लुम्बिनीको मुख्यमन्त्री फेरबदलले बागमतीमा झस्का

लुम्बिनीको मुख्यमन्त्री फेरबदलले बागमतीमा झस्का

काठमाडौं : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एकाएक फेरबदल आएको छ। नेकपा एमाले संसदीय दलको नेताका रूपमा लीला गिरीको नाम चर्चामा आए पनि अन्तिम समयमा उपनेता चेतनारायण आचार्यको इन्ट्री भएको छ।

आचार्य मुख्यमन्त्रीमा नियुक्त भएपछि गिरीले चित्त दुखाएका छन्। पार्टीले गरेको निर्णयलाई मानेर अघि बढ्ने उनले बताए। तर, यो निर्णयले पार्टीमा राम्रो सन्देश भने नजाने उनले सुनाए। ‘चित्त बुझाउनु बाहेक अरू उपाय छैन,’उनले भने,‘नवनियुक्त मुख्यमन्त्रीलाई मेरो पुरै समर्थन रहन्छ,पार्टीको अनुशासित कार्यकर्ता भएको हुनाले यो निर्णयलाई मानेर जानुपर्छ।’

एमाले संसदीय दलका नेता गिरी भए पनि पार्टी भित्रको विवादका कारण अन्तिम समयमा केन्द्रबाट आएको निर्देशनपछि आचार्य मुख्यमन्त्री बनेका हुन्। प्रदेश प्रमुख अमिक शेरचनले धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरे।

एमालेका २९ र काँग्रेसका २७ गरी ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख शेरचन समक्ष दाबी पेस गरेका आचार्य यसअघि आर्थिक मामिला तथा योजना मन्त्री थिए। एमालेभित्रको शक्ति सङ्घर्ष र गुट राजनीतिले गिरी मुख्यमन्त्री बन्न पाएनन्।

पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलको टकराबको चेपुवामा परे गिरी। एमालेको तर्फबाट गिरीलाई मुख्यमन्त्री बनाउने पत्र तयार हुँदै गर्दा केन्द्रको निर्देशनमा उनको नाममा ’टिपेक्स’ लगाएर आचार्यको नाम लेखिएको एमाले लुम्बिनी प्रदेशले जनाएको छ।

गिरी वर्तमान अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेल निकट र आचार्य पार्टी महासचिव पोखरेल निकट मानिन्छन्। महासचिव पोखरेलले फोन गरेपछि गिरीको नाममा ’टिपेक्स’ लगाएर आचार्यको नाम लेखिएको हो।

बागमतीमा बहादुर सिंह नै मुख्यमन्त्री बन्ने

बागमती प्रदेशमा भने मङ्गलवार मात्रै काँग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको छ। एमालेको समर्थनमा बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले मुख्यमन्त्री पदमा सोमबार दाबी पेस गर्ने कार्यक्रम भए पनि एमाले दलका नेता जगन्नाथ थपलिया काठमाडौं आएपछि मङ्गलवार मात्रै दाबी पेस हुने भएको हो।

थपलियालाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ बोलाएपछि दाबी पेस हुन नसकेको काँग्रेस संसदीय दलका नेता लामाले जानकारी दिए। मङ्गलवार बिहान ११ बजे आफूले मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताउँदै उनले आफू नै मुख्यमन्त्री बन्ने बताए।

काँग्रेस प्रदेश सांसद इन्द्र बानियाले पनि बागमती प्रदेशको मुख्यमन्त्री पद काँग्रेसकै भागमा परेकाले अरूको विकल्प हुन नसक्ने बताए। लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका उपनेता मुख्यमन्त्री नियुक्त भए पनि बागमती प्रदेशमा काँग्रेस संसदीय दलकै नेता मुख्यमन्त्री बन्ने उनले बताए।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जमरकट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।

कर्णालीबाट बाहिरियो माओवादी

कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। प्रदेश सरकारमा सहभागी माओवादीका चार मन्त्रीले सोमबार पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन्।

एमाले नेता यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा माओवादीबाट रहेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले राजीनामा घोषणा गर्दै मुख्यमन्त्री कँडेल समक्ष राजीनामा पत्र बुझाएका हुन्।

केन्द्रमा दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेबीच नयाँ समीकरणको सरकार बनेसँगै माओवादी कर्णाली सरकारबाट बाहिरिएको हो।

नयाँ समीकरणमा पनि मुख्यमन्त्री कँडेल नेतृत्वकै सरकारले निरन्तरता पाउने भएकोले अब माओवादीले छोडेका मन्त्रालयहरू लिएर काँग्रेस सरकारमा सहभागी हुनेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.