कान्तिपुर सहकारी : जग्गामा लगानी, आफन्तको नाममा पास

कान्तिपुर सहकारी : जग्गामा लगानी, आफन्तको नाममा पास

काठमाडौँ : २०५४ सालमा दर्ता भएको हो कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ। अध्यक्ष हुन्, चन्द्र लामा। काभ्रे पोखरीनारायण स्थान ८,परिवर्तित तिमाल गाउँपालिका वडा नं ५ का सानुमाईला तामाङ र ज्योमो तामाङका सन्तान उनले सि वि लामा नामको पहिचान दिएका छन्।

काठमाडौँ महानगरपालिका वडा नं १० बानेश्वरमा श्रीमती, छारा र छोरी बस्दै आएका उनी हाल सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा छन्। २०३२ भाद्र ४ गते जन्मेका सि विले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट नागरिकता प्रमाणपत्र लिएका छन्।

२२ वर्षको उमेरमै सहकारीको अध्यक्ष बनेका लामा २७ वर्षपछि अर्थात् ४९ वर्षको उमेरमा सहकारी ठगी मुद्दामा पक्राउ परे। सहकारी समस्याग्रस्त घोषणा हुँदाको समयमा भने अध्यक्ष थिए हिमालयविक्रम मल्ल ठकुरी। लामाले कार्यकारी भूमिकामा प्रेमध्वज लामालाई राखेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ।

कारागारबाट सिधै समितिको कार्यालय सिंहदरबारमा आएर बयान दिएका हुन सि विले। देवराज पराजुलीले नेतृत्व गरेको सगरमाथा बचत तथा ऋण सहकारी संस्था लि., कुटीर बचत तथा ऋण सहकारी संस्था र मेरिगोल्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभसमेत, कान्तिपुर सेभिंग एन्ड क्रेडिट को–अपरेटिभ सहकारी संस्था गाभिएका छन्।

यो संस्थाको संस्थापक अध्यक्ष राजेश श्रेष्ठ हुन्। तर, २०७६ सम्म सि वि लामा नै अध्यक्ष थिए भने सि वि लामाले चलाएको पशुपति सेभिङमा समस्या आएपछि वि.सं. २०७६ मा सि वि लामालाई अध्यक्षबाट हटेर हिमालयविक्रम मल्ल ठकुरी अध्यक्ष बनेका थिए। ठकुरी स्थापनाकालदेखि नै सञ्चालक समितिमा थिए।

जोगलाल लामा स्थापनाकालदेखि पशुपतिका सचिव थिए। सञ्चालक समितिमा रहेका प्रेमध्वज लामा स्थापनाकालदेखि नै कोषाध्यक्ष हुन्। उनले पछिल्लो समय प्रबन्धकको समेत काम गर्दै आएका थिए। सानुकान्छा लाल लामा, इन्दु थापा र नारायणप्रसाद रिमाल पनि स्थापनाकालदेखि नै सञ्चालक समिति सदस्य थिए।

कान्तिपुर अस्पताल, तत्कालीन पशुपति डेभलपमेन्ट बैङ्कमा सहकारीबाट शेयरमा लगानी गरे पनि त्यसको शेयर लगत सञ्चालकहरूका नाममा कायम गरिएको थियो। सि वि लामा नेपालको रियल स्टेट व्यवसायीसमेत हुन्।

उनीहरूले सहकारीबाट घरजग्गामा लगानी गर्ने र त्यसबाट आउने प्रतिफलले आफ्नै सम्पत्ति बढाउनतर्फ केन्द्रित हुँदा संस्था समस्यामा परेको समितिको प्रतिवेदनमा उल्लेख छ। सञ्चालक समिति र पूर्वअध्यक्ष सि वि लामासमेत मिलेर जग्गामा लगानी गर्ने र सञ्चालक तथा आफन्तको नाममा पास गर्ने गरेका समितिले पत्ता लगाएको छ।

पूर्वअध्यक्ष सि वि लामा तामाङ रहेका कान्तिपुर सेभिंग एन्ड क्रेडिट को–अपरेटिभ सहकारी संस्थाको हालका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी छन्। सचिव जोगलाल लामा, प्रबन्धक तथा कोषाध्यक्ष प्रेमध्वज तामाङ, सञ्चालकहरू सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा, देवराज पराजुली हुन्।

सहकारी प्रतिवेदन : सञ्चालकलाई निर्ब्याजी ऋण लगानी

कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको निक्षेप तथा बचत रकम ७ अर्ब ९७ करोड ७५ लाख ५४ हजार ८०२ रहेको छ। तर, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पेस भएको माग दावी विवरण अनुसार जम्मा ६ अर्ब ७८ करोड ५१ लाख ५ हजार १०५ रुपैयाँ रहेको छ।

जसमा बचत तथा माग दाबीको अन्तर १ अर्ब १९ करोड २४ लाख ४९ हजार ३४८ रुपैयाँ रहेको छ। ‘सो फरकबाट संस्थाले वित्तीय विवरणमा देखाएको निक्षेपको विवरण सही भए नभएको यकिन हुँदैन,’समितिले भनेको छ।

