बाढी पहिरोमा १३ जनाको मृत्यु, रात्रिकालीन बस चलाउन रोक

बाढी पहिरोमा १३ जनाको मृत्यु, रात्रिकालीन बस चलाउन रोक

उपप्रधानमन्त्री सिंहलाई शहर व्यवस्थित गर्ने चुनौती

काठमाडौं : अविरल वर्षापछिको बाढी पहिरोले एकै दिन ७ बालबालिकासहित १३ जनाको ज्यान लिएको छ। बागलुङमा ६ बालबालिकासहित ८, गुल्मीमा चार र काभ्रेमा एक जनाको मृत्यु भएको छ। योसँगै मनसुन जन्य घटनामा परी यस वर्ष ज्यान गुमाउनेको सङ्ख्या १६७ जना पुगेको छ।

बागलुङको बडिगाड गाउँपालिका ९ दर्लिनका १५ वर्षका विधान परियार, २४ वर्षका गङ्गा बस्नेतको पहिरोमा परी मृत्यु हुँदा अन्य तीन जना बेपत्ता भएका छन्।

बडिगाडकै वडा नम्बर १० आरुपाटामा पहिरोले घर गोठ बगाउँदा सञ्जु विककी ६ महिने छोरी, ७ वर्षकी मालती बुढा, ७ वर्षकी मधु बुढा, १३ वर्षका मनोज बुढा, करिब १२ वर्षका अमन बुढा र ५९ वर्षकी मैतीदेवी विकको मृत्यु भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।

पहिरोमै पुरिएका अन्य ७ जना घाइतेको उद्धार गरिएको छ। गम्भीर घाइतेलाई उद्धारको लागि काठमाडौँबाट गएको नेपाली सेनाको हेलिकप्टर भने मौसमका कारण बडिगाडमा पुग्न नसकेपछि बागलुङ बजारमै अवतरण गरिएको छ।

गुल्मीको मुसिकोट नगरपालिका १ बिसौनामा दुई घर पहिरोले पुरिँदा स्थानीय ६७ वर्षीय हुकुम बिक, उनका छोरा ४६ वर्षका गोरे विक, हुकुमकी बहिनी ६६ वर्षकी मसुरी विक र नातिनी अढाई वर्षकी रियन्सीको मृत्यु भएको गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए। अन्य दुई जना घाइते भएका छन्।

काभ्रेको पुण्यमाता खोलामा आएको बाढीले बगाउँदा रामेछाप खाँडादेवी गाउँपालिका–३ घर भई पनौती बस्ने ५० वर्षीया भगवती भागदासको मृत्यु भएको छ।

भारी वर्षाको उच्च जोखिम रहेका ३४ जिल्लामा दुई दिन रात्रिकालीन बस चलाउन रोक लगाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिममा रहेका पाँच प्रदेशका ३४ जिल्लामा रात्रिकालीन बस नचलाउन निर्देशन दिएको हो।

रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकाले सम्भावित क्षति रोक्न यस्तो निर्णय भएको प्राधिकरणले बताएको छ। प्राधिकरणले भारी वर्षाको अवधिभर अत्यन्तै जरुरी अवस्थामा बाहेक यात्रा नगर्न पनि आग्रह गरेको छ।

यसअघि सोमबार जल तथा मौसम विज्ञान विभागले पाँच प्रदेशका ३४ जिल्लालाई मनसुनी वर्षाको उच्च जोखिमको सूचीमा राखेको थियो। मङ्गलवार राती सबै प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी दिइएको छ।

मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक÷दुई स्थानमा भने अति भारी वर्षाको समेत सम्भावना रहेको बताएको छ। बुधवार दिउँसो पनि देशैभर भारी, धेरै भारी र अति भारीसम्म वर्षा हुने महाशाखाले जनाएको छ।

बाढी पहिरोकै कारण मुख्य राजमार्गका १२ ठाउँ पूर्ण रूपमा अवरोध भएको छ। आठ स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पहिरोले भक्तपुरस्थित मुहानपोखरी–नगरकोट, ललितपुरको प्युटारबाट आश्राङ र गिम्दीबाट आश्राङ जाने बाटो पूर्ण रूपमा अवरुद्ध छ।

सिस्नेरी –दक्षिणकाली काठमाडौं, मेलम्ची– भोटेचौर, कालिगण्डकी करिडोर, बेनी–दरवाङ सडकखण्ड, भेरी करिडोर, सगरमाथा राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ। बाढीले अवरुद्ध पारेको दोलखा कालिन्चोकस्थित चरिकोट सडक खण्ड सुचारु हुन एक महिना लाग्ने प्रहरीले जनाएको छ।

