भाग्यवश बाँचेका जर्नेलको नजरमा ‘माओवादी आतङ्ककारी’

भाग्यवश बाँचेका जर्नेलको नजरमा ‘माओवादी आतङ्ककारी’

न्याय निरूपणको विषय रहिरहने

काठमाडौं : ११ भदौ २०६० साल कार्यालय समय सुरु नहुँदै निवासबाट निस्कँदै गर्दा गोली खाएका हुन पूर्वरथी (जर्नेल) रमीन्द्र क्षत्रीले। त्यसयता उनले ह्विल चियरको जीवन पाएका छन्।

तत्कालीन विद्रोही माओवादीले नेपाली सेनाका जर्नेलमाथि गरेको आक्रमणमा क्षत्री भाग्यले बाँचे। महासेनानी किरण बस्नेत बाच्न सकेनन्। क्षेत्रीलाई सामाखुसी र बस्नेतलाई पुरानोबानेश्वरस्थित आफ्नै घर अगाडि गोली हानिएको थियो सशस्त्र द्वन्द्वको समयमा।

२०५२ सादेखि सुरु भएको माओवादीको ज्यानै मार्ने विद्रोहको सिकार भएका थिए, क्षत्री र बस्नेत। नियत बदल्न सकिन्छ, नियति बदल्न सकिँदैन भने जस्तो क्षत्रीले अहिले दोस्रो जीवन बिताइरहेका छन्।

‘कठै बिचरा’ भनेको सुन्न पनि नचाहने हठी स्वभावका जर्नेल क्षत्रीले ‘जीवन सुन्दर छ’ भनेर आत्मकथा प्रकाशित गरेका छन्। जुन पुस्तक यात्राको सुरुकै दिन विमोचन भयो। निर्धारित समय भन्दा एक घण्टा ढिलो पुगेका प्रधानसेनापति प्रभुराम शर्माले पुस्तकको विमोचन गरे।

आत्मकथा महत्त्वपूर्ण विधा भएको छ। लेखकको आत्माको कथा हो जीवन सुन्दर छ। परिवारले रेस्क्यु गरेर बचाएका क्षत्रीले ४० वर्ष नेपाली सेनामा बिताए। सामाखुसीका स्थानीय बासिन्दा क्षत्रीमाथि भौतिकरूपमा गोली प्रहार बनाउने घटनाले भावुक नबनाउने सायदै होलान्।

क्षत्री २४ साउनबाट अवकाश पाउँदै गरेका प्रधानसेनापति शर्माका पनि गुरु हुन्। माओवादी चलाएको सशस्त्र युद्धको बेला गोरखामा बसेका उनी काठमाडौं फर्कने बित्तिकै गोली खान पुगे। उनी काठमाडौं फर्कने बित्तिकै गोरखामा माओवादीले आक्रमण गरे।

भाग्यवश बाँचेका क्षेत्रीले ह्विल चेयरमै नेपाली सैनिकको कर्तव्य निभाए। सैनिक सङ्गठनले दिएको जिम्मेवारी निभाए। प्रधानसेनापति शर्माको नजरमा क्षत्री सैनिक रहेका वा नरहेका पुस्तालाई राष्ट्र र राष्ट्रियताको सर्वोपरि हितमा काम गर्ने प्रेरणा बनेका छन्।

प्रधानसेनापति शर्माले क्षत्रीको परिवारका सदस्यसँग २०४० सालदेखि सङ्गत गरे। सङ्गतका आधारमा क्षत्री स्पष्ट वक्ता हुन्। कठोर भए पनि सपार्ट जवाफ दिने क्षत्रीमा लगनशीलता रहेको बताए सेनापति शर्माले।

नेपाली सेनाको हरेक प्रतिस्पर्धामा क्षत्रीलाई कसैले जित्न सकेनन्। क्षत्री सधैँ फस्ट, सेकेन्ड हुनै जानेनन्। क्षत्रीमाथिको आक्रमणलाई सेनापछि शर्माले दुर्भाग्य भनेर सम्झिए। साउन २४ पछि सेम क्लबमा अवश्य भेट हुने सुनाए। उनले आफूले पढ्न नपाए पनि जीवन सुन्दर छ पुस्तक पठनयोग्य रहेको टिप्पणी गरे।

