मिलीजुली सरकारको एक महिना, कार्यक्रमका नाम फेर्ने

मिलीजुली सरकारको एक महिना, कार्यक्रमका नाम फेर्ने

काठमाडौं : नेपाली काँग्रेस र नेकपा एमालेको मिलीजुली सरकारले एक महिना पुरा गरेको छ। प्रधानमन्त्रीमा कार्यकाल भागबन्डा गरेर पहिलो कार्यकालको प्रधानमन्त्रीमा नियुक्त एमाले अध्यक्ष केपी शर्मा ओलीले एक महिना पुगेपछि सरकारले सय दिनमा गर्ने कामको खाका कोर्न थालेका छन्।

गत असार ३१ गते २१ मन्त्रीसहित शपथ लिएका प्रधानमन्त्री ओलीले त्यसपछि थपेका तीन राज्यमन्त्रीको कार्यकाल भने महिना दिन पुगेको छैन। सरकार गठन भएको एक महिना पुग्दा समेत न्यूनतम साझा कार्यक्रम ल्याउन नसकेको सरकारले बिहीबार एक महिने समीक्षा सहित सय दिनभित्र गर्न सकिने मुख्य कामबारे छलफल गरेको छ।

सरकारले एक महिनाको मुख्य उपलब्धिलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित हुनुलाई लिएको छ। प्रतिनिधिसभा बैठकले बुधवार पारित गरेको विधेयक बिहीबार राष्ट्रिय सभामा पेस भएको छ। अरू काममा भने उपलब्धि शून्य जस्तै छ।

प्रधानमन्त्री ओलीले नै काममा नयाँ पन नदेखिएपछि प्रधानमन्त्रीसँग रोजगार जस्ता ठुला पदका नामबाट कार्यक्रम नराख्ने भनेका छन्। जनतासँग रोजगार जस्ता नाम राख्ने निर्णय गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्। ‘केन्द्रको सिको गरेर मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन्, त्यो उपयुक्त होइन,’प्रधानमन्त्री ओलीले भने,‘नयाँपन पनि भएन।’

युवा र खेल प्रेमीलाई उत्साह दिन कीर्तिपुर रङ्गशाला स्तरोन्नतिका लागि सम्पूर्ण समय दिएर काम गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्। ‘पुँजीगत खर्च शत प्रतिशत गर्नुस्। बेरुजु नहुने गरी काम गर्नुस्,’प्रधानमन्त्री ओलीले भने,‘हामीले नगरे कसले गर्ने?’

दशौँ राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउनका लागि आवश्यक प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले भनेका छन्। खाद्यान्नमा आत्मनिर्भर हुने र बजारमा स्वास्थ्य खाना उपलब्ध हुने वातावरण बनाउन उनले निर्देशन दिएका छन्। ‘कानुन मात्रै धेरै बनाइयो भनेर हुन्न। गरिबलाई कानुन मात्रै दिएर के काम? कानुनले खान दिँदैन,’प्रधानमन्त्री ओलीले भने,‘त्यसैले विकासको लक्ष्यलाई केन्द्रमा राख्नुस्, साधनलाई होइन।’

प्रधानमन्त्री ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गरे।

नेपाल सरकारका मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि उनले देश र जनताका लागि गर्न पर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र कङ्क्रिट तयारी गर्न निर्देशन दिएका हुन्।

मन्त्रीहरूले सुनाए योजना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरूपता कायम गर्ने बताएका छन्।

राष्ट्रिय सभा बैठकमा पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको सुनाए।

सबै प्रदेश लक्षित सात गन्तव्यसहित इको हिल टुरिजम लगायतका कार्यक्रमहरू यस वर्षको बजेटमा समावेश गरिए पनि पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको गुनासो गरे।

उनले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको र होटेललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा विकास गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको पनि उल्लेख गरे।

नयाँ सरकार गठन पछि पहिलोपटक भएको मन्त्रीहरूसँग मौखिक प्रश्नोत्तर कार्यक्रममा राष्ट्रियसभा सदस्यले राखेका प्रश्नको जवाफमा गृहमन्त्री रमेश लेखकले सबै खालका विपद्मा परेका नागरिकलाई अस्थायी आवास बनाउन अनुदान दिने मापदण्ड तयार भएको जानकारी दिए।

उनले जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको अस्थायी आवासका लागि दुई किस्तामा दिइने ५० हजार रुपैयाँका लागि लागि ३ अर्ब १६ करोड रुपैयाँ निकासा भएको बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले भारतसँगको महाकाली नदीको सिचाइ प्रगति भन्न सकिने ठाउँमा नपुगेको भन्दै समस्या सुनाए।

ओली क्याबिनेटमा एक पछि अर्को निर्णय र निर्देशन दिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अहिले चर्चामा छन्।

मन्त्री भएर काम नदेखाएसम्म खादा माला नलगाउने बताएका पौडेलले एक महिनाको अवधिमा एक लाखको स्वास्थ्य बिमालाई पाँच लाख पुर्‍याउनेदेखि, सातै प्रदेशमा क्यान्सरको उपचार गराउने सम्मको योजना सार्वजनिक गरेका छन्। बिहीबार मात्रै उनले डेंगु नियन्त्रण र रोकथामका लागि टेलिफोनको रिङटोनमा सूचनाको व्यवस्था मिलाइने बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.