नुवाकोटको नयाँ पर्यटन गन्तव्य ‘सुइरेचौर’

नुवाकोटको नयाँ पर्यटन गन्तव्य ‘सुइरेचौर’

निकुञ्जको स्वीकृति पर्खँदा सडक स्तरोन्नतिमा अवरोध

गुर्जे भन्ज्याङ : नुवाकोट जिल्लाको सूर्यचौर पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ। शिवपुरी–७ स्थित ‘सुइरेचौर’ काठमाडौँलगायत बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।

समुद्र सतहदेखि दुई हजार मिटर उचाइमा रहेको सूर्यचौरबाट काठमाडौं र नुवाकोटका विभिन्न रमणीय फाँट तथा गणेश, मनास्लु र अन्नपूर्ण हिमाल देख्न सकिन्छ। काठमाडौँको सामाखुसी चोकदेखि १३ किलोमिटर र बालाजु बाइपासदेखि १४ किलोमिटर तथा नुवाकोटको बट्टारदेखि ३४ किलोमिटरको सडक यात्रा एवं पर्यटकीय गन्तव्य ककनीबाट चार घण्टाको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ।

पछिल्लो केही वर्षदेखि यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेपछि पर्यटन व्यवसायीले लगानीसमेत बढाउन थालेका छन्। यसअघि युवायुवती, साथीभाइदेखि परिवारसम्मका लागि वनभोज र आरामका लागि त्यहाँको खाली चौरको उपयोग हुने गरेको थियो।

पछिल्लो समय भने यहाँ नयाँ होटेल तथा रेस्टुराँ सञ्चालनमा आएका छन्। पाँच÷छ पर्यटन व्यवसायी अहिले जग्गा खरिद गरी होटेल तथा खाजाघर निर्माणमा जुटिरहेका छन्।

पर्यटकीय केन्द्र बन्दै गरेको ‘सुइरेचौर’ पुग्ने सडक गुर्जे भन्ज्याङबाट एक लेनको जीर्णावस्थामा छ। काठमाडौँ र नुवाकोटबाट गुर्जे भन्ज्याङसम्म दुई लेनको छहरे–टोखा सडकमार्ग रहेकाले आवतजावतमा सहज छ।

गुर्जेदेखि सुइरेचौरसम्मको डेढ किमी सडक वर्षात्मा पैदल र सवारी आवतजावत गर्न कठिन हुने गरेको स्थानीयवासी बताउँछन्। गुर्जेदेखि सुइरेचौर जाने सडक शिवपुरी निकुञ्जभित्र पर्ने भएकाले निकुञ्ज कार्यालयको स्वीकृतिबेगर केही गर्न नपाइने कानुनी उल्झनका कारण सडकमा नाली बनाउन, ठाउँ ठाउँमा टेवा पर्खाल लगाउन र केही ठाउँमा मोड सुधार गर्न पालिकाले बजेट छुट्टाए पनि काम गर्न नसकेको स्थानीय बासिन्दा बताउँछन्।

निकुञ्जले बाटो स्तरोन्नतिका लागि स्वीकृति दिएर उदारता देखाएमा सुइरेचौर केही वर्षमै पर्यटकीय केन्द्र बन्ने विश्वास गर्न सकिन्छ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, पर्यटन व्यवसायी राजन सिम्खडा, जेबी सिंह, हेमराज बराल र कृष्ण घिमिरेलगायतको समूहले सात करोड रुपैयाँभन्दा बढी लगानीमा ‘सुइरेचौर नेचर रिट्रिट’ सञ्चालनमा ल्याएका छन्। सत्ताइस रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको रिसोर्टमा हाल १० डिलक्स कोठा, चार डिलक्स ‘ग्ल्याम्पिङ टेन्ट’ र पिङ निर्माण गरिएको छ।

कुल ३० करोड रुपैयाँ लगानीमा बन्न लागेको उक्त रिसोर्टभित्र पौडी पोखरी र सभाकक्षसहित थप डिलक्स तथा भिला निर्माण हुने सञ्चालक सिम्खडा बताउँछन्। जिपलाइन, हाइकिङ र बाइकिङको उत्कृष्ट गन्तव्यका रूपमा पनि यहाँको विकास हुँदै गएको छ। यहाँ प्याराग्लाइडिङ सञ्चालनका लागि अध्ययन भइसकेको तथा जिपलाइन दर्ताको कामसमेत सम्पन्न भइसकेको छ।

पत्रकार–सञ्चारकर्मीको संस्था सम्पादक समाज नेपालले गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रसमेत खोलेर यस क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्‍याइरहेको छ। समाजले पत्रकारका लागि आवासीय तालिम दिलाउन आवश्यक भौतिक संरचना बनाएको छ। गुर्जे भन्ज्याङबाट सुइरेचौर जाने छोटो दूरीको सडक स्तरोन्नति नहुँदा वर्षात्मा सवारी साधन आवतजावत गर्न कठिनाइ भइरहेको गुनासो स्थानीयवासीले गरेका छन्।

सो स्थानलाई देवाधिदेव शिवको क्रिडास्थलका रूपमा लिने गरिएको तथा ऋषिमहर्षि र तपस्वीले तपस्या गर्ने गरेको किंवदन्ती छ। त्यसै कारण यस क्षेत्रलाई शिवपुरी भन्ने गरिएको छ।

शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको यहाँको एक गाउँपालिकाको नामसमेत शिवपुरी राखिएको छ। गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया सो क्षेत्रको विकासका लागि कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको बताउँछन्। “शिवपुरीभित्र रहेका प्राकृतिक सम्पदाका साथै यहाँभित्रका झरना, मठमन्दिर संरक्षणका लागि गाउँपालिका जुटेको छ”, उनले भने, “लौके झरना संरक्षण र झरनाको फेदमा पोखरी निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिसकेका छौँ।”

शिवपुरीभित्रका पर्यटकीयस्थल संरक्षणका लागि पदमार्ग, विश्रामस्थल, प्रचारप्रसारलगायत कामलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष थपलियाले बताए। उनका अनुसार पर्यटन प्रवर्द्धनका लागि शिवपुरीभित्रका विभिन्न गाउँमा घरबास पर्यटन कार्यक्रम सञ्चालन गर्न तालिमसमेत सञ्चालन गरिएको छ।

यहाँभित्र रहेको थान्से भूमे मन्दिर प्रचारप्रसार तथा पर्यटन उद्यानसमेत निर्माण भइरहेको छ। “शिवपुरीको पर्यटन विकासका लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग पनि समन्वय गरिरहेको छ”,अध्यक्ष थपलियाले भने।

बागमती प्रदेश सरकारले दुप्चेश्वर–२ र ४, शिवपुरी–७ तथा ककनी–२ र ५ वडालाई समावेश गरी ककनी–सुइरेचौर–चिसापानी–कुटुङ्साङ जोडेर पदमार्ग निर्माण गर्ने योजना बनाइरहेको जनाइएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.