प्रधानमन्त्रीलाई चेक दिँदै फोटो खिचाउने प्रतिस्पर्धा, गृहमन्त्री बल्ल अनुगमनमा

प्रधानमन्त्रीलाई चेक दिँदै फोटो खिचाउने प्रतिस्पर्धा, गृहमन्त्री बल्ल अनुगमनमा

काठमाडौं : वर्षा पछिको विपद्मा परेकालाई राहत दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग घोषणा गर्ने क्रम जारी छ। असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानका घटनामा परेका परिवारलाई राहत दिन खडा गरिएको कोषमा सहयोग हस्तान्तरण गर्ने क्रम चलिरहेको हो।

आइतबार १० करोड बढीको चेक बुझेका प्रधानमन्त्री ओलीलाई सोमबार ४ करोड ७९ लाख १० हजार ३९० रुपैयाँको चेक हस्तान्तरण भएको छ। प्रधानमन्त्री ओलीले दिनहुँ करोड करोड रुपैयाँका चेक बुझ्दै आएका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा असार मसान्तसम्मको मौज्दात १ अर्ब ५२ करोड ३ लाख ३५ हजार १०७ रुपैयाँ गरी सोमबार सम्म १ अर्ब ५८ करोड ९४ लाख ७ हजार २० रुपैयाँ जम्मा भएको छ। सोमबार विवरण नखुलेको २ लाख ७२ हजार ६७२ रुपैयाँ मात्र कोषमा जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

चेक रकम हस्तान्तरण भए पनि बैङ्कमा जम्मा नहुञ्जेलसम्म आफूहरूले विवरणमा नराख्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले जानकारी दिए।

मनसुन बाहिरिने क्रममा गत साता आएको वर्षापछिको बाढी पहिरोले ठुलो जनधनको क्षति भएपछि यही असोज १४ गतेदेखि विभिन्न निकायको सहयोग रकम जम्मा हुन थालेको हो। विपद्को बेलामा सरकार राहत उद्धारमा चुकेको भन्दै आलोचना भइरहेको छ।

यस्तो बेलामा प्रमुख राजनीतिक दलहरू र उनीहरूका भ्रातृ सङ्गठनहरूले सरकारलाई सदन र सडकबाट खबरदारी गरेर राहत उद्धारमा खट्नुपर्ने हो। तर, विज्ञप्ति निकालेर सङ्गठन परिचालनको चर्चा मात्रै गर्ने र शीर्ष नेताले शोक वक्तव्य निकाल्नेबाहेक सरकारी कोषमा केही रकम जम्मा गर्न सिंहदरबारमा फोटो खिचाउन जानेको भिड बढेको छ।

प्रधानमन्त्री ओलीलाई चेक हस्तान्तरण गर्न आइतबार काँग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेका थिए।

काँग्रेसले उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण सम्बन्धमा ३४ बुँदे सुझाव दिएको छ। ७ बुँदामा अल्पकालीन कार्ययोजना र १२ बुँदामा दीर्घकालीन योजनामा काँग्रेसले ध्यानाकर्षण गराएको हो।

यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, प्रदीपकुमार ज्ञवाली पनि चेक हस्तान्तरण गर्न सिंहदरबार पुगेका थिए। नेकपा माओवादी केन्द्रले पनि बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटना लगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेरै ध्यानाकर्षण गराएको हो। उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरू पनि सहभागी थिए।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत् कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरे।

अरुण तेस्रो जलविद्युत् आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माले एक करोड, प्रभु बैङ्कका अध्यक्ष देवीप्रसाद भट्टचनले एक करोड र प्राइम कमर्सियल बैङ्कका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले ३१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रभु इन्सुरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट २५ लाख रुपैयाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ। कोषका लागि एभरेस्ट बैङ्क र नवीन कोइराला, नुवाकोट (हाल अमेरिका) बाट पाँच लाख रुपैयाँ सहयोगको चेक हस्तान्तरण भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गृहमन्त्री बल्ल अनुगमनमा

गृहमन्त्री रमेश लेखक बल्ल बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनमा निस्केका छन्। बाढी पहिरोको एक सातापछि गृहमन्त्री लेखक अघिपछि सुरक्षाकर्मीको स्कर्टिङसहित मन्त्रीको गाडीमा झन्डा हल्लाउँदै अवलोकनमा निस्केका हुन्।

