मरणासन्न हुने गरी कुटपिट गर्ने प्रहरीसँग मिलापत्र, पीडितले दिइन आयोगमा उजुरी

मरणासन्न हुने गरी कुटपिट गर्ने प्रहरीसँग मिलापत्र, पीडितले दिइन आयोगमा उजुरी

काठमाडौं : शुक्रवारको बिहान पानी परिरहेको थियो, ठमेल संचयकोष अगाडि ओत लागेर बसिरहेकी थिइन रोशनी लामा। पानी केही कम भए पछि उनी सडक पार गरेर जाँदै थिइन।

सुरक्षाका लागि खटिएका प्रहरीले सडक पार गरेकी उनलाई बोलाए। उनी नजिक गइन। तर, एक्कासि उनीमाथि रक्षक बनेर उभिएका एक प्रहरी जवानले भक्षकको शैलीमा निर्घात कुटपिट गरे।

उनी चिच्याइन, कराइन। सहयोग मागिन। वरपरबाट हेरे मात्रै। प्रहरीको लाठी प्रहारले उनको शरीरभरि नीलडाम, चोटपटक लाग्यो। रोशनीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने प्रहरी जवान हुन् सन्तोष ठकुरी। ठकुरीको निर्घात कुटपिटबाट हिँड्न समेत नसक्ने अवस्थामा पुगेकी उनलाई अस्पताल लगे साथीहरूले।

कुटपिटबाट लागेको बाहिरी घाउको त उनले उपचार पाइन, तर मानसिक रूपमा परेको पीडा झन् बढ्दै गयो। रोशनी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक हुन्। उनले न्यायका लागि नील हिरा समाजसँग गुहार मागिन।

कुटपिट गर्ने प्रहरीलाई कारबाही गरी न्याय दिलाउने आशा दिए ब्लु डायमन्ड सोसाइटीको नेतृत्वले। रोशनीलाई लिएर समाजको नेतृत्व पुग्यो दरबारमार्ग प्रहरी कार्यालय। उनी शारीरिकसँगै मानसिक पीडामा थिइन।

कुटपिट गर्ने प्रहरी जवान ठकुरीले माफी मागे उनीसँग। उपचारमा लागेको ३ हजार ५ सय रुपैयाँ पनि दिए। ब्लु डायमन्ड सोसाइटीले ‘भोलि पनि प्रहरीको साथ चाहिन्छ, मुद्दा मामिला नगरौँ, मिलापत्र गरौँ‘ भनेर रोशनीलाई बाध्य बनाए।

यो पनि : तेस्रो लिंगी पुन माथि कुटपिट, गल्ती सुधार गर्ने प्रहरीको प्रतिवद्धता

रोशनी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई बाटोमा हिँड्दा कुटपिट हुने गरेको यो पहिलो पटक नभएकाले न्यायका लागि उजुरी गर्न भनिरहेकी थिइन। तर, सोसाइटीले रोशनीलाई जबरजस्ती मिलापत्र गराउन लगायो। ‘न्याय पाइन्छ भनेर संस्थालाई गुहार मागेकी थिए,’राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी गर्न पुगेकी रोशनीले पहिचानसँग भनिन्,’प्रहरीले माफी माग्यो,क्षतिपूर्ति दियो भनेर जबरजस्ती मिलापत्रमा हस्ताक्षर गर्न पो लगाए।’

मिलापत्र गरेको कागजसमेत पाइनन् उनले। उनले कुटपिटबाट शरीरमा लागेको घाउचोटको तस्बिर सहित मानवअधिकार आयोगमा उजुरी दिएकी छन्, ‘न्याय पाउँ’ भनेर। ‘न्याय पाउँछु होला नि,’उनले आयोगका अधिकारीसँग जिज्ञासा पनि राखिन्। उनी यसअघि पनि प्रहरीको कुटपिटबाट घाइते भएकी थिइन। उनले त्यतिबेला पनि आयोगमा उजुरी दिएकी थिइन।

सडकमा हिँड्दा प्राय समुदायका सदस्यले प्रहरीको कुटाई खानु पर्ने अवस्था रहेको उनले बताइन। ‘हामी पनि मान्छे हौँ,अरू सरह हाम्रो पनि समान अधिकार छ,हामीलाई देख्ने बित्तिकै लखेट्ने, कुटपिट गर्ने अमानवीय व्यवहार किन हुन्छ?’उनले प्रश्न गर्दै भनिन्,’ब्लु डायमन्ड सोसाइटीले न्याय दिलाइदेला भनेको त उल्टै मिलापत्र गराएर पीडामाथि पीडा थप्ने काम गरिदियो। मिलापत्र गर्ने भए किन संस्थासँग सहयोग माग्नु पर्थ्यो?’

रोशनीले कुटपिट भएको तेस्रो दिन आइतबार मानवअधिकार आयोगमा कुटपिट गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै उजुरी दिएकी छन्। मायाको संसार र मायाको पहिचान नेपालले रोशनीलाई न्याय दिन आयोग समक्ष माग पनि गरेको छ। मायाको संसारकी अध्यक्ष सुनिता लामा र मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले रोशनीको न्यायका लागि ऐक्यबद्धता जनाए।

आयोगले रोशनीमाथि कुटपिट भएको घटनाबारे प्रहरीलाई पत्राचार गर्ने जनाएको छ। ‘हामी प्रहरीलाई कुटपिटको घटनाबारे पत्राचार गर्छौ,जवाफ कस्तो आउँछ?’आयोगका अधिकारीले भने।

सम्बन्धित समाचार :

यौनिक अल्पसंख्यक माथि मानवअधिकार उल्लघंन, “आयोग उजुरी लिन्छ, सुनुवाई गर्दैन”

कपाल मुण्डन गरेर कुटपिट

कुटपिटबाट घाइते भएका तेस्रो लिंगीको स्थानीयले उपचार गर्ने

तेस्रो लिंगीमाथि कुटपिट गर्नेलाई कारवाही गर्न प्रहरीमा उजुरी

कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै मानवअधिकार आयोगमा उजुरी

गौशालामा कार्यरत प्रहरी विरुद्ध मानवअधिकार आयोगमा उजुरी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.