प्युठानको स्याउली बाग्दुल्ला सडक खण्ड र सङ्खुवासभाको उत्तर दक्षिण कोशी राजमार्ग भने वर्षाभरि नै नखुल्ने प्रहरीले बताएको छ। पूर्वपश्चिम लोकमार्ग, कान्ति लोकपथ, अरनिको राजमार्ग, मेलम्ची जिरोकिलो सडकखण्ड, बिपी राजमार्ग, बेनी जोमसोम सडक खण्ड एकतर्फी रूपमा सुचारु भएको छ।

मृतक र बेपत्ताका परिवारलाई २ लाख राहत

सिमलताल दुर्घटना छानबिन कार्यदलले दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाख रुपैयाँका दरले आर्थिक सहायता गर्न सिफारिस गरेको छ।

गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मङ्गलवार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै बेपत्ता भएकाहरूको परिवारलाई पनि मृतक सरह राहत दिन सिफारिस गरेको हो। सनाखत भएका १९ जना र बेपत्ता ४० जनाको घर ठेगानाको जिल्ला प्रशासन कार्यालयबाट राहत दिनुपर्ने कार्यदलले सिफारिस गरेको छ।

कार्यदलले सिमलतालमाथिको पहाडी क्षेत्रमा हालसालै निर्माण भएको सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ सडक बनाउँदा भएको कमजोरीका कारण दुई वटा डिलक्स बस त्रिशूलीमा खसेको निष्कर्ष निकालेको छ।

कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको र इन्जिनियरिङ डिजाइन बिनाको सडक बनाउँदा बर्सातमा त्यसको असर देखिएको कार्यदलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

बाढीसँगै आएको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेका दुई बसलाई धकेलेर त्रिशूलीमा खसालेको कार्यदलको निष्कर्ष छ। सडक बनाउँदा वातावरणीय पक्षमा ध्यान नदिएको र सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकाश नहुँदा दुर्घटना भएको कार्यदलको निष्कर्ष छ।

शहर व्यवस्थित गर्न असफल

सङ्घीय सरकार शहर व्यवस्थित गर्न असफल बनेको छ। शहरी क्षेत्रमा अचानक भएको जनसङ्ख्या वृद्धिले सरकार शहरलाई व्यवस्थित बनाउन असफल बनेको हो। ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा शैक्षिक र आर्थिक अवसरबाट वञ्चित हुनु नपर्ने आमबुझाई छ।

सुविधाकै लागि धेरै मानिस शहरमा बसाइ सरेका छन्। काठमाडौँ उपत्यका र अन्य केही शहर जनसङ्ख्या वृद्धिकै कारण अस्तव्यस्त बनेका छन्। निरन्तरको वर्षाले काठमाडौं उपत्यकामा मङ्गलवार बिजोगको दृश्य देखिएको छ।

मुख्य सडकहरूमा पानी जम्दा पैदल यात्रु समेत मर्कामा परे भने सवारीसाधनको लामो लाइन व्यवस्थित गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्‍यो। काठमाडौँमा ढल निकासको उचित प्रबन्ध नहुँदा सडकहरू जलमग्न हुने गरेका छन्।

सरकारका मन्त्रीहरूको भने ताउरमाउरमै कार्यकाल सकिँदै आएको छ। सङ्घीयता कार्यान्वयनमा आएको एक दशक पुग्न लाग्दा समेत मन्त्रीहरू उही व्यवस्थित शहरको नारा घन्काइरहेका छन्।

भरखरै दुई ठुला दल मिलेर बनेको सरकारमा शहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर उपप्रधानमन्त्री बनेका प्रकाशमान सिंहमाथि शहर व्यवस्थित बनाउनु पर्ने चुनौती टड्कारो रूपमा देखिएको छ।

भएका शहरलाई व्यवस्थित गर्न र नयाँ शहरको विकास गर्ने काममा ध्यान नदिए बर्सातको समयमा काठमाडौँमा देखिने अव्यवस्था अरू विकसित शहरमा पनि देखिने विज्ञहरू बताउँछन्।

उपप्रधानमन्त्री सिंहले पनि काठमाडौं सहित देशभरका शहरको समस्या पहिल्याएको बताएका छन्। उनले नीति नियमलाई समयसापेक्ष बनाएर शहरलाई व्यवस्थित गर्ने बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.