मन्त्रीहरूसँग प्रधानमन्त्रीको सम्झौता : श्राद्धमा बिरालो बाँधेको रूपमा प्रयोग नगर्नु

मन्त्रीहरूसँग प्रधानमन्त्रीको सम्झौता : श्राद्धमा बिरालो बाँधेको रूपमा प्रयोग नगर्नु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको छ। यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच पनि कार्यसम्पादन सम्झौता भएको छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन (२०८१ कात्तिक ६ गते) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन (२०८१ माघ १७) गतेसम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१–०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश छन्।

प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्ने योजना रहेको छ।

सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत प्रभावकारी काम नभएपछि प्रधानमन्त्री ओलीले मन्त्री र मुख्यसचिवसँग उक्त सम्झौता गरेका हुन्। उनले सम्झौतालाई श्राद्धमा खोजेर बाँधेको बिरालोको रूपमा प्रयोग नगर्न भन्दै काम गरेर देखाउन सुझाएका छन्।

लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्याङ्कन गर्न यस प्रकारको सम्झौताको पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो।

अहिलेको सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै प्रधानमन्त्री ओलीले योजनाबद्ध हिसाबले तीव्रताका साथ काम कारबाही अघि बढाउन मन्त्रीहरूलाई निर्देशन दिए। ‘जबसम्म बौद्ध भिक्षु रहन्छु तबसम्म घण्टी बजाइरहन्छु’ भन्ने एक चिनिया भनाइको बिम्ब प्रस्तुत गर्दै ओलीले औपचारिकतामा सीमित नहुन भनेका छन्।

नेपाल बाहिर रहेका कारण अनुपस्थित पर्यटन, वन र कानुनमन्त्रीसँगको कार्यसम्पादन सम्झौता भने पछि हुने भएको छ।

न्यूनतम साझा कार्यक्रम तयार गर्न मस्यौदा समितिको छलफल

सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न बनेको मस्यौदा समितिले पनि प्रारम्भिक छलफल थालेको बताएको छ। सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत न्यूनतम साझा कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना भए पछि गत आइतबार साँझ प्रधानमन्त्री ओली र काँग्रेसका सभापति शेरबहादुर देउवाले चार सदस्यीय मस्यौदा समिति बनाएका थिए।

समितिमा काँग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन्। समिति सदस्य महतले बैठक बसेर छलफल सुरु गरेको तर टुङ्गिन २–४ दिन लाग्ने जानकारी दिए।

कमजोर नबनाउने देउवाको बचन

देशका दुई ठुला दल काँग्रेस एमालेको दुई तिहाइको सरकार बनेसँगै आत्तिएका साना दललाई काँग्रेस सभापति शेरबहादुर देउवाले भने कमजोर नबनाउने बचन दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले दुई ठुला दलको सहमतिले अरू राजनीतिक दल तर्सिएको भन्दै आफ्नो र प्रधानमन्त्री ओलीको नीति त्यस्तो नभएको सुनाए।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबाट बालुवाटारमा जन्मदिनको खादा लगाएका देउवाले आफू राजनीतिबाट बाहिरिने बेला भइसकेको पनि बताए।

माओवादीसँगको गठबन्धनले देशभर पार्टी पङ्क्ति असन्तुष्ट भएको उल्लेख गर्दै देउवाले अहिले काँग्रेस छोडेकाहरू पनि फर्किने क्रम सुरु भएको दाबी गरे।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.