काठमाडौं : परिवार र समाजले सोचेको भन्दा विल्कुल फरक प्रकृतिका व्यक्ति हुन् तीर्थमान शाक्य र दीपक महर्जन। उनीहरूलाई आमाबुबा र समाजले छोरा भनेर पहिचान दिए। तर, त्यसमा नअटेको महसुस गरे उनीहरूले।
दुवैले आफूलाई महिला भएको फिल गरे। ‘आमाले जन्माएको छोरा नै हुँ,’तीर्थमानले भने,’भित्रबाट आएको र मैले बुझेको अनुसार तेस्रो लिङ्गी भन्न मन पराउँछु।’
समाजले सोचेको भन्दा फरक तेस्रो लिङ्गी महिला हुन तीर्थमान र हनी। कीर्तिपुरको गोरखनाथ माध्यमिक विद्यालयमा अध्ययन गरे उनीहरूले। ४० वर्ष अघि आफ्नो पहिचानबारे बुझाउन नसक्दा र स्कुलले नबुझ्दा बिचमै पढाई छोड्न बाध्य भए उनीहरू।
हरेक शुक्रवार विद्यालयमा नाच हुने गर्थ्यो। तीर्थमान र दीपक तेस्रो लिङ्गी महिलाको पहिरनमा भाग लिन्थे। एक दिनको शुक्रवार भने तीर्थमानले प्रधानाध्यापकको लौरो खाए। ‘केटा भएर कहाँ केटी भएर नाचेको? सरले लौरोले हान्नु भन्नु भयो,’तीर्थमानले भने,’अहिले जस्तो सबैले बुझ्ने भएको भए हामी पनि धेरै पढ्थ्यौ,ठुलो ठाउँमा पुग्थ्यौँ।’
चार दशक अघि कीर्तिपुर वरपर भएका विद्यालयमा सीमान्तकृत बालबालिकालाई प्रवेश सहज थिएन। जातीय भेदभाव थियो। त्यसको बाछिटा विद्यालयहरूमा पुगेको थियो। सहज रूपमा सीमान्तकृत समुदायका बालबालिका शिक्षा लिन पाउँदैनथे।
अभिभावकहरूलाई पनि आफ्ना सन्तानलाई शिक्षा दिनुपर्छ भन्ने चेतना थिएन। उपत्यकाभित्रै भए पनि कीर्तिपुरको छेउछाउ अति दुर्गम र पिछडिएको थियो। सीमान्तकृत बालबालिकाका लागि भनेर स्थापना भएको हो गोरखनाथ विद्यालय। त्यही विद्यालयमा भर्ना भएका थिए तीर्थमान र दीपक।
विद्यालयका प्रधानाध्यापक मखमल श्रेष्ठ वरपर रहेका विद्यालयमा सीमान्तकृत बालबालिकाको पढ्न नपाउने समस्या गोरखनाथ विद्यालय स्थापना भएपछि अन्त्य भएको बताउँछन्। हीराबहादुर मानन्धर, डोरबहादुर विष्ट र मीनबहादुर श्रेष्ठ नभएको भए विद्यालय स्थापना नै नहुने उनले सुनाए।
कीर्तिपुरमा रहेका पोडे, च्यामे, सार्की, गाइने, दमाई, कसाइ सहित सीमान्तकृतका बालबालिकाका लागि गोरखनाथ विद्यालय स्थापना भएको उनले बताए। तर, उनले तीर्थमान र दीपकको फरक लैङ्गिक पहिचानबारे उतिबेला भेउ पाएनन्।
फरक लैङ्गिक पहिचानकै कारण तीर्थमान र दीपकले जस्तै अरू विद्यार्थीले बिचमै पढाई छोड्नु पर्ने अवस्था आउन नदिन विद्यालयमा समलिङ्गी तेस्रो लिङ्गीलाई आमन्त्रण गरेर अतिरिक्त कक्षा सञ्चालन हुने गरेको उनले बताए। ‘उहाँहरू(तीर्थमान र दीपक) आउनुहुन्छ,के सहयोग गरौँ भन्नुहुन्छ,’प्रधानाध्यापक श्रेष्ठले भने,’विद्यालयलाई लैङ्गिक मैत्री बनाउन उहाँहरूले सहयोग गर्नु भएको छ।’
मङ्गलवार पनि रिसर्चर सविना गौतमको सहयोगमा समर्पण सभ्य समाज नेपालले विद्यालयमा सेक्स र जेण्डरबारे विद्यार्थीहरूलाई अभिमुखीकरण कक्षा सञ्चालन गर्यो। नमस्तिका श्रेष्ठले यौन र लैङ्गिकताबारे विद्यार्थीहरूसँग अन्तरक्रिया गरे। ‘पुरुष, महिला र अन्तरलिङ्गी तीन किसिमको सेक्स हुन्छ,’नमस्तिकाले भने,बाहिरबाट हेर्दा केटा या केटी भनेर छुट्टाउन सकिँदैन। जेण्डर समाजले दिएको पहिचान हो।’
समर्पण सभ्य समाज नेपालका अध्यक्ष तीर्थमान र सचिव दीपकले समलिङ्गी, तेस्रो लिङ्गी भएकै कारण विद्यालय शिक्षाबाट कोही पनि बालबालिका वञ्चित हुनु नपरोस् भनेर बुझाउन आएको सुनाए। ‘हामीहरू यही विद्यालयका विद्यार्थी हौँ,हाम्रो पहिचानबारे सर मिसहरूले बुझ्नु भएन,’दीपकले भने,’अहिले उहाँहरूले बुझ्नु भएको छ,बेलाबेलामा स्कुलमा बोलाउनुहुन्छ,खुसी लाग्छ।’
उनीहरूले अहिले जस्तो पाठ्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकबारे राखेको भए शिक्षक शिक्षिकाले पनि बुझ्ने र आफूहरूको पढाई पनि नछुट्ने बताए। ‘धेर थोर अहिले त पाठ्यक्रममा राखिएको छ,अहिलेका शिक्षक तथा विद्यार्थीलाई बुझ्न र बुझाउन सहज छ,’उनीहरूले भने,’पाठ्यक्रममा केही अपुरो छ,केही अनावश्यक शब्द पनि छ,त्यसलाई सच्याउन शिक्षा मन्त्रालयलाई अनुरोध गरिरहेका छौँ।’
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे अनुसन्धान गरिरहेकी हेराल्ड इन्टरनेशनल कलेजमा बिपिएच अध्ययनरत सविना गौतमले खुलस्त रूपमा बाहिर आउन अनुरोध गरिन। ‘जन्मेको प्राकृतिक हो। सामान्यीकरण गरेर लैजानु पर्छ। हामीले पढ्दा पाठ्यक्रममा थिएन,’उनले भनिन्,’अहिले त यति धेरै संस्थाहरू खुलेका छन्। गलत तरिकाले नलिनुहोस्। कसैलाई हेट गर्नुपर्ने कुनै कारण छैन। प्रकृतिलाई कसैले रोक्न सक्दैन।’
समर्पण सभ्य समाज नेपालले फरक लैङ्गिक पहिचानका कारण विद्यालय शिक्षाबाट वञ्चित नगराउन अभिभावकहरूलाई पनि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.