"/>
काठमाडौं : जित्नेको इतिहास लेखिन्छ। जित्नका लागि दासहरू जम्मा गरिन्छ। उत्पादनका आधारमा दासहरू बन्छन्। परापूर्व कालदेखि जित्नेको इतिहास लेखिँदै आएको छ। हार्नेको इतिहास खोतल्ने काम जो कोहीलाई चासो नहुन सक्छ। अधिकांशले खोज्ने भनेको जित्नेकै इतिहास हो।
पृथ्वीनारायण शाहको पालमा बनेका केही त्यस्ता महत्वका दस्ताबेजहरू जीवितै छन्,जसले सम्मान र समानताको सङ्केत गरिरहेका छन्। शाहले युद्धबाट सत्ताशक्ति आर्जन गरे। शाहले आर्जन गरेको शक्ति ज्ञानेन्द्रसम्म आइपुगेर टुङ्गिएको छ।
सक्ताशक्ति राजाको अधीनमा रहेन। शक्तिको सङ्घर्ष चलिरहँदाको फाइदा छिमेकीले उठायो। त्यसको ज्वलन्त उदाहरण, कालापानी, लिपुलेक, लिम्पियाधुरा पिल्लर बनेका छन्।
शक्ति आर्जन गर्ने तरिका फरक फरक छन्। दुई हजार वर्ष अगाडि काठमाडौं उपत्यकामा अजि भनेको हजुर र मा भनेको आमा थियो नेवार समुदायमा। अजिमा अर्थात् हजुरआमालाई सबैले मान्थे। शक्ति थिइन हजुरआमा।
हजुरआमाको पालामा यो सहर काठमाडौं समृद्ध थियो। सबैभन्दा धेरै उत्पादन हुन्थ्यो। उत्पादनमा आकर्षण बढ्यो। हजुरआमाले आफ्ना सन्तानलाई उत्पादनमा लगाइन। सुरक्षा दिइन। कोही माथि विभेद गरिनन्। सबैलाई समान व्यवहार गरिन्।
हजुरआमाको सत्तालाई त्यतिबेला मातृसत्ता भनिन्थ्यो या मातृप्रधान बहसको विषय छ। राजनीतिक विश्लेषक विश्वभक्त दुलाल (आहुती) मातृसत्ता थियो भनेर मान्न तयार छैनन्। पितृसत्ताले मातृसत्तालाई विस्थापन गरेको मान्न नहुने उनको तर्क छ। मातृसत्ता नभनेर मातृप्रधान थियो भन्न सकिन्छ,उनले भने,पितृसत्ताले मातृसत्ता ढालेको होइन।
हजुरआमाको पालामा छोरी सुरक्षित थिए। ‘यौन हिंसा हुँदैनथ्यो। त्यतिबेला सुरक्षित थियो, अहिले किन असुरक्षित?’अधिकारकर्मी मिना पौडेलले प्रश्न गरिन्। उनी मातृसत्ता र मातृप्रधानमा धेरै भाष्ट डिफरेन्स देख्दिनन्।
मातृसत्ता र पितृसत्ताको यो नयाँ बहसको थालनी संविधान सभाका सदस्य सुनिलबाबु पन्तले गरेका छन्। उनले तिनै हजुरआमा अर्थात् अजिमाको डकुमेन्ट्री (वृत्तचित्र) निर्माण गरेका छन्। बिहीबार काठमाडौँको विश्वज्योति सिनेमा हलमा वृत्तचित्र प्रदर्शन भयो। जहाँ कानुन परिवर्तनका लागि वर्षौँदेखि वकालत गर्दै आएका देखि नयाँ संविधान जारी गर्नेसम्म थिए।
देश गणतन्त्रात्मक भइसके पनि राजतन्त्रको वकालत भइरहेको छ। विशेष गरी राजाको ठाउँमा राष्ट्रपति छन्। राष्ट्रपति सबैका साझा हुनुपर्छ। अहिले कुनै एक विचारको मात्र राष्ट्रप्रमुख बन्ने व्यवस्था छ। देशले तेस्रो राष्ट्रपति पाइसकेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक इन्द्रजात्राको अवलोकन गर्न भ्याएका छन्।
