करोड

नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख रुपैयाँ मौज्दात रहेको जनाएको छ। कोषले ६ अर्ब ९७ करोड ६ लाख रुपैयाँ लगानी गरेको जनाएको छ।

लगानी समेत गरी कोषमा २०८१ असार मसान्तसम्म ८२ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ मौज्दात रहेको सैनिक कल्याणकारी निर्देशनालयका सहायक रथी किरण केसीले जानकारी दिए।

कोषले जोखिममा रहेको निक्षेप घटाएको छ। ८५ करोडको हाराहारीमा रहेको जोखिम घट्न गई ५ करोड २ लाख ६७ हजार रुपैयाँमा कायम भएको सहायक रथी केसीले जानकारी दिए।

कोषमा हाल बेरुजु फर्छ्योट हुन बाँकी रकम ४ करोड ७७ लाख ७४ हजार रुपैयाँ रहेको जानकारी उनले दिए। सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहायक रथी केसीले हालसम्म स्वास्थ्य बिमा सुविधाबाट १ हजार ४२६ जना लाभान्वित भएका बताए।

उनीहरू ३५ करोड ६४ लाख ६० हजार रुपैयाँ पाएका छन्। कोषबाट १ अर्ब ६० करोड ३३ लाख रुपैयाँ सहुलियतपूर्ण शैक्षिक कर्जा प्रदान गरिएको छ।
सेनाले ३.३२ प्रतिशत ब्याजदरमा १ हजार ८० जनालाई २ अर्ब ४ करोड ५ लाख सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराएको छ।

कोषले लघुवित्त कर्जा तथा सुलभ घर कर्जा कार्यक्रमबाट २०८१ जेठ मसान्तसम्म ३३ हजार १४७ जनालाई ७ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ प्रवाह गरेको जनाएको छ।

सेनाले वीरगति प्राप्त सैनिकका एक जना छोरीको विवाहमा ५० हजार रुपैयाँ वैवाहिक अनुदान दिने गरेको जनाएको छ। हालसम्म ६२ जनालाई ३१ लाख रुपैयाँ बराबरको वैवाहिक अनुदान प्रदान गरिएको सहायक रथी केसीले जानकारी दिए।

सेनाले विस्फोटक पदार्थमा आत्मनिर्भर रहेको पनि बताएको छ। विस्फोटक पदार्थमा आत्मनिर्भर हुनुका सार्थ आयात गर्न लाग्ने विदेशी मुद्रा समेत सञ्चित हुन गरेको केसीले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.