विपत्तिको फरकफरक विवरण, रमिते गृहमन्त्री

विपत्तिको फरकफरक विवरण, रमिते गृहमन्त्री

काठमाडौं : गत बिहीबारदेखि शनिवारसम्मको अविरल वर्षाले निम्त्याएको विपत्तिमा परेर ज्यान गुमाउनेको सङ्ख्यामा फरक–फरक तथ्याङ्क सार्वजनिक हुँदा अन्योल सिर्जना भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार मृत्यु हुनेको सङ्ख्या २२४ जना सार्वजनिक गर्दा त्यसअघि नै २३६ जनाको मृत्यु भएको विवरण सार्वजनिक भइसकेको थियो।

नेपाल प्रहरीले बिहीबार बाढी, पहिरो र डुबानबाट २३६ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ। तर, सशस्त्र प्रहरी बलले बुधवार नै २४२ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको थियो। नेपालको शान्ति सुरक्षामा खटिने दुई महत्त्वपूर्ण सुरक्षा सङ्गठनको फरक–फरक तथ्याङ्कले आपसी समन्वयको अभाव देखाइरहेको छ।

गृह मन्त्रालयका बागडोर सम्हालेका गृहमन्त्री रमेश लेखकले फरकफरक विवरणलाई एकरूपता दिन सकेका छैनन्। उनी उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्देशन दिनमा मात्र व्यस्त छन्। गृह मन्त्रालयको जिम्मेवारीबारे मन्त्री लेखक आफैँ अलमलिएको अवस्थामा देखिएका छन्।

मन्त्री लेखक रमिते बनेको र प्रभावित क्षेत्रमा पर्याप्त राहत सामग्री पुर्‍याउन समेत अक्षम देखिएका आरोप लागेको छ। विपत्तिले पुर्‍याएको क्षतिको दैनिक विवरण सार्वजनिक गर्न अलमलिएको सरकारलाई प्रतिपक्षी नेकपा माओवादी केन्द्रले हिजो सशस्त्र प्रहरीले सार्वजनिक गरेकै तथ्याङ्क सार्वजनिक गरेर झड्का दिएको छ। माओवादीले बाढी, पहिरो र डुबानमा परी २४२ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

अविरल वर्षाले विध्वंस निम्त्याए पछि माओवादी अध्यक्ष प्रचण्डले सर्वदलीय बैठक बोलाएपछि सरकार हतारहतार बैठक राख्न बाध्य भएको थियो।

माओवादीले बिहीबार माओवादी केन्द्रको विपद् व्यवस्थापन आपत्कालीन कार्यसञ्चालन डेस्कबाट तयार गरिएको ताजा भनिएको सामग्रीमा काठमाडौं महानगरपालिका वडा नं १४ को बल्खुमा रहेको सुकुम्वासी बस्ती, ११ मा रहेको बंशीघाट सुकुम्वासी बस्ती र थापाथलीमा रहेको सुकुम्वासी बस्तीमा उद्धारको काम सकेर राहत र सरसफाइको काम भइरहेको उल्लेख गरिएको छ।

नेपाल प्रहरीले दिउँसो सार्वजनिक गरेको विवरण अनुसार मृत्यु हुनेको सङ्ख्या २३६ रहेको छ। १७३ जना घाइते भएका छन् भने १९ जना अझै बेपत्ता छन्। १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।

२९ वटा राजमार्ग सञ्चालनमा

अविरल वर्षाका कारण बाढी र पहिरोले अवरुद्ध ३४ वटा राजमार्गमध्ये २९ वटा सञ्चालनमा ल्याइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा ७ सय ७४ स्थानको पहिरो हटाइएको बताएको छ। अझै ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध रहेको मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी दिए।

हाल अरनिको राजमार्ग, बिपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्ग पूर्णरुपमा बन्द छन्। क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान मन्त्रालयले गरेको छ। बिपी राजमार्ग भने दशैं अगाडी खुलाउन नसकिने निष्कर्षमा मन्त्रालय पुगेको छ।

मध्यपहाडी राजमार्गअन्तर्गत खुर्काेट–घुर्मीखण्ड आजदेखि एकतर्फी रूपमा खुलेको छ। राजमार्गमा दुवैतर्फबाट दुई–दुई वटा डोजर र एक्स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर प्रयासमा दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए।

सुख्खा पहिरोको जोखिम कायम रहेकाले रात्रिकालीन यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको छ। राति गाडी नचलाउन दिएको निर्देशन कार्यान्वयन नगर्ने जिम्मेवार अधिकारीलाई मन्त्रालयले कारबाहीको तयारी समेत गरेको छ। भौतिक योजना मन्त्री देवेन्द्र दाहालले यो खोजीको विषय भएको बताए।

अग्रिम टिकट बन्द

काठमाडौँबाट घर फर्किने यात्रुको चाप बढेसँगै मुग्लिङ–नारायणगढ सडक भने व्यस्त बनेको छ। बिपी राजमार्ग अवरुद्ध हुँदा अहिले मुस्लिन–नारायणगढ सडकमा सवारी साधनको चाप बढेको छ। सवारीको चाप बढेसँगै कलङ्कीदेखि मुग्लिङसम्म पुग्न ६ घण्टाभन्दा बढी लाग्ने गरेको छ।

दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुले अब अग्रिम टिकट नपाउने भएका छन्। बाटोको कारण देखाउँदै यातायात व्यवसायीले अग्रिम टिकट दिन बन्द गरेपछि दशैं मान्न घर जाने यात्रुले टिकट नपाउने भएका हुन्।

गाडी आउने नआउने कुराको टुङ्गो नहुने भएकाले अग्रिम टिकट दिन नसकिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए। दैनिक रूपमा गाडी आएपछि टिकट दिने र यात्रुलाई पठाइने गरिएको उनले बताए।

बुधवार ९ सय ५० जनालाई अग्रिम टिकट दिइएको भए पनि बिहीबारदेखि भने अग्रिम टिकट दिन नसकिएको महासङ्घले बताएको छ। केहिदिन अघि मात्रै यातायात व्यवसायीले बाटो ठिक नभएको भन्दै सरकारसँग छलफल गरी अग्रिम टिकट बुकिङ रोक्ने बताएका थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.