बंगलादेशी प्रधानमन्त्री हसिना देश छोडेर भारतको शरणमा

बंगलादेशी प्रधानमन्त्री हसिना देश छोडेर भारतको शरणमा

एजेन्सी : बङ्गलादेशको राजनीतिमा उथलपुथल भएको छ। विद्यार्थी आन्दोलन नियन्त्रण बाहिर पुगेपछि प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिँदै देश छाडेर भागेकी छन्। प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको त्रिपुरा राज्यमा शरण लिन पुगेकी बीबीसीले जनाएको छ।

प्रधानमन्त्री हसिनाले राजीनामा दिए लगत्तै सेना प्रमुख वकर उज्जामनले देशवासीका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार गठनको घोषणा गरेका छन्। सेना प्रमुखले राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग छलफल गरी देशमा निम्तिएको समस्या समाधान गर्ने बताए।

तर सरकारको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट भएको छैन। सेना प्रमुखले आन्दोलनकारीलाई घर फर्किन आग्रह गर्दै सेना र प्रहरीलाई गोलाबारी नगर्न निर्देशन दिएका छन्। हसिनाले देश छोडेपछि विद्यार्थीले प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका छन्।

आन्दोलनकारीले ढाकाको धानमण्डीस्थित गृहमन्त्री असदुज्जमान खानको निवासमा समेत आक्रमण गरी तोडफोड गरेका छन्। आक्रमणकारीले गृहमन्त्रीको निवासमा आगजनी समेत गरिदिएका छन्। शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेपछि बङ्गलादेशमा अन्तरिम सरकार गठनको प्रक्रिया सुरु भएको छ।

अहिले सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू छलफलमा जुटिरहेको बङ्गलादेशका सञ्चारमाध्यमहरूले जनाएका छन्। शेख हसिना अहिले भारतमा शरण लिएर बसेकी छन्। उनी हेलिकप्टरमार्फत भारतमा अवतरण भए लगत्तै भारतले बङगलादेशसंगको हवाई तथा स्थलमार्ग बन्द गरेको छ।

बङ्गलादेशको विमानस्थल समेत बन्द गरिएको छ। बङ्गलादेश हिंसाको आगोमा जलिरहेको छ। हिंसाका बीच स्थिति निकै नाजुक बनेको छ। हजारौँ मानिस सडकमा उत्रिएर सरकारी सम्पत्तिमा आगजनी गर्न थालेका छन्।

रोजगारीमा दिइँदै आएको आरक्षण खारेजी र प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गर्दै चर्किएको आन्दोलनमा १९ प्रहरीसहित १०० जनाभन्दा बढीको मृत्यु भएको छ। स्थिति भयावह बनेपछि देशभर अनिश्चितकालका लागि कर्फ्यु लगाइएको छ भने इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ। स्थिति नियन्त्रणमा लिन देशभर सेना परिचालन गरिएको छ।

सरकारी भवन, प्रधानमन्त्रीको कार्यालय र गृहमन्त्रीको सरकारी निवासमा आन्दोलनकारीको कब्जामा छ। अनियन्त्रित भीडले धानमण्डी क्षेत्रमा रहेको इन्दिरा गान्धी कल्चरल सेन्टर (आईजीसीसी) र वङ्गबन्धु मेमोरियल म्युजियम भत्काएका छन्। प्रदर्शनकारीहरूले ढाकाको धानमण्डी ३२ स्थित वङ्गबन्धु भवन सहित ढाकाका धेरै प्रमुख स्थानहरूमा आगो लगाइदिएका छन्।

नेपालमा सतर्कता

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमपछि त्यहाँ रहेका नेपालीको सुरक्षाका बारेमा सबत्र चासो बढेको छ। अध्ययन तथा ब्यबसायकालागि झन्डै ३ हजारभन्दा बढी नेपाली बङ्गलादेशमा रहेका बेला हिंसा भड्किएपछि सांसदहरूले नेपालीको अवस्था र उनीहरूको सुरक्षाका लागि सरकारले गरिरहेको कामका विषयमा जवाफ माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसद प्रभु शाहले नेपालीको अवस्थाका बारेमा प्रधानमन्त्रीलाई रुलिङ गरिदिन सभामुख देवराज घिमिरेलाई आग्रह गरे।

सांसद शिशिर खनालले बङ्गलादेशमा रहेका नेपालीको सुरक्षाको ग्यारेन्टी गरिदिन सरकारलाई आग्रह गरे।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालीको अवस्थाका बारेमा सदनलाई जानकारी गराउन निर्देशन दिए।

बङ्गलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम पछि नेपालभर सुरक्षा सतर्कता बढाइएको छ। भारतको बाटो हुँदै घुसपैठ हुनसक्ने भन्दै प्रहरीले देशभर निगरानी बढाएको हो।

भारतसँगको खुल्ला सिमानाका कारण नेपालमा अवाञ्छित गतिविधि हुन सक्ने भएपछि सुरक्षा सतर्कता बढाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दान बहादुर कार्कीले जानकारी दिए।

बङ्गलादेशमा हाल ४०० विद्यार्थी रहेका र उनीहरू सबै सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासलाई उद्धृत गर्दै परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ रहेका नेपाली विद्यार्थीको सुरक्षामा सक्रिय रूपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन्।

बङ्गलादेशमा चर्किएको आन्दोलनको प्रभाव नेपाल बङ्गलादेशको व्यापारमा पनि परेको छ। गत असारको अन्तिमबाट ठप्प भएको बङ्गलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो।

जारी आन्दोलनका कारण बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन्। त्यस्तै बङ्गलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बङ्गलादेशतर्फ नै रोकिएका छन्। आन्दोलनका कारण बङ्गलादेशमा नेपालको बिजुली बेच्ने सम्झौता पनि अनिश्चित बनेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.