सडक अवरुद्ध हुँदा विमानस्थलमा भीड, राज्य संयन्त्र निष्प्रभावी

सडक अवरुद्ध हुँदा विमानस्थलमा भीड, राज्य संयन्त्र निष्प्रभावी

काठमाडौं : नेपालीको घर आँगनमा दशैं भित्रिएको छ। बजारमा दशैंको किनमेल गर्नेहरूको भिड छ। घरबाट टाढा रहेकाहरूलाई फर्कन चटारो छ। तर, फर्कने कसरी? चिन्ता थपिएको छ।

मुख्य राजमार्गको नौ स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ भने चार ठाउँमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार दक्षिणकाली सिस्नेरी सडक खण्ड, कान्तिलोकपथ, भिमफेदी कुलेखानी फाखेल, विपीराजमार्ग अन्तर्गत तीन स्थानमा पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।

बाह्रबिसे तातोपानी र रामेछाप खुर्कोट सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। अरनिको राजमार्ग भने सञ्चालनमा ल्याइएको छ। देशका अधिकांश राजमार्गहरूको काठमाडौँसँग सम्पर्क विच्छेद भएको छ।

परिवारसँग दशैं मनाउने चाहना केही दिन अघि परेको विध्वंस मच्चाउने गरी आएको वर्षाले छिन्नभिन्न पारेको छ। बाढी, पहिरोले सडकको यात्रा अनिश्चित बनेको छ। हवाई यात्रा गच्छेले धान्न नसक्ने महँगो छ।

ऋणपान गरेर हवाई उडान मार्फत नै घर फर्कनेहरूको विमानस्थलमा भिड लागेको छ। विगतको दशैंमा बसपार्कमा लाग्ने यात्रुको भिड यो पटक विमानस्थलमा देखिएको छ। अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चालन अवरुद्ध भएपछि विकल्पको रूपमा रहेको हवाई उडानमा अध्याधिक चाप बढेको हो।

उडान चाप ह्वात्तै बढेपछि केही एयरलाइन्सले उडान सङ्ख्या थपेका छन्। आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा चाप हुँदा विमानस्थलको टर्मिनलमा भीडभाड बढेको छ भने एयरलाइन्सलाई उडान व्यवस्थापनमा हम्मे हम्मे परिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बाढीपहिरोका कारण थप १५ प्रतिशत चाप बढेको बताए।

एउटै रनवेमा ठुला साना जहाजको उडान र अवतरण गर्नुपर्दा समस्या भइरहेको उनको भनाइ छ। आन्तरिक उडान हुने देशभरका ९ वटा विमानस्थलमा बिहान साढे ४ बजेदेखि नै उडान सुरु गरिएको उनले जानकारी दिए।

दैनिक सरदर आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी चार सय हाराहारी उडान हुने गरेकामा अहिले एक सयदेखि एक सय ५० सम्म थप उडान व्यवस्थापन गर्नु परिरहेको विमानस्थलले जनाएको छ।

दुखमा परेकालाई सहानुभूतिको ओइरो

असोज ११ र १२ गतेको वर्षाले दशैं भन्दा अगाडि नै दशा निम्त्याएको छ। तत्कालको समस्या बाटो, खाद्यान्न र सञ्चार भएकाले राज्यले त्यसमा ध्यान पुर्‍याउन आवश्यक रहेको पीडितले बताइरहेका छन्। तर, परिवारका सदस्य गुमाउनु परेको पीडामा रहेका कतिपयलाई झन्डा गाड्नेहरूले सहानुभूतिको ओइरो लगाएका छन्।

दुखमा परेकालाई उद्धार र राहतको सट्टा सहानुभूति दिएर राजनीतिक झन्डा गाड्नेहरूको कुनै कमी देखिएको छैन। अझै पनि ठाउँ ठाउँमा भुक्कभुक्क पहिरो गइरहेको छ। देशले मानवीयसँगै अर्बौँ रुपैयाँको नोक्सानी बेहोर्नु परेको छ।

विनाशलाई निर्माणमा बदल्नु पर्ने राज्य संयन्त्र भने यतिवेला निष्प्रभावी देखिएका छन्। अस्थायी आवास निर्माणको कुरा मात्र गरिरहेको छ। सरकारी संयन्त्र छलफल, बैठकमै समय कटाइरहेका छन्। अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भैँसी दुहुन नगएको असंवेदनशिल अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ।

देशको ठुलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिक्रिया विहीन भएर बसेका छन्। काँग्रेसकै गृह मन्त्री रमेश लेखकले सुरक्षा संयन्त्रलाई प्रस्ट निर्देशन दिने सम्मको हैसियत समेत राख्न नसकेको देखिएको छ।

गृहमन्त्री पदको उपाधिमै लेखक रमाएको आरोप लागेको छ। जनता सरकार खोजेर बसेका छन्। विपद्का परेका नागरिकलाई सहानुभूति दिन सम्म पनि सरकार पुगेको छैन। सांसदहरूले सरकार निदाएको आरोप नै लगाएका छन्। पूर्वमन्त्री प्रकाश ज्वालाले सरकारमा गम्भीरता नै नदेखिएको बताए।

विपद्को सूचना एक हप्ता अगाडी पाउँदा पनि कानमा तेल हालेर बसेको दुई तिहाइको सरकार उद्धार र राहतमा समेत चुकेको छ। दुई तिहाइको सरकारलाई सत्तारुढ दलकै सांसदले आलोचना गरेका छन्। काँग्रेस सांसद प्रतिमा गौतमले सूचना पाएर पनि सरकार विपद्को समयमा बेखबर बनेको बताइन।

सतर्कताका लागि आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी पहिरोपछि विभिन्न रोग फैलिन सक्ने भन्दै सतर्कताका निम्ति सबैमा आग्रह गरेको छ। मन्त्रालयले खानेपानीका स्रोतहरू प्रदूषित भएकाले त्यसबाट पानीजन्य रोग फैलिन सक्ने भन्दै यस्तो आग्रह गरेको हो।

यही अवस्थामा किटजन्य, छालाजन्य, श्वासप्रश्वासजन्य तथा मानसिक समस्या पनि देखिनसक्ने भन्दै रोकथामका निम्ति सरोकारवालाहरूलाई सजग गराएको छ। जनस्वास्थ्य सुरक्षाका लागि आवश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न स्थानीय तह र जिल्लास्तरमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

हालसम्म बाढी प्रभावित २१ जिल्लामा ५६२ जना अस्पताल भर्ना भएको, १०८ जनाले शल्यक्रियासहितको सेवा लिएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ७३ जना डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए।

पछिल्लो विवरणअनुसार ५२ वटा स्वास्थ्य संस्थामा सामान्य र ५ वटामा पूर्णरूपमा क्षति पुगेको छ। यद्यपि, स्वास्थ्य सेवा भने प्रवाह भइरहेको मन्त्रालयले बताएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.