दोस्रो लेस्बियन जोडी : चिना र ज्योतिले पाए विवाह दर्ताको प्रमाणपत्र

दोस्रो लेस्बियन जोडी : चिना र ज्योतिले पाए विवाह दर्ताको प्रमाणपत्र

पाल्पा : नेपालमा समलिङ्गी, तेस्रो लिङ्गीको पहिचान खुलाएर सहज रूपमा विवाह दर्ता हुन थालेको छ। भदौ २ गते पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं. ९ मा इन्द्रेणी विवाह दर्ता भएको छ।

पूर्वी नवलपरासी, बौदीकाली गाउँपालिका वडा नं.१ कि ज्योति सार्की र रामपुर वडा नं ९ की चिना कुमारी नेपालीले कानुनी रूपमा विवाह दर्ता प्रमाणपत्र पाएका हुन्। ज्योतिलाई चीनाले म्याडम भनेर चिनाउने गरेका छन्।

विवाह दर्ता प्रमाणपत्रमा चिना दुलाहा र ज्योति दुलही उल्लेख छ। ‘११ वर्षअघि दिदीको घर जाँदा चिना र ज्योतिको जानपहिचान भएको हो। उहाँ (चिना) दिदीको घर आउनु भएको थियो,त्यहीबेला हाम्रो चिनाजान भयो,’ज्योतिले पहिचानसँग भनिन्,’हामीसँगै दुबई गयौ, दुई वर्षपछि फर्केर नेपाल आयौ।’

त्यसपछि कतार गएका दुवैले विवाह गर्ने निधो गरे। छुट्टी मिलाएर नेपाल आएका उनीहरूले २०७८ असोज २९ गते विवाह गरे। ‘विवाह घरमै गरेका हौँ,’वार मिलेन भनेर सिन्दूर हाल्न पाइएन,’ज्योतिले भनिन्,’सिद्धबाबाको मन्दिरमा गएर चिनाले सिन्दूर लगाइदिए।’

विवाह गरे पनि कानुनी रूपमा दर्ता भएको थिएन। २०७४ सालमा विवाह गरेका माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले दक्षिण एसियामै पहिलो पटक १३ मङ्सिर २०८० मा कानुनी रूपमा विवाह दर्ता गरेका थिए। २९ माघ २०८० मा अन्जुदेवी श्रेष्ठ (दीप्ति) र सुप्रिता गुरुङ्गले पहिलो लेस्बियन जोडी बनेर कानुनी रूपमा विवाह दर्ता गरेका थिए।

नेपालमा लेस्बियन जोडीको विवाह कानुनी रूपमा दर्ता भएको समाचार पढेर आफूहरू गत असारमा छुट्टी मिलाएर विवाह दर्ताकै लागि नेपाल आएको ज्योतिले बताइन। सहज रूपमा विवाह दर्ता भएको उनले बताइन। ‘अविवाहितको सिफारिस सजिलै दिनुभयो,’ज्योतिले भनिन्,’कानुनमा लेखिसकेपछि सबैले बुझ्नु हुँदो रहेछ।’

विवाह दर्ताका लागि उनीहरूले मायाको पहिचान नेपालका सचिव समेत रहेका पहिलो विवाह दर्ता गर्ने जोडी सुरेन्द्र पाण्डेसँग सम्पर्क गरेका थिए। पाण्डेले विवाह दर्ताका लागि सर्वोच्च अदालतले दिएको आदेश, राष्ट्रिय पञ्जीकरण विभागको परिपत्र सहित वडा कार्यालयबाट सिफारिस लिनुपर्ने जानकारी चिना र ज्योतिलाई दिएका थिए। विवाह दर्ता गरेका चिना र ज्योति बुधवार नै कतार जादैछन्। ‘छुट्टी मिलाएर आएका थियौँ,’चिनाले भनिन्,’हामीहरू त एयरपोर्ट लागिसक्यौ, आज(बुधवार)कै फ्लाइट छ।’

उनले दुवैको परिवारमा स्वीकार्यता भएकाले विवाह दर्ता गरेर ढुक्क भएको बताइन। ‘घर परिवारमा स्वीकार्यता छ,समाजले पनि बुझेको छ,’चिनाले भनिन्,’हामी खुसी छौँ।’ उनले आफूहरू यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र लेस्बियन भएको बताइन।

रामपुर नगरपालिका वडा नं. ९ का सचिव मो.युनुस खानले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र अनुसार चिना र ज्योतिलाई विवाह दर्ताको प्रमाणपत्र दिएको बताए। ‘जन्मँदा दुवै महिला हुनुहुँदो रहेछ,विवाह दर्ता गरेर सगोलमा धनसम्पत्ती जोड्ने, खाता सञ्चालन गर्ने, बिमा गर्ने लगायतका योजना सुनाउनु भयो,’सचिव खानले पहिचानसँग भने,सोधपुछ गरेर विवाह दर्ताको प्रमाणपत्र दियौँ।’

उनले विभागले बनाएको फरम्याटमा विवाह दर्ता प्रमाणपत्र जारी गर्न सहज भएको बताए। नेपालमा १२ असार २०८० मा सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि माया र सुरेन्द्रले लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा पहिलो विवाह दर्ता गरेका हुन्।

१२ वैशाख २०८१ मा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्न परिपत्र जारी गरेर फरम्याट नै बनाएको थियो। हाल यो समुदायका जोडीले वडा कार्यालयमै कानुनी रूपमा विवाह दर्ता गर्न सहज बनेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.