सम्पत्ति र दायित्व व्यवस्थापनका मूलभूत पक्षहरूलाई ध्यान नदिई बचत रकमको परिचालन गर्दा सम्पत्ति र दायित्वकाबीचमा असन्तुलन देखिएको प्रतिवेदनमा लेखिएको छ। सहकारीमा ब्याजबापत आसामी रकम ३ अर्ब ४६ करोड ७६ लाख १८ हजार ४१७ रुपैयाँ र ऋण तथा लगानी रकम ३ अर्ब १० करोड ८ लाख २५ हजार ९०४ रुपैयाँ रहेको छ।

ऋण तथा ब्याज आसामीको अनुपात १११.८२ प्रतिशत रहेको समितिले उल्लेख गरेको छ। सहकारीको वित्तीय विवरणअनुसार नगद मौज्दात ९ लाख ४३ हजार ८५५ रुपैयाँ रहेकोमा जफत गरेको विवरण अनुसार ९ हजार ६०७ मात्र जफत गरेको पाइयो। सो फरक नगद ९ लाख ३४ हजार २४८ रुपैयाँको विवरण प्राप्त हुन सकिएन प्रतिवेदनमा भनिएको छ।

कान्तिपुर सहकारीमा जम्मा कर्जा ३ अर्ब १० करोड ८ लाख २५ हजार ९०४ रुपैयाँ रहेको छ। ब्याज रकम ३ अर्ब ४६ करोड ५९ लाख ९० हजार ६०८ रुपैयाँ रहेको छ। जसमा ऋण नोक्सानी व्यवस्था जम्मा १६ करोड ९१ लाख ८९ हजार ९०७ रुपैयाँ रहेको छ जुन कर्जा र जोखिमको अनुपात विश्लेषण गर्दा ३ प्रतिशत मात्र रहेको समितिको प्रतिवेदनमा उल्लेख छ।

संस्थाले कुल निक्षेप रकमको कम्तीमा १० प्रतिशत तरलता राख्नुपर्नेमा सोको उल्लङ्घन गरी ०.१४ प्रतिशत मात्र राखेको देखिन्छ। कान्तिपुर सहकारीको जम्मा ऋण मध्ये सहकारीले २० करोड ११ लाख ३७ हजार ६२५ रुपैयाँ रकम अन्य कम्पनीलाई ऋण दिइएको पाइएको छ।

सहकारीले ६.४९ प्रतिशत ऋण कम्पनीहरूलाई र १०.४५ प्रतिशत ऋण सञ्चालक समितिहरूलाई प्रदान गरेको पाइएको छ। कान्तिपुर सहकारीले आफ्नो सञ्चालक समिति पदाधिकारी तथा सदस्यलाई ३२ करोड ४० लाख ८१ हजार ७०५ रुपैयाँ बराबरको ऋण प्रवाह गरेको पाइएको छ।

कुनै पनि सदस्यलाई ऋण प्रवाह गर्दा एउटा ऋण चुक्ता नभएसम्म पुन ऋण प्रदान गर्न नहुनेमा २६ जना सदस्यलाई पटकपटक गरी जम्मा ८९ पटक १ अर्ब ८० करोड ७३ लाख २० हजार ८३६ रुपैयाँ बराबरको ऋण प्रदान गरेको पाइएको छ।

संस्थाले एकै समूहको सदस्यहरूलाई प्रक्रिया पुरा नगरी ९२ करोड ९९ लाख ९४ हजार १६३ रुपैयाँ प्रवाह गरेको पाइएको छ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति समक्ष लामाले कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि. को पूर्व अध्यक्ष र हाल पशुपति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रहेको भनेका छन्।

कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौँ महानगरपालिका वडा नं ३१ मिनभवन र ललितपुर कुमारीपाटीमा रहेको छ। कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि. मा ०७५/०७६ सम्म अध्यक्ष रहँदा शेयर पुँजी चौवालिस करोड, बचतकर्ता अन्दाजी, ६०००, बचत रकम अन्दाजी, तीन अर्ब साठी करोड, ऋणी सङ्ख्या अन्दाजी. ३०००, ऋण लगानी अन्दाजी तीन अरब पचास करोड र कम्पनीको नाममा चार अर्ब जतिको चल अचल सम्पत्ति (घरजग्गा धितो, लिलामी जग्गा, कार्यालय उपकरण र मोटरगाडी) रहेको जवाफ समितिलाई दिएका छन्।

हालको अवस्था के छ थाहा नभएको जवाफ लामाले दिएका छन्। सेवा केन्द्र ४ वटा रत्नपार्क, न्युरोड, बनेपामा र मुख्य कार्यालय कुमारीपाटी ललितपुरमा रहेका छन्। पशुपति बचत तथा ऋण सहकारी संस्थाको हकमा शेयर पुजी अन्दाजी १२ करोड, बचतकर्ताहरू अन्दाजी १२००, बचत रकम अन्दाजी १ अर्ब, ऋणी सङ्ख्या अन्दाजी ९००, ऋण लगानी अन्दाजी १ अर्ब ५२ करोड, संस्थाको नाममा अन्दाजी ४ करोड बराबरको चल अचल सम्पत्ति (घरजग्गा धितो, लिलामी जग्गा, कार्यालय उपकरण, शेयरमा लगानी र मोटरगाडी) रहेको छ। पशुपति सहकारी संस्था लि. को मुख्य कार्यालय कुमारीपाटी ललितपुरमा र सेवा केन्द्र २ वटा भक्तपुर र जमल काठमाडौँमा रहेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.