भ्रष्टाचारविरुद्ध जनआक्रोश : युवाहरू सडकमा, नेताहरू हिलोछ्याप्न व्यस्त

भ्रष्टाचारविरुद्ध जनआक्रोश : युवाहरू सडकमा, नेताहरू हिलोछ्याप्न व्यस्त

काठमाडौं : गौरा पर्वका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेर टुँडिखेलबाट सुरु भएको जनआक्रोशको झिल्को सङ्घीय संसद् भवनसम्म पुगेको छ। गणतन्त्र आएको १८ वर्षसम्म बनेका सरकारले जनअपेक्षाअनुसार काम नगरेको भन्दै युवाहरू सडकमा उर्लिएका छन्।

ओली र देउवाविरुद्ध नाराबाजी गर्ने तीनै जना रिहा भएका छन्। नाराबाजी गरेको आरोपमा प्रहरीले कञ्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको थियो। उनीहरूलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो।

संविधान अनुसार राज्यको हरेक निकायमा दलितको सहभागिताको माग राख्दै दलितका लागि दलित अभियानको संयोजनमा अभियानका संयोजक खगेन्द्र सुनारले २५ दिनदेखि जन्जिर आन्दोलन माइतीघर मण्डलामा निरन्तर जारी छ। आन्दोलनमा राजनीतिक दलका नेताहरूले पनि ऐक्यबद्धता जनाउँदै आएका छन्। तर, माग पुरा गर्न सकेका छैनन्।

तीन सातादेखि विद्युत्को २२ अर्ब बक्यौता उठाउन माग गर्दै विरोध प्रदर्शन गर्दै आएका युवाहरूले शनिवार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले आफूहरूको आन्दोलनमा बौद्धिक वर्गको पनि साथ रहेको दाबी गरेका छन्।

संसद् भवनमा अर्धनग्न आन्दोलनमा उत्रिएका अर्का प्रदर्शनकारीले भने प्रहरीले साथ दिए भ्रष्टहरूलाई तह लगाउन सकिने बताएका छन्। बङ्गलादेशमा हसिना सरकार ढाल्न प्रहरीले पनि आत्मसमर्पण गरेको उल्लेख गर्दै प्रदर्शनकारीले भ्रष्ट नेतालाई बालुवाटार र सिंहदरबारबाट लखेट्ने बताए।

युवालाई साथ दिन पुगेका एक वृद्धले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पालै पालो प्रधानमन्त्री भएर देश नबनेको सुनाए।

अहिलेको जनआक्रोशलाई क्यास गर्न धरानका मेयर हर्क साम्पाङ पनि काठमाडौँ आएका छन्। पार्टी खोल्न लागेको बताएका साम्पाङले प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने भन्दै आफू सरकारको नेतृत्वमा आउन तयार रहको सुनाए।

ओली प्रचण्ड जुहारी

सत्तारुढ र प्रतिपक्षी दलका नेताहरू भने जनआक्रोश शान्त पार्न भन्दा पनि एकअर्कालाई हिलोछ्प्याने काममा लागेका छन्। यसअघि श्रीलङ्का र बङ्गलादेशको चेतावनी दिएका पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले १७ हजार मान्छे मारेर राजनीतिमा आएको फुर्ती नदेखाउन भनेका छन्।

काठमाडौँमा आयोजित क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले बङ्गलादेश र श्रीलङ्काको घटनाबाट ठुलो डर प्रचण्डलाई नै भएको बताए। ओलीले आफूले १७ हजार मान्छे नमारेको भन्दै आफूले खुट्टा नकमाउने पनि बताए।

बङ्गलादेशमा जे भयो नेपालमा त्यही हुन्छ भन्ने कुरामा कुनै सत्यता नभएको बताउँदै उनले नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको जिकिर गरे।

जनअपेक्षाअनुसार काम नभएको भन्दै जनता सडकमा आइसक्दा पनि प्रधानमन्त्री ओली आफ्नो प्रधानमन्त्रीको पालो अझै एक वर्ष १० महिना १५ दिन बाँकी रहेको बताए। आफूले काँग्रेससँग भएको सहमति अनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने पनि उनले बताए।

अहिले प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भने अहिलेको गठबन्धनबाट केही आशा गर्न नसकिने टिप्पणी गरेका छन्। पार्टीको कर्णाली प्रदेश भेलालाई वीरेन्द्रनगरमा सम्बोधन गर्दै लामिछानेले हुँदै भए तीन वर्ष बाँडिचुँडी खानेबाहेक अहिलेको गठबन्धनले केही नगर्ने आरोप लगाए। २०७९ सालमा झिल्को बनेर आएको आफ्नो पार्टी ८४ मा राँको बनेर आउने दाबी समेत उनले गरे।

सहकारीको बचत रकम अपचलनमा छानबिनमा तानिएका लामिछानेले आफूले कुनै कमजोरी नगरेको जिकिर पनि गरे। ठुला दलहरूले रविलाई सिद्ध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेको भए त्यो असम्भव रहेको पनि लामिछानेको प्रस्टोक्ति थियो।

काँग्रेसमा एक्जीट पोलिसिको तनाव

नेपाली काँग्रेसमा एक्जीट पोलिस पारित भए सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नपाउने भएका छन्। एक्जीट पोलिसि पारित भए महामन्त्री गगन थापाको सांसद पद पनि यो नै अन्तिम हुने छ। एक्जीट पोलिसीमा एक कार्यकाल राष्ट्रपति, दुई कार्यकाल प्रधानमन्त्री, तीन कार्यकाल मन्त्री र चार कार्यकालसम्म मात्र सांसद बन्न पाउने भनिएको छ।

देउवा पाँचौँ पटक प्रधानमन्त्री बनिसकेका छन् भने गगन चार पटक सांसद। एमालेसँग सत्ता साझेदार गरेको काँग्रेसमा देउवालाई भावी प्रधानमन्त्रीको रूपमा हेरिएको छ। देउवालाई प्रधानमन्त्रीमा रोक्न ल्याइएको भनिएको प्रस्तावले अर्को चुनावमा गगनसहित काँग्रेसका दर्जनौँ सदस्य सांसदकै उम्मेदवार बन्न नपाउने देखिएको छ।

जनतालाई फुस्रा आश्वासन दिएर नेतृत्वमा पुग्ने र आफ्नो दुनो सोझ्याउन बानी परेका नेताहरूलाई यो एक्जीट पोलिसीले छटपटी बनाएको छ। सभापति देउवाले पनि समस्या हल नहुने देखेपछि पटकपटक केन्द्रीय समितिको बैठक सार्दै आएका छन्।

सभापति देउवाको निवास बुढानीलकण्ठमा शनिवार भएको छलफलमा महामन्त्री थापाको प्रतिवेदनलाई केही परिमार्जनसहित अन्तिम रूप दिएर पेस गर्ने तयारी गरिएको छ। तर महामन्त्री शर्माले भने कार्यसमिति भित्र केही विवाद देखिए पनि आफ्नो प्रतिवेदन केन्द्रीय समितिबाट पास हुने दाबी गरे।

यसअघि स्थगित भएको काँग्रेस केन्द्रीय समितिको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ। दुई महामन्त्रीको प्रतिवेदनमा संस्थापनपक्ष सहमत नहुँदा केन्द्रीय समिति बैठक पटक–पटक सर्दै आएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.