सहकारीको बचत फिर्ता नपाउँदा तनाव, अर्का एक जनाको मृत्यु

सहकारीको बचत फिर्ता नपाउँदा तनाव, अर्का एक जनाको मृत्यु

काठमाडौं : सहकारीमा बचत गरेको रकम फिर्ता लिन धाइरहेका काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका आमोद चतुर्वेदी मृत भेटिएका छन्।

मोरङको विराटनगर घर भएका चतुर्वेदी सहकारीमा जम्मा गरिएको बचत रकम लिन दुई वर्षदेखि धाउँदै आएका कान्ति भैरव पीडित सङ्घर्ष समितिका सदस्य राजेशकुमार विष्टले जानकारी दिए।

खुट्टा भाँचिएका कारण सहकारीबाट बचत फिर्ता लिन धाउने गरेका चतुर्वेदी उपचार गर्न नपाउँदा तनावमा थिए। उनी शनिवार राति अत्तरखेलस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएका प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

सङ्घर्ष समितिका सदस्य विष्टका अनुसार चतुर्वेदीले अत्तरखेलस्थित कान्ति भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा २५ लाख रुपैयाँ बचत गरेको र सो बचत रकम फिर्ता नपाएका कारण बिरामी श्रीमती र छोरीको उपचार गर्न नपाएको गुनासो गर्दै आएका थिए।

बचत फिर्ता नपाउँदा उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का छ। चतुर्वेदी गोकर्णेश्वर–८ स्थित नेपाल मेडिकल कलेजमा कार्यरत थिए। केही समयअघि गत साउन २७ गते सहकारीमा एक करोड ३६ लाख बचत हुँदा पनि पाँच लाखको उपचार खर्च नपाएर काठमाडौं शंखमूलका ७२ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको थियो।

शंखमूलका स्थायी बासिन्दा ७१ वर्षीय स्थापितले युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा एक करोड ३६ लाख रुपैयाँ बचत गरेका थिए। तर, गम्भीर समस्यामा पर्दा पनि केही रकम नपाउँदा उनको मृत्यु भयो।

सहकारीमा रवि संलग्न रहेको क्लु फेला परेको दाबी

सहकारीमा बचत गरेकाहरू रकम फिर्ता नपाउँदा मर्ने अवस्थामा पुग्दा समेत ठगहरू भने निस्फिक्री छन्। उनीहरू कारबाहीबाट जोगिँदै आएका छन्।

सहकारीको रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन समितिले केही सहकारी संस्थामा सङ्गठित रूपमै ठगी भएको देखिएको बताएको छ।

प्रतिवेदन लेखनमा लागेको समितिले सहकारीको सिद्धान्त, मूल्यमान्यता पालना नगर्दा अधिकांश संस्थामा समस्या देखिएको र केही सहकारी संस्थामा भने सङ्गठित रूपमै ठगी भएको देखिएको ठहर गरेको हो।

३ महिनाको समय घर्किनै लाग्दा समितिले पहिलो भागमा प्रमाणलाई लिपिबद्ध गर्ने, दोस्रो भागमा समस्या र समाधान औँल्याउने गरी प्रतिवेदन तयार गरिरहेको समिति सदस्य सरिता भुसालले जानकारी दिइन।

तेस्रो तथा अन्तिम भागमा दण्डित गर्नुपर्ने व्यक्तिको नामै उल्लेख गर्ने समितिले बताएको छ। समितिले जेलमा रहेका १९ जना र सहकारीका २० जनासँग बयान लिइसकेको छ।

समितिले अहिलेसम्म सहकारी सञ्चालक, नियमन निकाय र सङ्घसंस्थाका पदाधिकारीसहित ५० भन्दा बढी व्यक्तिसँग बयान लिइसकेको जनाएको छ।

समस्याग्रस्त घोषणा गरिएका र बचत रकम हिनामिना भएर छानबिनका लागि समितिको कार्यादेशभित्र अटाएका २९ सहकारीका २० जना भने फरार छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.