"/>

लौका आकारको झरना अवलोकन गर्न पुग्नेहरूको ताँती (भिडियो)

लौका आकारको झरना अवलोकन गर्न पुग्नेहरूको ताँती (भिडियो)

काठमाडौँ : सम्पादक समाज नेपालले पत्रकारहरूलाई नुवाकोटको लौके झरना अवलोकन एवं पदयात्रा गराएको छ। समाजले सञ्चार माध्यम मार्फत जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै वातावरण संरक्षणका लागि सचेतना अभियान आरम्भ पैदल यात्राबाट गरेको जनाएको छ।

सम्पादक समाज नेपालले जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका लागि आफ्ना सदस्य र प्रमुख सञ्चार माध्यमका सञ्चारकर्मीलाई समेटेर “स्वस्थ जीवन, उत्तरदायी पत्रकारिता“ भन्ने नारा सहित शिवपुरी–८ स्थित लौके झरनासम्मको पदयात्रा एवं अवलोकन भ्रमण गराएको हो।

टाढा जान नसक्ने र जान नचाहने आन्तरिक पर्यटकहरूले त्रिशूली–छहरे काठमाडौँ सडकका छेउछाउमा रहेका ससाना झरनामा पुगी मनोरञ्जन लिने गरेका छन्। पत्रकार तथा अन्य आन्तरिक पर्यटकले ठुलो मुस्लो गरी झरेको झरनाको छिटाको स्पर्श लिनुका साथै केहीले स्नानसमेत गरेर आनन्द लिए।

शिवपुरी गाउँपालिकामा आकार र पानीको परिमाणका हिसाबले ठुला झरनामा लौके, लप्से, चिलाउने, लक्षिनेश्वरी र छुङछुङ छन् भने नुवाकोट जाने बाटामा ससाना थुप्रै झरना रहेका छन्। पदयात्रामा समाजका अध्यक्ष पुरु रिसाल, महासचिव श्याम डोटेल, वियोगी पत्रकार अध्ययन केन्द्रका संरक्षक किरण वैद्यलगायत काठमाडौँ उपत्यका र नुवाकोटमा कार्यरत सम्पादक, पत्रकारहरू गरी एक सय भन्दा बढीको सहभागिता रहेको थियो।

पत्रकारहरूलाई शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले स्वागत गरेका थिए। छहरे–टोखा सडकको बीचबाट सहजै झरनामा पुग्न सकिने भएपछि आन्तरिक पर्यटकको रोजाइमा लौके झरना परेको छ।

वातावरण जोगाउनु र विपद् न्यूनीकरण गर्नु सम्पूर्ण सञ्चार जगतको प्रमुख दायित्व भएको समाजका महासचिव श्यामकाजी डोटेलले बताए। ‘काठमाडौँ उपत्यकालाई घेर्ने चारै दिशाका पहाड र वनजंगल पर्यावरण र पानीका प्रमुख स्रोत हुन्। बढ्दो जनघनत्व र बस्ती विस्तारका कारण हाम्रा धेरै संरक्षित क्षेत्रहरू मासिँदै गएका छन्,’उनले भने,’राज्यको खबरदारी, नेपाली सेनाको पहरदारीका कारण “नागार्जुन शिवपुरी राष्ट्रिय निकुञ्जले ओगटेको वन क्षेत्र भने हालसम्म जीवन्त छ। यहाँको जीवन्ततालाई मासिन नदिनु हामी सबैको कर्तव्य हो।’

काठमाडौँ उपत्यकामा बसेर यसका भञ्ज्याङ्ग तिर पुग्ने, प्रकृतिसँग रमाउने स्वस्थ र स्वच्छ हावा लिने मौका मिल्नु कठिन बन्न थालेको छ। जलवायु परिवर्तनका कारणले काठमाडौँ वरपरको स्वच्छ वातावरण बिस्तारै प्रदूषित हुन थालेको छ। गर्मीमा अधिक गर्मी र अधिक वर्षाले भूक्षय, बाढी, पहिरो, कटान र डुबानका समस्याहरू बढ्न थालेका छन्।

लौके झरनाको प्रचारप्रसारसँगै अवलोकनका लागि पुग्नेहरूले प्लास्टिक, बोतल यत्रतत्र फालिदिँदा वातावरण प्रदूषित बन्ने चिन्ता समाजका संस्थापक किरण वैद्यले गरे। उनले वातावरण जोगाउन सबै लाग्नु पर्ने सन्देश दिन लौके झरनाको अवलोकनका लागि पैदलयात्रा कार्यक्रम गरिएको जानकारी दिए।

पैदलयात्रा पछि सम्पादक समाज नेपालले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासँग जलवायु परिवर्तनका वातावरणमा पर्ने असर न्यूनीकरणबारे अन्तरक्रिया पनि गरेको छ। ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका लागि अपनाउनुपर्ने रणनीति’का सम्बन्धमा गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, शिवपुरी–७, सूर्यचौर, नुवाकोटमा भएको अन्तर्क्रियामा मुख्यमन्त्री लामाले वातावरण संरक्षणमा सबै लाग्नु पर्ने बताए।

शिवपुरी गाउँपालिकाका अध्यक्ष थपलियाले झरना, हरियालीपूर्ण वातावरण, शक्तिपीठहरू भएको तपोभूमि शिवपुरीमा आन्तरिक पर्यटन बढाएर स्थानीय जनताको आयआर्जन बढाउन प्रचारप्रसार, महोत्सव, घरबास तालिम जस्ता कार्यक्रम आयोजना गरिरहेको जानकारी दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.