बाढी पहिरोले सडक अवरुद्ध हुँदा बिरामीको एम्बुलेन्समै मृत्यु

बाढी पहिरोले सडक अवरुद्ध हुँदा बिरामीको एम्बुलेन्समै मृत्यु

काठमाडौं : दशैंको मुखमा निम्तिएको बाढी पहिरोले १ सय ७० जनाको ज्यान लिएको छ। अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १७० जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार असोज १० गतेदेखि देशका अधिकांश ठाउँमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाबाट ४२ जना बेपत्ता भएका छन्। १११ जना व्यक्ति घाइते भएका छन्।

हालसम्म ४ हजार विपद् प्रभावितको उद्धार गरिएको छ। काभ्रेपलान्चोक, सिन्धुली, ललितपुरलगायतका जिल्लामा विभिन्न ठाउँमा घाइते भएका र अलपत्र परेका १६२ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्नुका साथै खाद्यान्न साथै आपत्‌कालीन राहत सामग्री उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

बाढी पहिरोले पाँचथर र सिन्धुपाल्चोकका दुई वटा बेलीबृज बगाएको छ। ४ ठाउँका पक्की पुलसहित १६ वटा पुलहरू बगाएको छ। बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।

समयमै उद्धार गर्न नसक्दा बाढीले बगाएका एक जनाको अवस्था अझै अज्ञात छ। पहिरोले अवरुद्ध सडक सुचारु नगर्दा एम्बुलेन्समै बिरामीले ज्यानै गुमाउनुपरेको छ। बिपी राजमार्ग अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँतर्फ ल्याइँदै गरेका दुई जना बिरामीको एम्बुलेन्समै ज्यान गएको हो।

सिन्धुली अस्पतालबाट बा २१ च ७५२३ र महोत्तरीको बर्दिबासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्स बिरामी बोकेर काठमाडौं आउँदै गर्दा बिहीबारदेखि बाटोमै अड्किएपछि दुई बिरामीको मृत्यु भएको सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए।

उनका अनुसार सुनकोसी गाउँपालिका १ दुम्जामा राजमार्ग अवरुद्ध हुँदा कमलामाई मल्लागाउँकी ९८ वर्षकी वृद्धा टीका कुमारी भुजेल र महोत्तरी बर्दिबास ८ का ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु भएको हो।

दम सम्बन्धी रोग रहेकी भुजेललाई जिल्ला अस्पताल सिन्धुलीले थप उपचारका लागि काठमाडौं रेफर गरेको थियो भने मिर्गौलाको समस्या भएपछि बर्दिबासका सिंजालीलाई काठमाडौं ल्याइँदै थियो। सडक अवरुद्ध हुँदा उनीहरूको शव घर फर्काउन सकिएको छैन।

महोत्तरीका दुई युवाले बाढी हेर्ने लहरमा ज्यानै गुमाउन पुगेका छन्। सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको हो। सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन् भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए। साहसँगै बाढी हेर्न गएकी १२ वर्षकी बालिकालाई भने सकुशल उद्धार गरिएको छ।

दुई दिनदेखि सम्पर्कविहीन यात्रुवाहक बस भने पहिरो पन्छाउँदा फेला परेको छ। शुक्रवार गोरखाको धार्चे गाउँपालिका लापुबेसीबाट काठमाडौँको लागि छुटेको ना ४ ख २२७० नम्बरको बस दुई दिन देखि हराइरहेको थियो।

उक्त बस आइतबार धादिङ र काठमाडौँको सीमास्थित झ्याप्लेखोलामा गएको पहिरो पन्छाउने क्रममा पाँच जनाको शवसँगै फेला परेको हो। सोही पहिरोबाट चितवनबाट आएको बा ३ ज १३४५ नम्बरको हाइस र त्यसमा सवार १६ यात्रुको शव झिकिएको छ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विङ्गर हाइसबाट शनिवार १४ जनाको शव निकालिएको थियो। पहिरोले पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प १३८८, र लुम्बिनीबाट आउँदै गरेको लु १ प ०८ नम्बरको पर्यटक गाडीमा पनि क्षति पुगेको छ। ती गाडीका चालक र यात्रुहरू भने सकुशल छन्।

