प्रधानमन्त्री ओलीलाई राष्ट्रसङ्घ महासभामा स्वदेश फिर्तीको विषय उठाइदिन भुटानी शरणार्थीले गरे आग्रह

प्रधानमन्त्री ओलीलाई राष्ट्रसङ्घ महासभामा स्वदेश फिर्तीको विषय उठाइदिन भुटानी शरणार्थीले गरे आग्रह

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन अमेरिका जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फिर्तीको विषय उठाउन भुटानी शरणार्थीहरूले आग्रह गरेका छन्।

संविधान दिवसको भोलिपल्ट शुक्रवार नेपालको प्रतिनिधित्व गर्दै अमेरिका जान लागेका प्रधानमन्त्री ओलीलाई शरणार्थीहरूले स्वदेश फिर्तीको विषय उठाइदिन आग्रह गरेका हुन्।

भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि सम्मानजनक स्वदेश फिर्तीको विकल्प अगाडी बढाउन उनीहरूले भनेका छन्।

संयुक्त राष्ट्रसङ्घको अगुवाइ र मध्यस्थतामा वार्ता, छलफल, नीति निर्णय र निर्देशन जस्ता अत्यावश्यक ठोस पहल गरी स्वदेश फिर्ती हुन पाउनु पर्ने अधिकार सुनिश्चित गरी दिन प्रधानमन्त्री ओलीलाई भुटानी शरणार्थीहरूले अनुरोध गरेका छन्।

भुटान स्वतन्त्र जनमञ्चका महासचिव धनवीर सुब्बा र राष्ट्रिय मेलमिलाप समिति भुटानका संयोजक कृष्णवीर तामाङले हस्ताक्षर गरेको निवेदनमा राष्ट्रसङ्घ महासभामा सहभागी हुँदा भुटानी शरणार्थी स्वदेश फिर्तीको विषय पनि समावेश गर्न भनिएको छ।

स्वदेश फिर्तीको मागलाई छलफलको विषय बनाई भुटान सरकारसँग वार्ता गरी पाउन प्रधानमन्त्री, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायहरू समक्ष यसभन्दा पहिला पनि पटक पटक निवेदन गरेको सुब्बा र तामाङले स्मरण गराएका छन्।

हालसम्म पनि भुटानी शरणार्थी शिविर बेलडाँगी झापा र पथरी शनिश्चरे मोरङमा खाद्यान्न, स्वास्थ्य, शिक्षा, आवास जस्ता आधारभूत सुविधाहरू कटौती हुँदा पनि आफ्नै देश फर्कन पाउने आशामा लगभग ६ हजार ५०० भुटानी शरणार्थीहरू विभिन्न समस्याहरूसँग जुझ्दै जीवन गुजारा गरिरहेको निवेदनमा उल्लेख गरिएको छ।

शरणार्थीहरूका सम्बन्धमा विभिन्न विषयहरू समेत उठ्न थालेको प्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरूले उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीलाई शरणार्थी शिविरको नामकरण यथावत् राखी पाउन समेत निवेदनमार्फत अनुरोध गरिएको छ।

प्रधानमन्त्री ओलीलाई पठाएको निवेदनमा शिविरको कामकाजका कागजातहरूमा भुटानी शरणार्थीहरूको शिविरलाई परिवर्तन गर्दै बस्ती र शिविर व्यवस्थापन समितिको सट्टा बस्ती व्यवस्थापन समिति शब्द राख्नाले दिनप्रतिदिन पहिचान हराउँदै जाने चिन्ताले सताइरहेको उल्लेख गरिएको छ।

पूर्वी भारतीय नाका पानीटंकीमा भुटानी शरणार्थीहरूलाई स्वास्थ्य, शिक्षा, आफ्ना आफन्त भेटघाट लगायतका काममा जान आउन परिचयपत्रले चली आएकोमा हाल आएर भारतीय सुरक्षाकर्मीबाट बाधा अवरोध गर्ने काम भएकाले धेरै कठिनाइ भएको निवेदनमा लेखिएको छ।

शिविरमा रहेका भुटानी शरणार्थी मध्ये आत्मसम्मानपूर्ण रूपले स्वदेश फर्कन चाहनेहरूको तर्फबाट निवेदन प्रस्तुत गरेको उनीहरूले उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले विश्वलाई जानकारी गराउने

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा असोज ४ गते संयुक्त राष्ट्रसङ्घको हेडक्वाटर प्रस्थान गर्न लागेको जानकारी गराइसकेका छन्। नेपालको आफ्नो नीति, दृष्टिकोण, अडान, समस्या, उपलब्धि र अभिभाराहरू पूरा गर्न भइरहेको प्रयास विश्वलाई जानकारी गराउने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।

लोकतन्त्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आफैँले बनाएको संविधान र संविधानका विभिन्न पक्षहरूको संक्षिप्त र नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता स्पष्टताका साथ राख्ने प्रधानमन्त्री ओलीले बताए। ‘नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र स्वाधीन राष्ट्र हो। यसले आफ्नो राष्ट्रिय गौरवलाई अझ माथि उठाउने छ र आफ्ना जायज राष्ट्रिय हितहरू, न्यायोचित राष्ट्रिय हितहरू र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने, रक्षा गर्ने, संवर्धन गर्ने र राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिबद्धता छ,’प्रधानमन्त्री ओलीले भने,’नेपाल असल छिमेकीको रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ। छुद्र र जाली छिमेकी होइन। असल छिमेकीको रूपमा, छिमेकीको अहित चिताउने छिमेकीको रूपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीको रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ।’

संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरू र आन्तरिक मामिलाहरूमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दक्खल नदिने र आफ्नो स्वतन्त्र हैसियतको, स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको स्थापित नीति संयुक्त राष्ट्रसङ्घमा राख्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले महासभामा फ्युचर समिट भनेर आयोजना हुने जानकारी पनि दिए। ‘फ्युचर समिट भनेको मानव जातिको र धर्तीको कसरी सुरक्षित भविष्य सुनिश्चित गर्ने, यसका निम्ति हाम्रा बालबालिका, हाम्रो वातावरण आदिका पक्षहरूलाई कसरी गम्भीरताका साथ लिने र सहकार्य गरेर आजको विश्व अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल हुनेछ,’उनले भने,’म त्यहाँ राम्ररी नेपालको दृष्टिकोणहरू प्रस्तुत गर्ने छु।’

प्रधानमन्त्री ओलीले नेपाल स्वतन्त्रताका हकहरूको पक्षमा रहेको उल्लेख गर्ने जानकारी प्रतिनिधिसभा बैठकमा गराएका छन्। ‘तर सामाजिक मर्यादाका प्रबन्धहरू हामी मान्छौँ। हामी एनिमल मात्रै होइनौँ, हामी सचेत जीव हौँ। हामीले समाज विकास गरेका छौँ, समाजले थिति र मूल्यमान्यता विकास गरेको छ। हामी ती मूल्य मान्यता, हाम्रा सुन्दर संस्कृति, र परम्पराहरूलाई भत्काउन सक्दैनौँ,’प्रधानमन्त्री ओलीले भने,’यहाँभित्रका बेठीक र अनुपयुक्त भइसकेका पक्षहरूलाई हटाउनु पर्दछ र ठिक कुराहरूलाई जर्गेना गर्दै अगाडि बढ्नु पर्दछ। अराजकता डेमोक्रेसी होइन।’

नेपालको शिर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनै पनि हिसाबले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम नगर्ने प्रधानमन्त्री ओलीले सदनमा भनेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.