काठमाडौं : नेपालमा बालबालिकाको जनसङ्ख्या दशक अघिको भन्दा घटेको छ। त्यसमा पनि बालिका जन्मने दर कम भएको छ। सरदर १०७ बालक जन्मँदा १०० जना बालिका जन्मने गरेकोमा २०७८ को जनगणनाले ११२ जना बालक जन्मँदा बालिकाको जन्मदर १०० भन्दा पनि तल देखिएको छ।
२०६८ मा बालबालिकाको जनसङ्ख्या १ करोड १० लाख थियो। २०७८ मा ९८ लाख रहेको छ। बालबालिकाको जनसङ्ख्या १२ लाख घटेको छ। त्यसमा पनि बालिका जन्मिने दर नै कम भेटियो,केन्द्रीय तथ्याङ्क कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले भने,यो सामाजिक चिन्ताको विषय हो।
नेपालको जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत छ। २०६८ को राष्ट्रिय जनगणनामा जनसङ्ख्या वृद्धिदर १.३५ र २०५८, २.२५ प्रतिशत थियो। १९७७ र १९८७ को तुलनामा जनसङ्ख्या वृद्धिदर १०/१० वर्षमा वृद्धि भएको तथ्याङ्क सार्वजनिक हुँदै आएको थियो।
२०७८ को गणनामा नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। १८ वर्ष नपुगेकाका बालिकाको गणनामा जन्मदर कम देखिए पनि कुल जनसङ्ख्या मध्ये महिलाको सङ्ख्या बढी छ। प्रतिशतका आधारमा महिलाको सङ्ख्या ५१.०२ र पुरुषको सङ्ख्या ४८.९८ प्रतिशत रहेको छ।
दुई सन्तान ईश्वरका वरदान भन्ने नारा घन्काउँदाको प्रतिफल जनसङ्ख्या वृद्धिदरमा परेको विज्ञहरू बताउँछन्। दशैंमा आर्सीवाद नै सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने हुन्थ्यो। महिलाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर दुई सन्तान ईश्वरका वरदान नारा लगाइयो।
सरकारको नारा सबैले आत्मसात् गरे। बच्चा जन्माउने दर घटाए। अझ कतिपयको परिवारमा बच्चा नै नजन्माउने पनि छन्। अघिल्लो पुस्ताका एकै आमाका १० भाइ देखि १६ भाइसम्म पनि छन्।
अघिल्लो पुस्ताको भन्दा पछिल्लो पुस्तामा जन्मदर कम भएको छ। परिवार नियोजन गर्न उक्साउने सरकार नै अहिले जनसङ्ख्या वृद्धिदर घट्न थाले पछि झस्किएको छ। नेपाल अबको ५० वर्षमा ज्येष्ठ नागरिकको देश बन्ने खतरा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएका छन्।
प्रधानमन्त्री ओलीले युवा पुस्तालाई बच्चा जन्माउने टिप्स नै दिएका छन्। उनले २०/३० वर्षको उमेरमा विवाह गरेर बच्चा जन्माउन भने।
अहिले रहर, लहर र बाध्यताले विदेश जाने क्रम तीव्र बनेको छ। १५ र १६ वर्ष उमेरका २ लाख हाराहारी बालबालिका कुनै न कुनै श्रममा लागेको देखिएको छ। कृषि क्षेत्रको आर्थिक गतिविधिमा संलग्न बालबालिका बढी छन्। व्यापार, निर्माण र केही उद्योगहरूमा समेत बालबालिकालाई श्रम गर्न बाध्य बनाइएको तथ्याङ्कले नै देखाएको छ।
सबै बालबालिकाले अहिले पनि विद्यालय शिक्षा लिन पाएका छैनन्। विद्यालय शिक्षा लिएकाहरू उच्चशिक्षामा वञ्चित छन्,कारण आर्थिक अवस्था। गरिबीका कारण अझै विद्यालय बाहिर रहेका बालबालिका भेटिएका छन्। बालबालिकालाई घर बाहिर पनि काम गर्न जानु पर्ने बाध्यता राज्यको नीति, नियमले अन्त्य गर्न सकेको छैन।
स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने बोलीमा मात्रै सीमित भएको छ। मन्त्री, प्रधानमन्त्री बन्ने, भाषण गर्ने, योजना सुनाउने परम्परा जस्तै बनेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.