फेरी मनसुन सक्रिय, ३६ जिल्ला रेड जोनमा

फेरी मनसुन सक्रिय, ३६ जिल्ला रेड जोनमा

काठमाडौं : मनसुन फेरी सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसुनी वर्षाको उच्च जोखिममा रहेका ३६ जिल्लालाई रेड जोनमा राखेको छ। विभागले सोमबार विशेष बुलेटिन जारी गर्दै मनसुनी जोखिमको आधारमा ३६ जिल्लालाई रेड जोनमा र अन्य ३४ जिल्ला मध्यम जोखिमको सूचीमा राखेको छ।

बागमती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला मनसुनी वर्षाको उच्च जोखिमको सूचीमा छन् भने कोशीका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम रेड जोनमा छन्।

लुम्बिनी प्रदेशका रुकुम पूर्व र रोल्पा बाहेक सबै जिल्ला उच्च जोखिममा पर्दा सुदूरपश्चिमका पाँच र गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका जिल्लाहरू रेड जोनमा परेका छन्। मङ्गलवार र बुधवार मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले अनुमान गरेको छ।

रातिको समयमा मनसुन बढी सक्रिय भई पानी पर्ने सम्भावना बढी हुने भएकाले यी दुई दिन सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठुला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायातका साधन प्रभावित हुने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सबैलाई मौसम विभागले अनुरोध गरेको छ।

यसअघि विभागले चेतावनी जारी गर्दै ४३ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको समयमा चितवन सिमलतालमा दुर्घटना भएको थियो। सिमलताल पहिरोमा परी बेपत्ता भएका दुई बस र ३८ यात्रुको अवस्था अझै अज्ञात रहेको छ भने २४ जना यात्रुको शव फेला परेको छ।

१४५ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ५४ जनाको मृत्यु भएको छ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ५४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ८६ जना घाइते भएका छन्।

काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय ८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४७ जना बेपत्ता भएका छन्।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन्। २ सय ६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ७ सय ४३ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ३८ घर परिवार विस्थापित भएका छन्।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको प्रहरीले जनाएको छ।

गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४ औँ बैठकमा गृहमन्त्री लेखकले महोत्तरी, बाँके, कास्की, सङ्खुवासभा, कञ्चनपुर, भोजपुर चितवनलगायतका बाढी–पहिरो प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो जोखिमबाट जोगाउने उपाय निकाल्न निर्देशन दिएका हुन्।

गृहमन्त्री लेखकले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा कार्यविधि २०८१’ बनाउँदा विदेशी संस्थाबाट लिने सहायता र राष्ट्रिय सुरक्षाको विषयमा गम्भीर बन्नुपर्ने बताए। बैठकमा उठेका विषयको कार्यान्वयनमा गम्भीरताका साथ लाग्न पनि गृहमन्त्री लेखकको भनेका छन्।

बाँकेको राप्ती नदी प्रभावित नागरिकले भने तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन्।

राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध दुई वर्षअघि आएको राप्ती नदीको बाढीले भत्काएपछि राप्ती सोनारी–६ र ७ तथा नरैनापुर गाउँपालिकावासी ६० हजार बढी नागरिक डुबानको उच्च जोखिममा रहेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.