वृत्तचित्रमा इन्द्रजात्रा परम्परामा लिङ्गी ठड्याइएको पनि देखाइएको छ। कुमारी जात्रा, भैरव जात्राको दृश्य हेरे पछि राजनीतिक विश्लेषक शङ्कर तिवारीले भने,’यस्तो रमाइलो पो हुने रैछ,राष्ट्रपति पौडेललाई पनि देखे।’
अजिमा एन्ड सिक्स जेण्डर्स : पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरूबीचको जटिल सम्बन्ध उजागर
वृत्तचित्रमा कुमारी घरमा राखिएकी बालिकालाई राष्ट्रप्रमुख बनाउनु पर्ने मत पन्तले दिएका छन्। सत्ताका लागि लडाइ झगडा हुँदैनथ्यो कि भन्ने पन्तलाई लागेको छ। कुमारीलाई राष्ट्रप्रमुख र असनको गणेश मन्दिर वरिपरि रहेका ६ लैङ्गिक पहिचानमा वृत्तचित्रको खास कुरा देखे तिवारीले।
कुमारीलाई राष्ट्रप्रमुख बनाए राष्ट्रपति बन्न पाउनुहुन्न जस्तो छ नि? भन्ने जिज्ञासामा उनले भने,’प्रधानमन्त्री बन्ने ठाउँ त होला? प्रधानमन्त्री बनौला नि।’
आम मानिसलाई हेपिन, चेपिन मन लाग्दैन। चिन्ता भनेको सत्ता खोसिने भन्ने छ। सत्ता खोसिने निश्चित भए पछि सक्ता महिलालाई दिनुपर्ने प्रस्ताव गर्नेहरू छन्। २७ असारमा प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरुष प्रधानमन्त्री भएर केही लछारपाटो लगाउन नसकेको भन्दै अब महिलालाई प्रधानमन्त्री बनाउन प्रस्ताव नै गरे।
नेपाली काँग्रेसको महिला भेलामा नेता डा. शेखर कोइरालाले महिलालाई प्रधानमन्त्री बनाउनु पर्ने र त्यसका लागि क्षमतावान् बन्न सुझाव नै दिए। आफू नहुने भएपछि अरूलाई पनि हुन नदिन लाग्नेहरू प्रशस्तै छन्। तिनै मध्येमा पर्छन् प्रचण्ड र शशाङ्क। दिने भए आफू हुँदै किन कार्यान्वयन नगरेको भनेर प्रश्न गर्नेहरू छन्।
समाज अहिले पनि पुरुष प्रधान छ। अहिले पनि सुतक र महिनावारी बार्ने चलन छ। छाउगोठ राख्ने गरिन्छ महिलालाई। रजस्वला नभएका लागि मात्रै कुमारी राख्ने चलन छ। ‘समाजमा यौनिकताको आधारमा वर्ग छुट्ट्याएपछि विभेद, हिंसा हुन्छ,’राजनीतिक विश्लेषक एवं अधिकारकर्मी विमला राई पौड्यालले भनिन्,’त्यही भएर संविधानमा सन्तान भनिएको छ।’
वर्गीय विभेद अहिलेको भने होइन। काठमाडौँमा १८ जातको व्यवस्था गरेर वर्गीय, जातीय द्वन्द्व कायम रहेको राजनीतिक विश्लेषक आहुतीलाई लागेको छ। उनी वृत्तचित्रले महिला, पुरुषको मात्रै होइन, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई सम्मान थियो भन्ने अनुभूति गराउने सुनाउँछन्।
