सर्वोच्च छिरेको आठ वर्षमै प्रधानन्यायाधीश

सर्वोच्च छिरेको आठ वर्षमै प्रधानन्यायाधीश

काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतले कार्यभार सम्हालेका छन्। विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशसँगै राउतले आइतबारदेखि प्रधानन्यायाधीशको कार्यभार सम्हालेका हुन्। उनी साढे एक वर्ष प्रधानन्यायाधीश बन्नेछन्।

राउत आठ वर्षअघि सिधै सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए। राजनीतिक भागबन्डामा कानुन व्यवसायीबाट सिधै सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका राउतले आठ वर्षमै प्रधानन्यायाधीश बन्ने अवसर पाएका हुन्।

संसदीय सुनुवाइबाट अनुमोदन भएका राउतलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानन्यायाधीशमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराए। नवनियुक्त प्रधानन्यायाधीश राउतले पदभार ग्रहण गर्दै न्यायिक क्षेत्रको सुधार आफ्नो पहिलो प्राथमिकता रहेको बताए।

अहिले न्यायालयमा मुद्दाको चाप र पुराना बक्यौताहरू रहेकाले केही अफ्ठेरो परिस्थित भए पनि न्यायालयको साख फर्किएको दाबी उनले गरे। अब झन् यसको विश्वास र प्रतिष्ठालाई अझै माथि पुर्‍याउने उद्घोष उनले गरे।

समाचार लेखेकै कारण अवहेलना मुद्दामा दुई पत्रकारले जेल सजाय भोगे पनि नवनियुक्त प्रधानन्यायाधीश राउतले राज्यको चौथो अङ्गको रूपमा रहेको प्रेस जगत्लाई आफूले सधैँ सम्मान गर्ने बताए। उनले पत्रकारिताको स्वतन्त्रतामा अङ्कुश नलगाउने सुनाए।

अदालतको अवहेलना मुद्दामा केन्द्रीय कारागार सुनधारामा रहेका सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुङ्गाना आइतबार मात्रै अदालती प्रक्रिया पुरा गरेर कारागार मुक्त भएका छन्।

सर्वोच्च अदालतको नौ सदस्यीय बृहतपूर्ण इजलासले अदालतको मानहानि गरेको ठहर गर्दै उनीहरू दुवैलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो। तर उनीहरूले माफी मागेपछि सात दिन थुनामा राख्न आदेश दिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी मुद्दामा न्यायाधीशहरुले आर्थिक लाभ लिएर फैसला गरेको भन्दै सिधाकुरा अनलाइनले ‘डार्क फाइल’का नाममा फेक अडियो प्रसारण गरेको अदालतले ठहर गरेको छ।

उक्त सामग्रीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्द घिमिरेले सिधा कुरा विरुद्ध निवेदन दिएका थिए। सर्वोच्चले ‘फेक अडियो’ निर्माण गर्ने राजकुमार तिमल्सिनालाई भने ६ महिना कैद सजाय सुनाएको छ।

नवनियुक्त प्रधानन्यायाधीश राउतले छिटो छरितो गुणस्तरीय न्याय, न्यायमा पहुँच, न्यायिक सुशासन तथा जनआस्थामा अभिवृद्धि, सूचना प्रविधिको प्रचुर पहुँच र मानव संसाधन तथा भौतिक पूर्वाधार सुधार सहितको पाँच लक्ष्य प्रस्तुत गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.