काँग्रेस फकाउने प्रचण्ड-माधवको नीति

काँग्रेस फकाउने प्रचण्ड-माधवको नीति

काठमाडौं : सशस्त्र भने पनि जन भने पनि मान्छे मार्ने युद्धको नेतृत्व गरेका हुन् पुष्पकमल दाहाल प्रचण्डले। १७ हजार मध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्तिले विवादमा समेत तानिए प्रचण्ड।

२०७६ को माघी महोत्सवमा प्रचण्डले भनेका थिए,’१७ हजार मारेर आएको सत्य होइन, सत्य के हो भने हिजोका सामन्त राजाहरूले १२ हजार मारेका हुन्। मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु। तर हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन। हिजोको युद्धमा भएका राम्रा नराम्रा काममा म जिम्मेवारी लिन्छु। म त्यसबाट भाग्ने हुनै सक्दैन। तर नगरेको कामको दोष पनि मलाई थुपार्नु भएन।’

शान्ति सम्झौताको अर्को वर्ष २०६४ मा भएको संविधान सभाको पहिलो चुनावमा प्रचण्ड अध्यक्ष रहेको माओवादीले २०४६ साल पछि राजा सहितको बहुदलीय व्यवस्थामा हालीमुहाली गरेका दलहरूलाई उछिनेको थियो। युद्धको मोडलमा सत्ताको नेतृत्वमा पुगेका प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बने भने बाबुराम भट्टराई एक पटक।

सरकारको नेतृत्व गर्दा समेत माओवादीले विकासको लय समात्नै सकेन। भत्काएका, नष्ट गरिएका भौतिक संरचना निर्माणमा राज्यको ढुकुटी रित्तियो। माओवादीको नेतृत्वमा संविधान पनि जारी हुन सकेन। संविधान जारी हुन दोस्रो पटक चुनाव भयो।

पहिलो चुनावमा ठुलो दल बनेको माओवादी दोस्रो चुनावमा तेस्रो दल बन्यो। मतदाताले फेरी काँग्रेस र एमालेलाई ठुलो दल बनाए। २०७२ साल असोज ३ गते नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गरे।

त्यही संविधान अनुसार कानुनहरू बन्ने क्रम निरन्तर चलिरहेको छ। द्धन्द्धकालिन मुद्दाको छिनोफानो गर्न बल्ल प्रतिनिधिसभाबाट विधेयक पारित भएको छ। राष्ट्रिय सभाले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनको प्रक्रिया सुरु हुन्छ।

माओवादी द्वन्द्वका अवशेषहरू अब बिलाउने आशा पीडितले गरेका छन्। एकले अर्कोको अस्तित्व स्विकार्नु पर्ने आवाज विधेयक पारित हुँदाका क्रममा पनि उठेको छ। राजदरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहलाई स्व.गिरिजाप्रसाद कोइरालाले संसद् पुनर्स्थापना गर्न बाध्य पारेका थिए। विधेयक पारित हुँदै गर्दा प्रचण्डले स्व.गिरिजाप्रसादको स्मरण गरे।

राजतन्त्रवादी राप्रपाले पूर्वराजा ज्ञानेन्द्रको स्मरण गर्‍यो। नारायणहिटी दरबार सम्झेर निर्मल निवासमा समय व्यथित गरिरहेका ज्ञानेन्द्र आक्कलझुक्कल मात्रै अभिव्यक्ति दिँदै आएका छन्। संसद्मा उनको प्रतिनिधिका रूपमा राप्रपाले आवाज उठाउँदै आएको छ। ज्ञानेन्द्र आफैँले नबोले पनि राप्रपाले संसद्मा उनको आवाज उठाउँदै आएको छ।

संसदीय अभ्यासबाट गणतन्त्र घोषणा भएको हो नेपालमा। ज्ञानेन्द्र गुमेको राजाको उपाधि फर्काउन सकिने आशामा अझै छन्। राजावादी राप्रपाले दोस्रो आम निर्वाचनमा सिट सङ्ख्या बढाएको छ। ज्ञानेन्द्र पनि अभिनन्दनका नाममा घुमिरहेका छन्।

