चिकित्सा शिक्षा आयोगमा भद्रगोल, त्रुटि सच्याउँदैमा हैरान

चिकित्सा शिक्षा आयोगमा भद्रगोल, त्रुटि सच्याउँदैमा हैरान

काठमाडौँ : चिकित्सा शिक्षा स्नातक तहमा भर्ना हुने विद्यार्थी छनौट भएका छन्। चिकित्सा शिक्षा आयोगले भदौ १ गते एमबिबिएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो। आयोगको कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको बसेको बैठकले योग्यताक्रममा रहन सफल परीक्षार्थीको नतिजा सार्वजनिक गरेको हो।

परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्ने गरी व्यवस्था मिलाएको आयोगले जनाएको छ। न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्न पत्र सेटको बबल नभरेका वा बबल गलत भरेकाहरूको परीक्षा नै रद्द भएको छ।

झुटा विवरण पेस गरी परीक्षामा सम्मिलित भएको पाइएमा त्यस्ता परीक्षार्थीको नतिजा जुनसुकै बखत रद्द गरिने आयोगका उपसचिव धनबहादुर श्रेष्ठले निकालेको विज्ञप्तिमा लेखिएको छ।

प्रकाशित नतिजा अनुसार अनिशराज प्रजापतिले १७८ स्कोर ल्याएर १ नम्बरमा नाम निकालेका छन्। १७५.५ स्कोर ल्याएका मधुसूदन प्रसाद साह दोस्रो र १७३.५ स्कोरसहित सङ्गम थापाले तेस्रो स्कोर पाए।

आयोगको नतिजा प्रकाशन यो पटक पनि विवादरहित भने हुन सकेन। विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शन नै गरे। विद्यार्थी आन्दोलनमा उत्रेपछि आयोगले समान अङ्क प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम ‘टाइब्रेक’ का आधारमा कायम गर्नुपर्नेमा रोल नम्बरका आधारमा हुनु गएको स्वीकार गर्‍यो।

समान अङ्क ल्याउने उम्मेदवारहरूको योग्यताक्रम टाइब्रेकको आधारमा कायम हुनुपर्नेमा प्राविधिक त्रुटि भएकाले यसअघि प्रकाशित नतिजालाई आयोगको अभिलेखअनुसार संशोधन गरी टाइब्रेकको आधारसमेत संलग्न गरी प्रकाशित गरिएको आयोगले जनाएको छ।

‘संशोधित नतिजामा समान अङ्क प्राप्त गरेका उम्मेदवारहरूको मात्र योग्यताक्रम परिवर्तन भएको, अन्य उम्मेदवारहरूको योग्यताक्रम यथावत् रहेको र सबै परीक्षार्थीहरूले प्राप्त गरेको प्राप्ताङ्कमा कुनै परिवर्तन नभएको ब्यहोरा अनुरोध छ,’आयोगका उपसचिव धनबहादुर श्रेष्ठले निकालेको सूचनामा लेखिएको छ।

विद्यार्थीको आन्दोलनले आयोगलाई प्रवेश परीक्षाको उत्तर पुस्तिका र उत्तर कुञ्जिका उपलब्ध गराउने सूचना प्रकाशित गर्न बाध्य पनि बनाएको छ। परीक्षाको नतिजामा चित्त नबुझी उत्तर पुस्तिका र उत्तर कुञ्जिका माग गरेमा नतिजा प्रकाशनको क्रममा कोडिङ गरी स्क्यान गरिएको उत्तर पुस्तिकाको शीर्ष भाग र मूल भाग एवं सम्बन्धित सेटको उत्तर कुञ्जिकाको फोटोकपी उपलब्ध गराउने उपसचिव श्रेष्ठले निकालेको सूचनामा लेखिएको छ।

नतिजामा चित्त नबुझेका उम्मेदवारहरूले भदौ २३ देखि ३१ गतेसम्म प्रवेश पत्र र नागरिकता संलग्न गरी आयोगमा स्वयं उपस्थित भई निवेदन दिनुपर्नेछ। आयोगले २०८१ मा लिएको परीक्षाको नतिजा दुई पटक सार्वजनिक गरेको छ।

आयोगले ४९.५ स्कोर ल्याउनेहरूको समेत गरी ७ हजार ८४७ जनाको नाम सार्वजनिक गरेको छ। आयोगले नतिजा प्रकाशनमा भद्रगोल गरेको भन्दै प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रश्न गरेका छन्। सांसदहरूले यसलाई मानवीय नभएर दानवीय त्रुटि भनेका छन्।

यसअघि २०७४ सालमा त्रि.वि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले दोस्रो पटक एमबिबिएसको प्रवेश परीक्षा लिएको थियो। २८ असोजमा लिएको एमबिबिएसको प्रवेश परीक्षामा इलेकट्रोनिक डिभाइसद्वारा चिट चोरेको पाइएपछि आईओएमले परीक्षा रद्द गरी १६ मङ्सिरमा पुन परीक्षा लिएको थियो।

त्यतिबेला देखि नै परीक्षा केन्द्रमा मेटल डिटेक्टरमार्फत परीक्षार्थीको सुरक्षा जाँच गर्न थालिएको हो। परीक्षामा पावरवाल चस्मा बाहेक अन्य चस्मा, मोबाइल तथा घडी प्रयोग गर्न दिइँदैन।

२०७९ मा आयोगले सञ्चालन गरेको परीक्षाको नतिजामा छात्रवृत्तिका लागि सामुदायिक विद्यालयबाट नक्कली प्रमाणपत्र बनाएको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.