झ्याप्लेखोलाको पहिरो पन्छाएपछि बेलुकी साढे ७ बजेदेखि सडकमा दुईतर्फी सवारी आवागमन सुरु भएको छ। देशका मुख्य राजमार्गका अन्य २१ ठाउँमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ११ ठाउँमा एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ।

सप्तकोसीको बहाव उच्च हुँदा प्रतिबन्ध लगाइएको कोशी ब्यारेजको पुलमा पनि आइतबार साँझदेखि आवागमन खुलाइएको छ। बिहानदेखि बिस्तारै बहाव घटेर खतरा कम भएपछि साँझ ५ बजेदेखि आवागमन खुलाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

खतरा कम भए पनि ब्यारेजका सबै ५६ वटै ढोका खुल्ला राखिएको छ। बाढीको बहाव उच्च भएपछि कोसीमा शनिवार दिउँसो ४ बजेदेखि सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको थियो भने गएराती बहाव अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको थियो।

चिकित्सकको टोली खटाउने

सरकारले सम्भावित महामारी न्यूनीकरणका लागि बाढी/पहिरो प्रभावित क्षेत्रमा औषधी सहितको चिकित्सकको टोली खटाउने भएको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा सिंहदरबारमा आइतबार बसेको सर्वदलीय बैठकले विपद् पछिको महामारीको सम्भावनालाई न्यूनीकरण गर्न सरकारले औषधी सहितको चिकित्सकको टोली खटाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बाढी पहिरोबाट घरबास गुमाएकाहरूलाई उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय समेत गरेको जानकारी दिए।

सम्भावित जोखिमको पूर्वसूचना पाउँदा पनि सरकारले विपद्को पूर्वतयारी गर्न नसकेको आरोप प्रतिपक्ष दल माओवादी केन्द्रले लगाएको छ। माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले मौसम विभागले पूर्वानुमान सही गरे पनि सरकार पूर्वतयारीमा चुकेको बताए।

विद्युत् आपूर्तिमा समस्या

नेपाल विद्युत् प्राधिकरणले बाढी पहिरोका कारण अवरुद्ध बिद्युत् सेवा एक/दुई दिन भित्रै सुचारु हुने दाबी गरेको छ। प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषका अनुसार अहिले कोशी पूर्बक्षेत्रका चार जिल्लामा मात्रै बिद्युत् सेवा अवरुद्ध रहेको छ।

इलाम, फिदिम, ताप्लेजुङ र पाँचथरमा विद्युत् अवरुद्ध छ। काठमाडौँ उपत्यकाको ललितपुरका केही क्षेत्रहरू, काभ्रे, सिन्धुपाल्चोक, धादिङमा पनि विद्युत् सुचारु हुन सकेको छैन। लामो समय विद्युत् आपूर्ति बन्द हुँदा संचारसम्पर्क विच्छेद भएको छ।

केही ठाउँमा पानी जमेका कारण स्थानीयकै आग्रहमा बिद्युतका फिडरहरु बन्द गरिएका छन् भने केही ठाउँमा बिजुलीका पोल र ट्रान्सफर्मर नै बगाएकाले समस्या आइरहेको प्रवक्ता घोषले बताए। उनले देशका ९९ प्रतिशत भूभागमा बिजुली सुचारु भएको बताउँदै कुनै समस्या भए नजिकको नो लाइटमा सम्पर्क गर्न आग्रह गरे।

बाढीका कारण एक हजार मेगावाट जतिको बिद्युत् गृह सञ्चालनमा आउन सकेका छैनन्। अहिले सम्म १७ सय मेगावाट क्षमताको बिद्युत् गृहमात्रै सञ्चालनमा ल्याउन सकेको उनले बताए। बाढीका कारण खिम्ती लामोसाँघु प्रसारण लाइनको सात नम्बर टावर बगाएकोले उपत्यका भित्रने २४० मेगावाट विद्युत् कटौती भएको छ।