संसद्ले पालैपालो तीन जनालाई राष्ट्रपति चुनिसकेको छ। एक पटक निर्वाचित भए पछि पाँच वर्षसम्मलाई शीतल निवास पुर्‍याउने काम संसद्ले गर्ने अभ्यास स्थापित हुँदै गएको छ। चौथो कार्यकालका लागि देशको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल आसीन छन्।

राष्ट्रपतिबाट गणतन्त्र अगाडिका राजाको जस्तो भूमिका खोज्ने जमात पनि छ। सुशासनका नाममा कुशासनको कु बाटोमा लाग्ने नेताहरूलाई नत्थी लगाउने काम राष्ट्रपतिबाट हुन सकेको छैन। संविधानले त्यस्तो कल्पना पनि गरेको छैन। कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिएको छ संविधानले।

अब यो अधिकार पाउने नेतृत्व संसद्ले नभई सम्पूर्ण मतदाताले चुन्न पाउनुपर्ने गरी संविधान संशोधनको माग दशक युद्ध लडेको माओवादीले गरेको छ,राष्ट्रपति र प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित।

संसद्का दुई ठुला दल नेतृत्वको सरकारले सबै दलको सहमतिमा संविधान संशोधन गर्ने भनिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका नाममा प्रतिगमनको भ्रम नफैलाउन भन्दै आएका छन्। संविधान जारी गर्ने नेतृत्वमा पुगेर असफल भएको माओवादीले संशोधनमा आफ्ना प्रस्ताव सुनाउँदै आएको छ।

काँग्रेस र एमाले बाहेकका दललाई हाल कायम थ्रेस होल्डको प्रतिशत बढाउँदा नेताहरूको राजनीति नै सकिने चिन्ता लागेको देखिएको छ। पुरानो पार्टी राप्रपा भन्दा दल दर्ता भएको पहिलो वर्षमै संसदीय यात्रामा बढी सांसद पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत थ्रेस होल्डको प्रतिशत बढाउने गरी संविधान संशोधन गरिदिने डर छ।

एमालेबाट फुटेर बनेको माधवकुमार नेपालको पार्टीले त २०७९ मङ्सिर ४ को चुनावमा हाल कायम थ्रेस होल्ड नै कटाउन सकेन। उनी पनि थ्रेस होल्डको प्रतिशत अझै बढ्दा पार्टीको अस्तित्व नै सकिने चिन्तामा छन्।

प्रचण्ड गिरिजाप्रसाद र माधव नेपाल केपी ओलीको यसअघिका व्यवहार स्मरण गराएर काँग्रेस रिझाउने अभिव्यक्ति दिइरहेका छन्। नेपालले बुधवारको प्रतिनिधि सभा बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवालाई ओलीसँग सचेत रहन सुझाव नै दिए।

उनले दुई दलीय व्यवस्था हुन नदिने पनि बताए। ‘बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ,बहुदलीय व्यवस्था यहाँ रहन्छ,’उनले भने,मध्यरातमा सही गर्नुपर्थ्यो?यसबाट नियत के हो थाहा हुन्छ।’

नेपालले शेरबहादुरलाई धेरै सोझोको संज्ञा दिए। ‘शेरबहादुर माननीय पनि धेरै सोझो हुनुहुन्छ,उहाँले त्यति बुझ्नु हुन्न जस्तो पनि लाग्छ, तर, बुझ्न त सिपालु हुनुहुन्छ,’उनले भने,’ख्याल गर्नुहोस्,दुई दलीय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउँछ, कोही सहने छैनन्,बङ्गलादेशको घटनाले घण्टी बजेको छ।’ बङ्गलादेशको घटनाले तानासाह टिक्न नसक्ने सन्देश दिएको उनले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.