फरक लैङ्गिक पहिचान भएका व्यक्ति समाजमा छन्। मन्दिरहरूमा कुँदिएका आकृतिहरूले पनि समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी, दुईलिंगी व्यक्तिहरूलाई पहिचान दिएका दृश्यहरू कैद गरिएका छन् अजिमा एन्ड सिक्स जेण्डर्समा। तन्त्रशास्त्रको कुरा पनि वृत्तचित्रमा समावेश गरेका छन् निर्माता पन्तले।
काठमाडौँको ठमेलमा तन्त्र वाकथनकै क्रममा पन्तलाई वृत्तचित्र बनाउने सोच आयो। उनले इन्द्रजात्राको मेसो पारेर सुटिङ गरे। राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेलले पहिलोपटक अवलोकन गरेको इन्द्रजात्राका दृश्यहरू कैद गरे। असनको गणेश मन्दिरलाई वृत्तचित्रको केन्द्रमा राखे। वरिपरिका अजिमाहरूको खोजी गरे।
मनमैंजु अजिमासम्म पुगे पन्त। अझै पनि जीवित अजिमा राख्ने चलन कायम छ मनमैंजुमा। जीवित अजिमा बन्ने चलनले महिला र पुरुष भन्दा भिन्न तृतीय प्रकृतिका तेस्रो लिङ्गी व्यक्तिहरू थिए र हुन्छन् भन्ने सत्य देखाए।
राजनीतिक विश्लेषक एवं अधिकारकर्मी विमला राई तेस्रो लिङ्गीलाई अप्राकृतिक भन्नेहरूका लागि वृत्तचित्र गतिलो जवाफ बन्ने बताउँछिन्। ‘तेस्रो लिङ्गी भनेको अप्राकृतिक हो भन्ने भाष्यमा आएका रहेछौ,’उनले भनिन्।
अप्राकृतिक भन्ने भाष्यलाई परिवर्तन गरेर अगाडि लैजान सांस्कृतिक लडाई सुरु भएको सन्देश वृत्तचित्रले दिएको छ। तेस्रो लिङ्गीको पहिचान ‘न हर्मोन खाएर हुने हो न यौन अङ्ग प्रत्यारोपण’ गरेर नै। प्राकृतिक पहिचानलाई अप्राकृतिक बनाउने पश्चिमा शैलीको वृत्तचित्रले साङ्केतिक रूपमा खण्डन समेत गरेको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरू वृत्तचित्रले आफूहरूको पहिचानलाई उजागर गरेको बताउँछन्। ‘अरू फिल्म हेर्दा निन्द्रा लाग्थ्यो,’सिम्रिकाले भनिन्,’यो वृत्तचित्र हेर्दा बोर फिल नै भएन।’
हामी सबै भिन्न, हामी सबै समानको अभियान सुरु गरेका पन्तले युरोपियन युनियनको सहयोगमा निर्माण गरेको वृत्तचित्रमा तन्त्र परम्पराको पनि कुरा गरिएको छ। कोही ठुलो र कोही सानो नहुने तन्त्र परम्पराको जानकारी पनि पन्तले वृत्तचित्रमा दिएका छन्।
नेपालको झन्डामा मात्रै मातृसत्ता या मातृप्रधान बाँकी छ। पहिलो संविधान सभामा नेपालको झन्डा फेर्नेसम्मका बहस भए। झन्डा फेर्न नहुने लबिङ सफल बन्यो। विश्वमै नेपालको झन्डा मातृसत्तात्मक प्रतीकको रूपमा रहेको पन्तको व्याख्या समेत वृत्तचित्रमा छ।
मन्दिरका गजुरहरूमा पनि मातृसत्तात्मक प्रतीकहरू देख्न पाइन्छ। ‘पहिला प्राय सबै मन्दिरहरूका गजुरमा मातृसत्तात्मक प्रतीकहरू थिए, पुनर्निर्माणका क्रममा मासिँदै गएका छन्,’पन्तले भने,’केही मन्दिरमा बाँकी छन्, ती पनि कहिलेसम्म रहने हुन्?,जोगाउन सबै लागौँ।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.