एजेन्सी : भारतको अर्थ मन्त्रालयले अगस्ट तेस्रो साता आफ्नो वित्तीय सेवा विभागमार्फत एउटा एडभाइजरी जारी गर्यो। जसमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको लागि संयुक्त बैङ्क खाता खोल्न र समलैंगिक सम्बन्धमा रहेका व्यक्तिलाई नामित गर्न कुनै प्रतिबन्ध नरहेको स्पष्ट गरियो।
‘२०२३ अक्टोबर १७ मा सुप्रिम कोर्टको फैसलाको सम्बन्धमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई संयुक्त बैङ्क खाता खोल्न र र खाताधारकको मृत्यु भएको अवस्थामा खातामा रहेको बाँकी रकम प्राप्त गर्नका लागि समलैंगिक सम्बन्धमा रहेका कुनै व्यक्तिलाई नामित गर्न कुनै प्रतिबन्ध नलगाइएको स्पष्ट गरिन्छ’ भारत सरकारका उपसचिव अरुण कुमारले अगस्ट २८ मा जारी गरेको एडभाइजरीमा उल्लेख छ।
मन्त्रालयका तर्फबाट लेस्बियन, गे, बाइसेक्सुअल र थर्डजेन्डरका लागि यो एडभाइजरी १७ अक्टोबर २०२३ मा सर्वोच्च न्यायालयको आदेशका आधारमा दिइएको थियो। जसमा भारतीय रिजर्भ बैङ्क (आरबीआई) द्वारा अगस्ट २१ मा सबै अनुसूचित वाणिज्य बैङ्कहरूलाई यससम्बन्धमा स्पष्टीकरण पनि जारी गरिसकिएको उल्लेख छ।
आरबीआईले सन् २०१५ मा थर्डजेन्डर (तेस्रो लिङ्गी) व्यक्तिहरूलाई बैङ्क खाता खोल्न र सम्बन्धित सेवाको लाभ उठाउन सहयोग पुगोस् भन्ने उद्देश्यले बैङ्कहरूलाई आफ्ना सबै फाराम र आवेदनमा छुट्टै कोलम राख्न निर्देशन दिएको थियो।
उक्त आदेशपछि केही बैङ्कहरूले तेस्रो लिङ्गीहरूका लागि सेवा सुरु पनि गरे। ईएसएएफ स्मल फाइनान्स बैङ्क लिमिटेडले २०२२ मा विशेष रूपमा तेस्रो लिङ्गी समुदायका लागि रेन्बो सेभिङ्ग अकाउन्ट सुरु गरेको थियो, जसमा उच्च बचतदर र उन्नत डेबिट कार्डसहित कयौँ सुविधा प्रदान गरिएको थियो।
अर्थ मन्त्रालयको एडभाइजरीको निकै प्रचार गरियो र समुदायले यसलाई नयाँ उपलब्धि भन्दै खुसीयाली मनाए।
यद्यपि दुई वाक्यको यस एडभाइजरीले समलिङ्गी समुदायको लागि नयाँ अधिकार प्रदान नगर्ने तर्क गर्दै आलोचना समेत गरिएको छ। बिना विवरण या सन्दर्भ यसलाई जारी गर्नु र मिडियामार्फत स्पष्ट पार्नुको सट्टा भ्रमित गरेको भन्दै सरोकारवालाहरूले आलोचना समेत गरे।
संयुक्त बैङ्क खातामा पति पत्नी, व्यापारिक साझेदार या परिवारका सदस्य(जसले एकअर्कालाई चिन्दछन्)ले सहभागिता जनाउँछन्। खाताधारकमध्ये कसैले पनि संयुक्त खातामा जम्मा भएको रकम फिर्ता लैजान सक्छ। प्रत्येक खाताधारकको नाम भएको डेबिट कार्ड पनि छुट्टै जारी गर्न सकिन्छ। यो छोटो अवधिका लागि, स्थायी या अस्थायी दुवै हुनसक्छ।
संयुक्त खाता खोलेका दुईमध्ये एक व्यक्तिको मृत्यु भएको खण्डमा बाँकी रहेको अर्को व्यक्तिले खातालाई सुचारु गर्न सक्छ। तर यो व्यवस्था समलिङ्गी, तेस्रो लिङ्गी व्यक्तिका लागि यसअघि थिएन। जसका कारण साथीको मृत्युपश्चात् समुदायका कयौँ व्यक्तिहरूले आफूले साथीसँग संयुक्त रूपमा जम्मा गरेको रकम समेत निकाल्न पाएका थिएनन् भने अन्य बैंकिङ्ग सेवालाई निरन्तरता दिन सकेका थिएनन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.