रवि जिम्मेवार लिन तयार, अरू माथि पनि कारबाही हुनुपर्ने सर्त

रवि जिम्मेवार लिन तयार, अरू माथि पनि कारबाही हुनुपर्ने सर्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्यूयोर्कबाट आँखा नसन्काउन, फर्केर आए पछि बसेर कुरा गर्ने भनेको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गोर्खा मिडियामा सहकारीबाट गएको रकमको भागीदार आफू पनि रहेको स्वीकार गरेका छन्।

उनले संसदीय छानबिन समितिले गरेको सिफारिस अनुसार कारबाही भोग्न तयार रहेको बताए। आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको आर्थिक अपचलनको जिम्मेवारी लिन तयार रहेको लामिछानेले बताए।

सहकारीबाट अरू सञ्चारमाध्यममा पनि पैसा आएको खुलेकाले उनीहरू पनि कारबाहीको दायरमा आउनुपर्ने उनले बताए। उनले आफूलाई पक्राउ गर्ने उद्देश्यले नै छविलाल जोशीलाई पक्राउ गरिएको दाबी पनि गरे।

जोशीलाई पक्राउ गर्नुका पछाडि आफूलाई पक्राउ गर्ने उद्देश्य रहेको दाबी उनले गरे। मङ्गलवार साँझ फेसबुक लाइभमा आएर सहकारी प्रकरणमा विषयमा आफ्नो प्रष्टीकरण दिँदै लामिछानेले जोशीको बयानबाट नयाँ सूचना पाइने र त्यही सूचनाका आधारमा आफूलाई पक्राउ गर्ने उद्देश्यका साथ पक्राउ गरिएको बताए।

दोस्रो पटक पक्राउ पर्ने दिन कुर्दै रवि

लामिछानेले आफ्नो राजनीति भविष्य जोगाउन षडयन्त्र गरेको आरोप लगाए। लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको दाबी पनि गरे।

झन्डै ४० मिनेट बोलेका लामिछानेले राजनीति सिद्ध्याउन सरकारले छट्के आँखा लगाए प्रतिकारमा उत्रन अपिल समेत गरेका छन्।

सहकारीको रकम अपचलनका सम्बन्धमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिइएको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा आइतबार पक्राउ परेका उनलाई मङ्गलवार सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले जोशी विरुद्ध बयान लिन कति दिन लाग्छ भन्ने यकिन भन्न नसकिने जनाएको छ। जोशीविरुद्ध सहकारी ऐन, २०७४ र सङ्गठित अपराध निवारण ऐन, २०६४ कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले १० दिनको म्याद मागे पनि पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

सहकारी ठगीमा संलग्नलाई सहज

सरकारले सहकारीको रकम ठगी गर्नेहरूलाई सहज अवतरणको बाटो खोलिदिएको छ। सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि सहित अन्य व्यक्तिहरू जेल बस्नु नपर्ने देखिएको छ।

महान्यायाधिवक्ता कार्यालयले सहकारी ऐन अन्तर्गतको कसुरमा पनि यसअघि चेक अनादर र केही बैङ्किङ कसुरमा अभ्यास भइरहेको मिलापत्रको अवधारणालाई कार्यान्वयन गर्ने निर्णय गरेपछि उनीहरूले जेल बस्न नपर्ने देखिएको हो।

सहकारीसम्बन्धी छानबिन विशेष समितिको प्रतिवेदनले पनि पीडितलाई सक्दो छिटो न्याय दिलाउनु पर्ने सुझाव आएकाले मुद्दा मामिला लम्ब्याउनु उचित नहुने महान्यायाधिवक्ता रमेश बडालले बताए। पीडितको पैसा फिर्ता गरे मुद्दा नै नचल्ने बताउँदै उनले यदि मुद्दा नै चलेको भए पनि मिलापत्र हुन सक्ने गरी बाटो खुला गरिएको बताए।


प्रसाईँ थुनामै

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुना मुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। बुबालाई गैरकानुनी थुनामा राखिएको भन्दै छोरा नीराजनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

चरित्र हत्या गरेको आरोपमा आइतबार पक्राउ गरेको प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ। अराजक अभिव्यक्ति दिँदै आएका प्रसाईँले सरकारी वकिल समक्ष आरोप स्वीकार गरेका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मङ्गलवार प्रसाईँसँग दुई घण्टा बयान लिएको हो। भिडियोमा आएको अभिव्यक्ति आफ्नै भएको प्रसाईँले स्वीकार गरेका सरकारी वकिलको कार्यालयले जनाएको छ। प्रसाईँसँगको बयान सकिएको छ।

उनलाई बुधवार नै म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ। प्रसाईँका समर्थकहरूले भने रिहा गर्न माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्।

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले प्रसाईँ पक्राउको विरोधमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले मुखमा कालो टेप लगाएका थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.