उपप्रधानमन्त्रीको फुर्कोमा प्रकाशमानले गरे मङ्गलादेवीको स्मरण

उपप्रधानमन्त्रीको फुर्कोमा प्रकाशमानले गरे मङ्गलादेवीको स्मरण

काठमाडौं : शिक्षामा महिलालाई निषेध गरेको समयमा पद्य शमशेर राणालाई पद्य कन्या क्याम्पस खोल्न बाध्य बनाउने महिला सङ्घको संस्थापक अध्यक्ष थिइन् मङ्गलादेवी सिंह। महिला सङ्घ नेपाली काँग्रेसको भातृ संस्था हो,जसको नेतृत्वमा महिलाले पनि पढ्न पाए।

महिलाको अधिकारका लागि आवाज उठाउने उनै मङ्गलादेवीको २८ औँ स्मृतिमा छोरा प्रकाशमान सिंह र बुहारी सिर्जना सिंहले शालिकमा माल्यार्पण गरे। २४, साउन २००४ मा मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना भएको थियो। महिलाले पढ्न पाउनुपर्छ भन्दै दिएको दबाबका कारण पद्म शमशेर राणा पद्म कन्या क्याम्पस खोल्न तयार भएका थिए।

नेपाली काँग्रेसका नेता, कार्यकर्तादेखि इतिहासका जानकारहरूले मङ्गलादेवीलाई नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृका रूपमा लिने गरेका छन्।

शोभा भगवती डल्लुमा सिंहको शालिक बनेको छ। शालिकमा हरेक वर्ष छोरा प्रकाशमान र बुहारी सिर्जनाले माल्यार्पण गरी श्रद्धासुमन अर्पण गर्दै आएका छन्। प्रकाशमानले अहिले काँग्रेसबाट सरकारको नेतृत्व गरेका छन्। उपप्रधान तथा सहरी विकास मन्त्री बनेका छन् उनी।

मङ्गलादेवीको शालिकमा माल्यार्पणपछि मन्त्री सिंहले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताए।

मङ्गलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले मङ्गलादेवी सिंह नेपाली महिलाहरूका लागि प्रेरणा रहेको बताइन। नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको उनले स्मरण गरिन्।

उपप्रधानमन्त्रीको फुर्को

काँग्रेस र एमालेको मिलीजुली सरकारमा दुई जना उपप्रधानमन्त्री छन्, प्रकाशमान सिंह र विष्णु पौडेल। संविधानको धारा ७६ को उपधारा (९) को स्पष्टीकरणमा ‘मन्त्री भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री सम्झनुपर्छ’भनिएको छ। संविधानमा प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रीपरिषद् गठन गर्ने प्रस्ट व्यवस्था छ।

वर्तमान मन्त्रिपरिषद्मा भए जस्तो उपप्रधानमन्त्रीको छुट्टै व्यवस्था संविधानमा छैन। धारा ७६ को उपधारा (१०) मा ‘प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा सङ्घीय संसद्प्रति उत्तरदायी हुनेछन् र मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा प्रधानमन्त्री र सङ्घीय संसद्प्रति उत्तरदायी हुनेछन्भ’निएको छ।

अघिल्लो सरकारमा उपप्रधानमन्त्रीको फुर्को लगाउने तीन जना थिए। एमालेबाट रघुवीर महासेठ, माओवादीबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उपप्रधानमन्त्री बनेका थिए।

संविधानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू रहने भने पनि हरेक सरकारमा उपप्रधानमन्त्रीको फुर्को झुन्डाएका मन्त्रीहरू टुटेका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारका ६ जना उपप्रधानमन्त्री मध्ये राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.