त्रिशूलीको वेग देखेर आत्तियो भारतीय उद्धार टोली, बगाएको चुम्बक नै छोडेर फर्कियो

त्रिशूलीको वेग देखेर आत्तियो भारतीय उद्धार टोली, बगाएको चुम्बक नै छोडेर फर्कियो

काठमाडौं : चितवनको सिमलताल दुर्घटनामा बेपत्ता बस र यात्रुको खोजीमा आएको भारतीय टोली त्रिशूलीको वेग आफूहरूले सोचेभन्दा धेरै भएको भन्दै फर्किएको छ। त्रिशूली नदीको वेग र धमिलोपन सोचेभन्दा धेरै तथा आफूहरूसँग भएको प्राविधिक क्षमताभन्दा माथि रहेको निष्कर्षसहित भारतीय टोली दिउँसो फर्किएको हो।

असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुवाहक बस खोज्न साउन ४ गते पानीमा प्रयोग हुने सोनार क्यामेरा, चुम्बकसहित उपकरण लिएर ४ जना गोताखोरसहित १२ जना भारतीय प्राविधिक टोली नेपाल आएको थियो।

लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए।

भारतीय उद्धार टोलीले त्रिशूली नदीमा पानीको वेग र धमिलोपन आफूहरूले सोचेको भन्दा बढी भएकाले उपलब्धि हासिल गर्न नसकेको बताएका सहायक सिडिओ भुसालले जानकारी दिए। यद्यपि, अनुसन्धान प्रतिवेदन भने आउनै बाँकी रहेको उनले बताए।

अत्याधुनिक सोनार क्यामेरालगायतका उपकरणसहित १२ सदस्यीय टोलीले खोजी कार्य सुरु गरेको थियो भने शनिवार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो। हराएको १९ किलोको चुम्बक पनि फेला नपरेको सहायक सिडिओ भुसालले जानकारी दिए।

उनका अनुसार भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी राख्नेछ। सिमलतालमा गएको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता २ वटा यात्रुवाहक बस र ३८ यात्रुको अवस्था १७ औँ दिनसम्म अज्ञात छ।

गोरखा पहिरोमा पाँच जना बेपत्ता

गोरखाको धार्चे गाउँपालिका ५ सिङ्लामा पहिरोले घरसँगै पुरिएका ५ जना अझै भेटिएका छैनन्। आइतबार बिहान गएको पहिरोमा बेपत्ता भएका एकैपरिवारका तीन जनासहित ५ जना अझै फेला पर्न नसकेको गोरखाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए।

स्थानीय जितबहादुर गुरुङको घर पहिरोमा पुरिएर उनीसहित उनकी श्रीमती ३५ वर्षकी कान्छी माया, बुबा ६० वर्षीय सुलाल गुरुङ, सोही वडास्थित सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका माछाखोला हाइड्रोपावरका गाडी चालक ३४ वर्षीय रमेश परियार बेपत्ता छन्।

एसपी पाठकका अनुसार एक्स्काभेटरले पहिरो पन्छाउने क्रममा पहिरोले पुरिएको घर भने भेटिएको छ। रातको समयमा हुने जोखिमलाई ध्यानमा राखेर अहिले खोजी कार्य स्थगित गरिएको छ। सोमबार बिहानैबाट पुन खोजी कार्य थालिने प्रहरीले जनाएको छ।

पहिरोमा परी गम्भीर घाइते भएका सिङ्लाका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षका थमबहादुर गुरुङको भने ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी पाठकले जानकारी दिए।

विमान दुर्घटनाको अनुसन्धान

सौर्य एयरलाइन्सको विमान दुर्घटना जाँचबुझ आयोगले दुर्घटनास्थलको स्थलगत निरीक्षण गरेको छ। साथै ककपिट भ्वाइस रेकर्डरको अध्ययन समेत सुरु गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले जानकारी दिए।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एक जना विदेश नागरिकसहित १८ जनाको मृत्यु भएको थियो। दुर्घटना लगत्तै सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। प्रतिनिधिसभाको बैठकमा मन्त्री पाण्डेले आयोगले अध्ययन थालिसकेको जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सम्भव भएसम्म रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता सम्बन्धित एयरलाइन्सले जनाएको पनि मन्त्री पाण्डेले उल्लेख गरे।

हाल नेपालमा आन्तरिक उडानमा यात्रा गर्ने यात्रुको दुर्घटना बिमा २० हजार डलरमात्रै रहेकाले त्यसलाई बढाउन विधेयक बनाउने काम अघि बढिसकेको मन्त्री पाण्डेले बताए।

तर, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जहाज दुर्घटनामा छानबिन गर्नुपर्ने पहिलो व्यक्तिकै भिनाजु नाता पर्ने व्यक्तिलाई छानबिन समितिमा राखेको भन्दै आपत्ति जनाए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.