अझै ९६ जना मृतकका परिवारसम्म पुग्न सकेन सरकार, ४२ स्थानीय तह सङ्कटग्रस्त

अझै ९६ जना मृतकका परिवारसम्म पुग्न सकेन सरकार, ४२ स्थानीय तह सङ्कटग्रस्त

काठमाडौँ : नेपालले एक दशक नबित्दै अर्को विनाशकारी प्राकृतिक प्रकोपको सामना गर्नु परेको छ। असोज ११ र १२ गते काठमाडौँ सहित देशका विभिन्न जिल्लामा रेकर्ड ब्रेक वर्षाले धेरै नै जनधनको क्षति गर्‍यो।

बाढी र पहिरोले उठीबास लगायो। बास खोज्दै हिँड्ने अवस्थामा पुगेका छन् नागरिक। २०७२ सालको भूकम्पले बल्ल तङ्ग्रिने तरखरमा रहेको विकास निर्माणको काम अर्को प्राकृतिक प्रकोपले तहसनहस बनाइदियो।

गृह मन्त्रालयले शुक्रवार साँझ प्रेस विज्ञप्ति निकालेर बाढी, पहिरो र डुबानका घटनाबाट हालसम्म २३९ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ। १८ जना बेपत्ता र १७८ जना घाइते भएका छन्।

सशस्त्र प्रहरीले बुधवार २४२ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको थियो।

१४३ जना मृतकका आश्रित परिवारलाई राहत रकम उपलब्ध गराइएको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। गृहकै विवरण अनुसार पनि अझै ९६ जना मृतकका आश्रित परिवारले राहत रकम पाउन सकेका छैनन्।

मन्त्रालयले धेरै स्थानमा अवरुद्ध भएका सडकहरू सञ्चालनमा आएका उल्लेख गरेको छ। अवरुद्ध वि.पी राजमार्ग लगायत केही सडक खण्ड वैकल्पिक व्यवस्था गरी अस्थायी रूपमा सञ्चालन गर्न प्रयास भइरहेको विज्ञप्तिमा लेखिएको छ।

प्रदेश र स्थानीय तहसँगको समन्वयमा तदारुकताका साथ पीडित परिवारलाई राहत वितरण भइरहेको दाबी सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले हस्ताक्षर गरेको विज्ञप्तिमा गरिएको छ।

गृह मन्त्रालयकै सिफारिसमा १२ जिल्लाका ४२ स्थानीय तहहरूलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ। काभ्रेपलान्चोक, ललितपुर, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछाप, धादिङ, मकवानपुर, चितवन, पाँचथर, ओखलढुङ्गा र उदयपुरका स्थानीय तह सङ्कटग्रस्त घोषणा भएका छन्।

काभ्रेपलान्चोकमा मात्रै ७२ जनाको मृत्यु भएको छ। ७८ जना घाइते भएका छन्। ५ जना फेला पर्न सकेका छैनन्। ५७ जना घाइते उपचार पछि डिस्चार्ज भएका छन्। २१ जनाको उपचार भइरहेको छ। रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली, महाभारत गाउँपालिका र पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका सङ्कटग्रस्त क्षेत्र घोषित भएका छन्।

धादिङको बेनीघाट रोराङ, नेत्रावती डबजोङ, गजुरी गाउँपालिका र धुनीबेसी नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिका, ओखलढुङ्गाको चम्पादेवी र सुनकोसी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका, दोलखाको गौरीशङ्कर, बिगु र शैलुङ गाउँपालिका सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन्।

सिन्धुलीको गोलञ्जोर, सुनकोसी र फिक्कल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर र बकैया गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका, ललितपुरको महांकाल, वाग्मती, कोन्ज्योसोम गाउँपालिका र गोदावरी नगरपालिका सङ्कटग्रस्त क्षेत्रमा परेका छन्।

रामेछापको दोरम्बा शैलुङ, सुनापती, लिखु तामाकोशी, गोकुलगंगा र उमाकुण्ड गाउँपालिका, मन्थली, रामेछाप, खाँडादेवी नगरपालिका पनि सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.