सांसदहरू मुक्कामुक्की गर्ने अवस्थामा

सांसदहरू मुक्कामुक्की गर्ने अवस्थामा

काठमाडौं : सांसदहरू जनताको निराशा अन्त्य गर्ने तिर नलागी आफू आफैँ झगडा गर्न थालेका छन्। कानुन निर्माण गर्ने थलोको रूपमा चिनिँदै आएको संसद्मा परिआए मुक्कामुक्की नै गर्ने अवस्थामा सांसदहरू पुगेका छन्।

विगतमा माओवादीले गरेको १० वर्षे सशस्त्र युद्धका कारण देश कङ्गाल बनेको सत्तारुढ दलका सांसदले बताएपछि हिंसात्मक युद्ध गरेको माओवादी आक्रोशित बनेको छ।

शासन व्यवस्था परिवर्तनका नाममा ७६१ वटा सरकार बनाएर कार्यकर्ता व्यवस्थापन गरी अर्बौँ रुपैयाँ झ्वाम्म पारेका दलहरू लाजै पचाएर आफूआफूमा झगडा गर्न थालेका छन्।

युवा जमातलाई विदेशी भूमिमा धकेलेर पालैपालो सत्ताको रसास्वादनमा झुमेका नेताहरूको चर्तिकला भ्रष्टाचार काण्डैकाण्डले छर्लङ्ग पारिरहेको छ। नक्कली भुटानी शरणार्थी, गिरिबन्धु, सुन तस्करी, सरकारी जग्गा कब्जा लगायत दर्जनौँ भ्रष्टाचारका मुद्दाले नेताहरू बिटुलिएका छन्।

तर, उनीहरू नै एकअर्कालाई सच्चिन उपदेश दिँदै आएका छन्। नयाँ व्यवस्थाअनुसार सरकार बने, अहिलेको व्यवस्थाका लागि सङ्घर्ष गरेको जस मात्रै नभएर राज्यको ढुकुटी लुटिरहेका तीन दल काँग्रेस, एमाले, माओवादी हुँदै नयाँ भनिएको रास्वपाका नेताहरू पालै पालो सरकार चलाइरहेका छन्।

तर उपलब्धि शून्य प्राय छ। गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि संसद्मा सत्तारुढ दलकै सांसदले आपत्ति जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नेमध्ये हालसम्म तीन जनालाई पक्रेर प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ। सत्तारुढ नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले आगोको झिल्का सानो नहुने भन्दै विनाशक हुनेतर्फ सरकार र संसद्को ध्यानाकर्षण गराए।

त्यसअघि आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले हो–हल्ला गरेको अभियोगमा पक्राउ परेका युवाहरूलाई रिहा नगरे जनआक्रोश थप बढ्ने धम्की दिए।

एमाले-माओवादी घम्साघम्सी

तत्कालीन विद्रोही माओवादीले गरेको १० वर्षे सशस्त्र युद्ध हिंसा शब्दलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रबीच घम्साघम्सी भएको छ। प्रतिनिधिसभाको बैठकमा सत्तारुढ एमालेका सांसद योगेश भट्टराईले माओवादी युद्धलाई हिंसा भनेपछि प्रमुख प्रतिपक्षी दल माओवादीका सांसदहरूले उठेर विरोध मात्रै जनाएनन् लामै समय तर्कविर्तक गरे।

माओवादी सांसद माधव सापकोटाले नियमापत्ति गर्न खोज्दा सभामुख देवराज घिमिरेले माइकको लाइन नदिएपछि माओवादीका अरू सांसदहरू पनि उठेर आपत्ति जनाए। त्यसपछि उठेका माओवादी सचिव देवेन्द्र पौडेललाई सभामुखले माइक दिए। मौका पाएपछि पौडेलले माओवादी शान्ति प्रक्रियाको पक्षमा रहेको भन्दै हिंसा शब्द रेकर्डबाट हटाउन माग गरे।

पौडेलले बोलिसके पछि भट्टराईले आफूलाई बोल्न रोक्नु पनि हिंसा नै हो भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले फेरि नियमापत्ति जनाए।

माओवादीसँग दोहोरी खेलेका भट्टराई सभामुखको रुलिङमा पनि जङ्गिँदै एमालेको राजनीतिक प्रतिबद्धतामा केही पनि छानबिन नहुने बताए।

आफ्नो कुरा सिद्ध्याउन दिएको एक मिनेटको समयमा पनि भट्टराईले हिंसा शब्दको व्याख्या गरेपछि माओवादीका सांसदहरू थप आक्रोशित भए।

लगातार सत्तापक्ष र प्रतिपक्षको दोहोरी खेल्ने क्रममा एमाले सांसद रघुजी पन्तले पनि माओवादीको विरोध र आफ्ना पार्टीका सांसद भट्टराईले भन्न खोजेको हिंसा शब्द प्रयोग गर्नुको अर्थ सम्झाए।

सभामुख घिमिरेले यो शब्द संसदीय मर्यादामा पर्छ पर्दैन, रेकर्डबाट हटाउने नहटाउने भन्ने विषय तत्काल नटुङ्गिने भएको बताएर कार्यसूची अघि बढाए।

त्यसपछि बोल्ने समय पाएकी नागरिक उन्मुक्ति पार्टीकी विवादित अध्यक्ष रञ्जिता श्रेष्ठले संसद्को रोइलो देखेर आफू अलमलमा परेको बताउँदै संसद् हेर्न आएका दुई विद्यालयका विद्यार्थीले के सिके होलान्? भनेर चिन्ता व्यक्त गरिन।

जनआक्रोशलाई क्यास गर्ने विपक्षीको दाउ, नारा लगाउने पक्राउ

टुँडिखेलमा लाग्यो ‘देश छोड’को नारा : रिसाए ओली, जङ्गिए देउवा

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.