क्षत्रीलाई सङ्कट र सकस आउँदा अडेस लाग्ने भित्ता बनिन् जीवन सङ्गिनी। के बिराएका थिए र, माओवादीले उनलाई मार्न खोज्यो? सायद उनले यसको जवाफ भेटेका छैनन्। वृहत् शान्ति सम्झौतालाई नेपाली सेनाले कसरी मान्ला? भन्ने कौतुहलताको समयमा उनी सैनिक प्रवक्ता थिए।

देशमा अशान्ति आउने कुनै अभिव्यक्ति दिएनन् क्षत्रीले। नेपाली सेनाको गोली लागेर माओवादी पनि मारिएका थिए। सेना र माओवादी एकअर्काविरुद्ध दुस्मन बनेर उभिएको बेला गोली खाएका क्षत्रीले माओवादी शान्ति प्रक्रियामा आएको १८ वर्षपछि आफ्नो आत्मकथा सार्वजनिक गरेका हुन्।

पत्रकार टिकाराम यात्री क्षत्रीको यो नयाँ जीवन भएको टिप्पणी गर्छन्। क्षत्रीले पुस्तकमा माओवादी आतङ्ककारी शब्द नै प्रयोग गरेका छन् भने राजनेताको रूपमा पृथ्वीनारायण शाह र महेन्द्रलाई मानेका छन्। ‘यही कुरा गर्दा गणतन्त्र आउँदै गरेको समयमा भए गाली खानुपर्थ्यो होला सायद,’यात्रीले पुस्तकमाथि टिप्पणी गर्दै थपे,’अहिले ताली बर्सिएको छ।’

‘युद्ध के का लागि थियो? युद्धले के दियो?’ क्षत्रीले पुस्तकमा प्रश्न गरेका छन्।

क्षत्रीले पुस्तकमा दरबार हत्याकाण्डबारे पनि लेखेका छन्। युवराज दीपेन्द्रले मन पराएकी केटीसँग विवाह गरे भाइ नीराजनलाई राजा बनाउने रानी ऐश्वर्यको कुरामा परिवार नै सखाप पार्ने दुई दिन अगाडि नै थाहा भए पनि त्यो किन जानकारी दिइएन? पुस्तकमा क्षत्रीले लेखेका छन्।

सात खण्ड रहेको पुस्तकमा २०६१ साल माघ १९ गतेको ज्ञानेन्द्रको ‘कु’ लाई क्षत्रीले राजाले जे गर्दै छन् ठिक छैन भनेका थिए। क्षत्री अचेतन मनलाई विश्वस्त तुल्याउँदै ठमठम हिँड्न सक्छन्। सत्यको जीत र असत्यको पतन हुने कुरा पनि क्षत्रीले पुस्तकमा लेखेको पत्रकार यात्रीले सुनाए।

लेखक क्षत्री विशेष उद्देश्य या महत्त्वाकाङ्क्षा राखेर पुस्तक लेखेको होइन भनेर प्रस्टीकरण दिन्छन्। उनले भने,’पुस्तक विगतदेखि वर्तमानसम्मको दर्पण हो।’

महासेनानी किरण र आफूमाथिको आक्रमणलाई आतङ्ककारी क्रूर भनेका उनले यो न्याय निरूपणको विषय रहिरहने उल्लेख गरेका छन्। उनको सम्झना तरेली बनेर बाचिरहेका छन्।

‘पुस्तक पढेर प्रेरणादायी लागेमा राम्रो लागेको ठान्ने छु,’जर्नेल क्षत्रीले भने। यात्रा पब्लिकेशन हाउसले प्रकाशन गरेको र रामचन्द्र फुयाँलले सम्पादन गरेको पुस्तकको मुख्य एक हजार रुपैयाँ राखिएको छ।

यो पनि : सशस्त्र द्वन्द्व पीडितलाई न्याय दिलाउने सहमति किन गलत?

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.