अपर तामाकोसीको हेडवक्समा समेत बाढीले पूर्ण रूपमा क्षति पुर्‍याए पछि उत्पादन नै बन्द भएको छ। अहिले तापक्रमका कारण माग पनि त्यति नरहेको बताउँदै उनले तापक्रम बढेमा केही समस्या निम्तने सुनाए। यद्यपि दशै तिहारको मुख्य समयमा कुनै समस्या नहुने उनको दाबी छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्षाका कारण विद्युत् गृह क्षति हुँदा साढे २ अर्ब बराबर नोक्सान भएको जनाएको छ। अझै यो क्षति बढ्न सक्ने मन्त्रालयको अनुमान छ। यस्तै सिँचाइतर्फका आयोजनामा १ अर्ब ३५ करोडको क्षति भएको छ।

ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। हाल ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आङ्कलन गरेको छ।

तथ्याङ्क सङ्कलन गरिने

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बाढी पहिरोले कृषिमा पुगेको क्षतिबारे तत्काल तथ्याङ्क सङ्कलन थालिने बताएको छ। क्षतिको यकिन तथ्याङ्क छिटो सङ्कलन गरी आगामी रणनीति बनाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा बसेको आकस्मिक बैठकमा कृषि मन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा पुगेको क्षतिको वास्तविक तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिए। बाढीले कृषि क्षेत्रमा के –कति क्षति पुर्‍याएको छ र यसको वास्तविक तथ्याङ्क छिटो सङ्कलन गर्न मन्त्री अधिकारीले निर्देशन दिएका उनको निजी सचिवालयले जनाएको छ।

उद्धार कोषमा काँग्रेसको ५० लाख

नेपाली काँग्रेसले प्राकृतिक प्रकोपजन्य घटनामा राहत र उद्धार कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ। आइतबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकले पीडितको सहयोगका लागि पचास लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने र यसका लागि सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको छ। काँग्रेसले पूर्वघोषित सबै कार्यक्रम कोजाग्रत पूर्णिमासँग स्थगन गरी सबै भातृ सङ्गठनलाई उद्धारमा खट्न निर्देशन दिएको छ।

यस्तै हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन पार्टीले गर्दै आएको चियापान कार्यक्रम समेत स्थगन गरिएको प्रवक्ता महतले बताए। अवरुद्ध भएको सडकसञ्जाल छिटो मर्मत गर्दै चाडबाडका बेला सहज रूपमा घर जान सक्ने अवस्था बनाउन समेत आग्रह गरेको प्रवक्ता महतले जानकारी दिए।

माओवादीले हेल्प डेस्क राख्ने

नेकपा (माओवादी केन्द्र)ले बाढी पहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्याङ्क सङ्कलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेस्क राख्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय पदाधिकारी बैठकले हेल्प डेस्क राख्ने निर्णय गरेको हो।

मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष माओवादीले निकालेको छ। बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा सहयोग रकम जम्मा गर्ने र पार्टीपङ्क्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ।

नेपाल निर्माण व्यवसायी महासङ्घले बाढी पहिरोबाट अवरुद्ध भएका देशभरका राजमार्ग तथा बाटोघाटा सञ्चालनका लागि ‘आ—आफ्ना यन्त्र, उपकरणसहित उद्धार कार्यमा जुट्न’ आग्रह गरेको छ। बाढी पहिरोको चपेटामा परेका देशभरका निर्माण व्यवसायीहरूलाई क्षतिको विवरण महासङ्घ सचिवालयमा उपलब्ध गराउन पनि भनिएको छ।

देशका मुख्य राजमार्ग बन्द भएको मौका छोपेर एयरलाइन्सहरूले भाडा बढाएपछि नियमन गर्न संसदीय समितिले निर्देशन दिएको छ। विमान सेवा कम्पनीहरूले भने भाडा घटाउन इन्धनको मूल्य घट्नु पर्ने सर्त राखेका छन्।

राजधानी काठमाडौँसँग बाहिरी जिल्ला जोड्ने सबै सडक बन्द भएकाले अत्यावश्यक काम परेका यात्रु हवाई यात्रा गर्न बाध्य भएका छन्। तर, एयरलाइन्सहरूले भने महँगो शुल्क लिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छलफलमा अबका ३ दिन नियमित भाडामै उडान गर्ने सहमति भएको वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.