मातहतका निकायका अधिकारीहरूको लावालस्करसहित अनुगमनमा गएका मन्त्री लेखक काभ्रे जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भए। गृहमन्त्री लेखकले काभ्रेकै पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका–४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रमा अवलोकन गरे। पनौतीमा पुगेका गृहमन्त्रीसामु पीडितले सहयोगको याचना गरे।

काभ्रेको पाँचखाल नगरका प्रमुख महेश खरेलले गृहमन्त्री लेखकसहितको टोलीलाई करोडौँको क्षति भइरहेका बेला प्रदेश सरकारले राहतको नाममा पाँच देखि १५ लाखको टोकन दिएर लाज पचाएको आक्रोश पोखे। उनले आफ्नो नगरमा भएको क्षतिबारे जानकारी गराउँदै वडा वडालाई सङ्कटग्रस्त घोषणा गर्न माग गरे।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बाढी पहिरोबाट नगरभित्रमा भएको क्षति, त्यसले नागरिकको आवास, खाद्यान्न र स्वास्थ्य स्थितिमा पुर्‍याएको समस्याको बारेमा नगरपालिकाले गरिरहेको उद्धार, राहत र पछिल्लो समयमा नभएको पुनर्स्थापना लगायतको विषयमा गृहमन्त्री लेखकलाई जानकारी गराए।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकाभित्रमा बाढी पहिरोले पुर्‍याएको क्षतिले नागरिकले व्यहोरिरहेको कष्टकर अवस्था र त्यसमा पालिकाले गरिएको उद्धार सेवा लगायतको विषयमा जानकारी दिए। पीडितका समस्या र जनप्रतिनिधिको ब्रिफिङ सुनेपछि गृहमन्त्री लेखकले पहिला राहत र उद्धारको काम सकेर पुनर्निर्माणको काममा लाग्ने बचन दिए।

६ राजमार्ग पूर्ण अवरुद्ध

बाढी तथा पहिरोका कारण अझै पनि विभिन्न ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेका छन्। नेपाल प्रहरीले अझै ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको हो।

बिपी राजमार्ग, कान्ति लोकपथ, जयपृथ्वी राजमार्ग, बाह्रबिसे तातोपानी, रामेछाप सिन्धुली खुर्कोट सडक पूर्ण रूपमा अवरुद्ध छन्। ६ वटा नै राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेका छन्। जसमा लेले टिकाभैरव ललितपुर, अरनिको राजमार्ग काभ्रे, पृथ्वी लोकमार्ग बेनिघाट रोराङ कृष्णभिर धादिङ, मध्यपहाडी लोकमार्ग तेह्रथुमलगायत छन्।

सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ। नदीमा जलसतह र बहाव घट्दै गएपछि सोमबारदेखि पुनः सञ्चालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

बिपी राजमार्गअन्तर्गत काभ्रेको मंगलटार नजिक कालढुंगामा १० दिन अघिदेखि अड्किएका गाडीका चालकहरू भने उद्धार हुने अवस्था नदेखेपछि पैदलै फर्किएका छन्। यात्रु लिएर काठमाडौँ आउँदै गर्दा रोशीखोलामा आएको बाढी र पहिरोले कालढुंगामा थुनिएका चालक पैदलै फर्किएका हुन्।

बाढी र पहिरोले बिपी राजमार्ग क्षतविक्षत बनाएको छ । भोकै प्यासै १० दिन गाडी कुरेर बिताएका तत्कालै उद्धार हुने छाँटकाँट नदेखिए पछि गाडीको माया मारेर दसैँ मान्न घर फर्किएका हुन्। उद्धार गर्न सरकारको चासो नै नदिएको चालकहरूले गुनासो गरेका छन्।

बाढी पहिराले अरनिको राजमार्गका विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ। तीन दिनदेखि अस्थायी ह्युमपाइप राखेर सडक बनाउन खोजिए पनि भोटेकोशी नदीमा जलसतह बढेकाले कठिनाइ भएको थियो। पानीको सतह घटेसँगै ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए।

ह्युमपाइप राखिएसँगै तातोपानीमा रोकिएका सयौँ साना सवारीसाधन पास गराइएको छ। तातोपानी नाका अवरुद्ध हुँदा दसैँका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब नौ सयभन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भू–भागमा अलपत्र परेको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.