"/>

अजिमा एन्ड सिक्स जेण्डर्स : पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरूबीचको जटिल सम्बन्ध उजागर

अजिमा एन्ड सिक्स जेण्डर्स : पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरूबीचको जटिल सम्बन्ध उजागर

काठमाडौं : अजिमा एन्ड सिक्स जेण्डर्स वृत्तचित्र प्रिमियर भएको छ। एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले युरोपियन युनियनको आर्थिक सहयोगमा निर्माण गरेको १ घण्टा २८ मिनेट अवधिको वृत्तचित्र प्रिमियर भएको हो।

काठमाडौँको विश्वज्योति सिनेमा हलमा प्रिमियर भएको वृत्तचित्रले मातृसत्तात्मक इतिहास, अजिमा देवीहरू, पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरू बीचको जटिल सम्बन्धलाई उजागर गरेको छ।

महिला, पुरुष बाहेकका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले मातृप्रधान समाजमा मान्यता र सम्मान पाएको वृत्तचित्रमा देखाइएको छ। लैङ्गिकता र यौनिकताबारे समाजमा रहेको भ्रम अन्त्य गर्ने प्रयास वृत्तचित्रले गरेको छ।

वृत्तचित्रले नबुझेको, नसोचिएको इतिहास अगाडि ल्याएको छ। कन्भिन्सिङ रूपमा सांस्कृतिक पाटोलाई उठाएको छ। वृत्तचित्र हेरेपछि राष्ट्रिय सभाकी पूर्वसदस्य विमला राई पौड्यालले आफू एक्साइटेड भएको बताइन। ‘यो खालको हेरिटेज आफैँले थाहा पाएका रैनछौ, आफ्ना सन्ततीहरुलाई के दिन्थ्यौ होला,’उनले भनिन्,’हामीले राजनीतिक इतिहास मात्र पढ्यौ, सांस्कृतिक इतिहास पढेनौ।’

मातृसत्तामा तेस्रो लिङ्गीको पहिचान थियो। लिङ्ग भनेको प्राइभेट कुरा पनि थिएन। ‘तेस्रो लिङ्गी प्राकृतिक हुन्छन् भन्ने ठाउँबाट यो ठाउँमा आएका रहेछौ,’उनले भनिन्,’तेस्रो लिङ्गी भनेको अप्राकृतिक हो भन्ने भाष्यमा आएका रहेछौ। अब यो भाष्यलाई परिवर्तन गरेर अगाडि लैजान्छौ भन्ने ठुलो सांस्कृतिक लडाई हो।’

यौनिकताको पहिचान खुल्ने बित्तिकै वर्ग क्रियट भएको उनले बताइन। वृत्तचित्रले सांस्कृतिक रूपमा प्रहार गर्न खोजेको उनले बताइन। वृत्तचित्रमा यौनिकता प्राकृतिक कुरा हो भनेर मूर्तिहरूले स्थापित गरेको देखाइएको छ।

राजनीतिक विश्लेषक विश्वभक्त दुलाल (आहुती)ले मातृसत्ता भएकै समाजलाई पितृसत्ता भनिएको टिप्पणी गरे। ‘पितृसत्ता भएकाहरू आएर मातृसत्ता भएको ठाउँलाई ढालेको भन्ने होइन। मातृप्रधानताको कुरा हो,’उनले भने,मातृसत्ता नभएर मातृ प्रधानता भएको समाज हो।’

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मातृप्रधान समाजमा सानदार ढङ्गले स्थापित रहेको देखाउनु वृत्तचित्रको मुख्य उद्देश्य रहेको उनले बताए। उनले भने,’महिला, पुरुषको मात्रै होइन, अहिलेको भाषामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको मान्यता मातृप्रधानता समाजमा सानदार ढङ्गले स्थापित थियो भनेर देखाउनु यो वृत्तचित्रको मूल चिज हो र त्यो कुरा सत्य हो।’

महिला, पुरुष बाहेकका तेस्रो लिङ्गीहरूलाई पुरानो समाजमा मान्यता प्राप्त थियो र सम्मानित गरिन्थ्यौ भन्ने वृत्तचित्रको मुख्य कुरा रहेको उनले बताए। ‘त्यो कुरा स्थापित भयो भने हामीलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको मुद्दा अगाडि बढाउनलाई ठुलो तर्क प्राप्त हुन्छ,’ उनले भने।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.