जनआक्रोशलाई क्यास गर्ने विपक्षीको दाउ, नारा लगाउने पक्राउ

जनआक्रोशलाई क्यास गर्ने विपक्षीको दाउ, नारा लगाउने पक्राउ

काठमाडौं : सरकारप्रतिको जनआक्रोशलाई प्रतिपक्षी दलहरू क्यास गर्ने दाउमा लागेका छन्। सरकार र राजनीतिक दलका नेताहरूप्रति वितृष्णा सोमबार मात्रै टुँडिखेलमा प्रस्तुत भएपछि सत्ता गुमाएको ४० दिनमै पुष्पकमल दाहाल प्रचण्ड र रवि लामिछाने क्यास गर्ने दाउमा लागेका हुन्।

शासन व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन ल्याउन असफल बनेका दलका नेताहरूप्रति जनआक्रोश बढ्दो छ। पुराना दलका नेताहरूलाई मात्रै होइन, नयाँ भनिएका नेताहरू समेत आक्रोशको तारोमा परिरहेका छन्।

तर, नेताहरू भने आफू सुध्रिनुको सट्टा एकले अर्कोलाई दोष दिएर पानी माथिको ओभानो बन्न लागेका छन्। श्रीलङ्का र बङ्गलादेशको अवस्था आउन सक्ने चेतावनी स्वयं दलका नेताहरूले दिन थालेका छन्।

नयाँ सरकार गठन भएको सय दिनको हनिमुन पिरियड नपुग्दै सडकमा देखिएको आक्रोशलाई क्यास गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मङ्गलवार संसद्को रोष्ट्रमबाट गर्जिए।

नक्कली भुटानी शरणार्थी, गिरिबन्धु टिस्टेट लगायतका भ्रष्टाचारका काण्डैकाण्ड सुनाएर प्रचण्डले सच्चिन दुईतिहाईको सरकारलाई खबरदारी गरे। कहिले आफ्नो नेतृत्वमा त कहिले काँग्रेस र एमालेको नेतृत्वमा सत्ताको वरिपरि नै रहेका प्रचण्ड प्रतिपक्षी दल बन्न पुगेपछि आक्रोश पोख्दै आएका छन्।

प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सत्ता गुमाएको पीडा मिश्रित आक्रोश पोख्दै श्रीलङ्का र बङ्गलादेशको अवस्थाबारे सचेत गराए।

काँग्रेस र एमालेलाई माओवादीले ०६४ पछि सत्तामा पालैपालो साथ दिएको छ। जनतालाई फुस्रा आश्वासन दिएर सत्ताको वरिपरि घुमिरहने नेताहरूको व्यवहार नबुझ्ने कोही छैनन्। श्रीलङ्का र बङ्गलादेशको जस्तो अवस्था आउँदा नयाँ पुराना कुनै पनि नेता जोगिने छाँट देखिएको छैन।

उही पुरानै रटान सत्तामा हुँदा प्रतिबद्धता जनाउने र प्रतिपक्षी हुँदा विरोध गर्ने नेताहरूको नानीदेखिको बानीले स्वयं उनीहरूलाई खोक्रो बनाइरहेको छ।

प्रचण्ड भने अहिलेको जनआक्रोश काँग्रेस एमालेमाथि मात्रै भएको जस्तो गरी आफू आन्दोलनको पुनर्गठनको तयारीमा रहेको र आगामी चुनावबाट एकल सरकार चलाउने गरी जनताबाट अनुमोदन भएर आउने स्वर्णिम कल्पना सुनाइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि अहिलेको जनआक्रोश काँग्रेस एमालेमाथि नै भएको दाबी गरेका छन्। पुराना दलकै कारण आफूहरू राजनीतिमा आएको उल्लेख गर्दै लामिछानेले स्थानीय तहको निर्वाचनमा स्वतन्त्रहरूले जिते पनि अझै चेत नखुलेको सुनाए।

सुशासनको वकालत गर्दै आएका लामिछाने आफैँ सहकारीको बचत रकम अपचलनमा मुछिएका छन्। सच्चिनु पर्ने नेताहरू नै अरूलाई देखाएर उम्किने प्रयासमा लागेका छन्।

प्रतिनिधिसभाको बैठकपछि रास्वपा सभापति लामिछानेले राजनीतिक दल र नेताहरू प्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको बताए।

लामिछानेले दुई तिहाइको सरकारमाथि ठुलो घण्टी बजिसकेको बताएर आफ्नो दल चोखो रहेको देखाउन खोजे पनि उनकै पार्टी भित्रको भाँडभैलो भने छताछुल्ल भएको छ।

लामिछानेमाथि आरोप लगाउने महामन्त्री मुकुल ढकाल पार्टीबाट निष्कासनमा परेका छन्। लामिछानेमाथि कुशासनको आरोप लगाउने ढकाललाई मङ्गलवार मात्रै पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको कार्यवाहक प्रवक्ता मनिस झाले जानकारी दिए।

देशको पुरानो पार्टी नेपाली काँग्रेसमा तरमारा नेताहरूले राज गरिरहने मनसाय राखेपछि विवाद भएको छ। महासमिति बैठकमा प्रस्तुत राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री ३ र सांसद ४ कार्यकाल मात्र हुन पाउने एक्जीट पोलिसिको प्रस्तावले काँग्रेस भित्रको घर झगडा छरपस्ट भएको छ।

सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा पटकपटक छलफल गरेर थमथम्याउने प्रयास गरे पनि सहमति हुन नसक्दा केन्द्रीय समितिको बैठक नै सारिएको छ। बुधवार दिउँसो ३ बजेका लागि तय भएको बैठक आगामी आइतबार भदौ १६ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

विवाद मिलाउन देउवाले उपसभापति र महामन्त्रीद्धयलाई बोलाएर छलफल गरे पनि सहमति नजुटेपछि केन्द्रीय कार्यसमिति बैठक सारिएको हो।

टुँडिखेलमा लाग्यो ‘देश छोड’को नारा : रिसाए ओली, जङ्गिए देउवा

जनताको सेवा गर्ने नाममा आफ्नै र आफ्नाहरूलाई मात्रै पोस्ने दलका नेताहरूको पाराले व्यवस्थाविरुद्ध नै आक्रोश पोखिन थालेको छ।

तर, सरकार र नेताहरूप्रतिको आक्रोशलाई डन्डा चलाएर नियन्त्रण गर्ने प्रयास भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा भएको नाराबाजीमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। कार्यक्रम बिथोल्न खोज्ने दुई युवकलाई प्रहरीले मङ्गलवार नियन्त्रणमा लिएको जनाएको हो।

विभिन्न मिडियामा आएका भिडिओ र टुँडिखेल वरिपरिका सिसिटिभी फुटेजका आधारमा अन्यको पनि पहिचान गर्ने काम भइरहेको प्रहरी स्रोतले बताएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गौरा पर्वको कार्यक्रममा युवाहरूले नेताहरूप्रति आक्रोश पोख्दै ‘मुर्दावाद’को नारा लगाएका थिए। युवाहरूको उक्त शैलीप्रति ओली र देउवा दुवैले सम्बोधनको क्रममा आपत्ति जनाएका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.