दोलखाको भीमेश्वरमा पसिना, अनिष्ट हुने जनविश्वास

दोलखाको भीमेश्वरमा पसिना, अनिष्ट हुने जनविश्वास

काठमाडौं : दोलखाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिरको शिलामा २१ औँ पटक शनिवार पसिना आएको छ। शिलाको बायाँ भागतर्फ पसिना आएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए।

बायाँ भागतर्फ पसिना आउँदा जनतालाई दुख कष्ट हुने र दायाँ भाग तर्फ पसिना आएमा राज नेतालाई अनिष्ट हुने जनविश्वास रहेको पोखरेलले बताए।

शिलामा पसिना आएपछि ठुलो सङ्ख्यामा स्थानीय भक्तजन भेला भए। उनीहरूले ठुलो आवाजमा घण्टा, नगरा बजाए भने मन्दिरका पुजारी तथा समितिका मानिसले शिलाको पसिना कपासले पुछे।

पसिना पुछिएको कपास महाप्रसादको रूपमा ग्रहण गरिन्छ। शिलामा पसिना पुछेको कपास लिने मन्दिरमा ठुलो भीड लाग्यो। पसिना पुछेको कपास साथमा राख्दा रोग व्याधि नलाग्ने, यात्रा सफल हुने, मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।

परम्परा अनुसार तान्त्रिक विधिबाट शिलामा पूजासमेत गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए। शनिवार दिउँसो १ बजेर ४७ मिनेटबाट पसिना आउन सुरु भएर ३ बजेर ५१ मिनेटमा रोकिएको थियो। पछिल्लो पटक २०७८ वैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको थियो।

शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने विश्वास रहेको छ। शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमा पूजा गर्ने प्रचलन समेत रहेको छ।

क्षमा पूजाका लागि राष्ट्रपतिबाट सामग्री पठाउने प्रचलन रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। राष्ट्रपति कार्यालयबाट भेटी प्रसाद प्राप्त भएपछि क्षमा पूजा गरिने उनले बताए।

भीमेश्वरको शिलामा पसिना आएमा परिवर्तनको सङ्केतका रूपमा लिने जनविश्वास रहेको छ।

विपद्मा १२८ जनाको मृत्यु

नेपालमा मनसुनपछि बाढी पहिरोलगायत विपद्मा परेर १२८ जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखि अहिलेसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी १२८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। १४३ जना घाइते भएका छन्। विपद्का घटनाबाट ३ हजार ७७९ घर परिवार विस्थापित भएका छन्।

सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीमा आजदेखि भारतीय उद्धार टोली पनि खटिएको छ। नेपाल सरकारको अनुरोधमा शनिवार दिउँसो चितवन आइपुगेको भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) का प्राविधिक टोली पनि बेपत्ताहरूको खोजीमा जुटेको हो।

भारतबाट सोनार क्यामरा र चार जना गोताखोर सहित ११ जनाको टोली आइपुगेको हो। उनीहरू सात दिन नेपालमा रहेर खोज तथा उद्धारमा खटिने चितवन प्रशासनले जनाएको छ। एक सातादेखि त्रिशूलीमा बेपत्ता बस अझै भेटिएका छैनन्।

बससँगै हराइरहेका ६२ यात्रुमध्ये हालसम्म २५ जनाको शव भेटिएको छ। तीमध्ये एञ्जल बसका मालिकसहित १७ जनाको सनाखत भएको छ भने अरू शवको पहिचान हुन सकेको छैन। ३७ जना अझै बेपत्ता छन्। दुवै बसमा गरी ६५ यात्रु रहेकामा ३ जना पौडिएर बाँचेका थिए।

मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुसार दुई लाखका दरले राहत वितरणका लागि रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

अहिलेसम्म एक करोड ३८ लाख सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ। कतिपय जिल्लाले भने प्रक्रिया पुर्‍याएर पीडित परिवारलाई राहत वितरण पनि गरिसकेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.